Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीमा तीनदिनसम्म पनि जडान भएन कोरोना परीक्षणको उपकरण


    शुक्रबार, चैत्र २८ २०७६
    610
    Shares
  • २ मिनेट पाठ
  • कैलाली, २८ चैत ।  कोरोना परिक्षणको लागि धनगढी लगेका उपकरण जडान गर्न ढिलाई भएको छ । कोरोना भाइरस (कोभिड १९)  को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा परीक्षणको लागि ल्याइएको अत्याधुनिक उपकरण जडानमा ढिलाइ भएको हो ।

    संघीय सरकारले आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण बुधबार बिहान धनगढी पठाएको थियो ।

    नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको उक्त उपकरण तीन दिनसम्म पनि जडान हुन सकेको छैन । उपकरणका लागि आवश्यक अन्य सामाग्री नहुँदा जडान गर्न ढिलाइ भइरहेको मोलिकुलर माइक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले बताए ।

    ‘हामीले यो आउनु भन्दा पहिले नै यसका लागि अन्य के के चहिन्छ त्यो सबै जनकारी दिएका थियौं’ उनले भने, ‘ती सबै वस्तु आएका छैनन् । त्यसैले जडान गर्न ढिलाइ भइरहेको हो ।’

    आरटीपीसीआर मेसिनका लागि १२ देखि १४ अन्य सामग्री आवश्यक पर्ने उनको भनाइ छ ।

    ‘आवश्यक सामग्री सबैको लिष्ट मन्त्रालयलाई बुझाएका छौँ । सबै नहुँदासम्म जडान गर्न नसकिने भएकाले काम रोकिएको हो’ उनले भने, ‘केही आयो, केही आउँदैछ ।’

    शुक्रबार साँझसम्म सामान पुगे तत्काल जडान सुरु गरेर परीक्षण सुरु गरिने उनले जानकारी दिए । उक्त उपकरणले दैनिक दुई सय ७० जनाको परीक्षण गर्न सक्ने उनले बताए ।

    ‘चार घण्टामा ९० जनाको परीक्षण गर्ने उपकरण हो’ उनले भने, ‘यसबाट दैनिक २७० भन्दा बढिको परीक्षण गर्न सकिने छ ।’

    आरटीपीसीआर मेसिनले परीक्षण तीब्र हुने र त्यसबाट संक्रमित भएको वा नभएको पहिचान गर्न सहज अपेक्षा गरिएको छ ।

    पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरीको प्रयोगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार