Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुर सिमेन्टमा भ्रष्टाचारको पराकाष्टाः कोइलाको घुस निमित्त जीएमको बैंकखातामै


    शनिबार, चैत्र २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका निमित्त महाप्रबन्धक महेशप्रसाद साहले आफ्नै बैंकखातामा घुसबापतको रकम बुझेको तथ्य फेलापरेको छ ।

    साहको नाममा रहेको ग्लोबल आईएमई बैंक गाईघाट शाखाको खाता नम्बर २२०७०….बाट ५० हजार रुपैयाँ कोइला आपूर्ति गर्ने पायोनिय सप्लायर्स कम्पनीका कर्मचारी निरन्जन दंगालले उक्त रकम जम्मा गरेको भौचर विशेष स्रोतबाट नेपालफेसलाई प्राप्त भएको छ ।

    २० अगस्त, २०२३ का दिन उक्त रकम लक्ष्मी सनराइज बैंक लिमिटेडको खाता नम्बर ०६८४५….बाट साहको खातामा जम्मा गरेको अभिलेख नेपालफेससँग सुरक्षित छ । उक्त कारोबारको जानकारी पाएपछि एक कर्मचारीले २०८० पुस ८ मा उदयपुर सिमेन्ट उद्योग संचालक समितिमा उक्त लेनदेनबारे छानबिन गरी कारबाही गर्न निवेदन दर्ता गरेका थिए । तर संचालक समितिले उक्त निवेदन दर्ता नै नगरी अभिलेखबाटै हटाएको छ ।

    हालका निमित्त महाप्रबन्धक साहले नै उक्त निवेदन गुपचुप बनाई उजुरीकर्ता कर्मचारीलाई आर्थिक प्रलोभन दिएर थामथुम पारेको बताइन्छ । यसबारेमा निमित्त महाप्रबन्धक साहले सुरुमा दंगालसँग रकम लिएको स्वीकार गरेनन् । पछि प्रमाण नै प्रस्तुत गरेपछि सापटी लिन पाइन्न र ? मैले सापटी लिएको फिर्ता गरिसकेँ भनेर फोन काटे ।

    उद्योग नियमित रुपमा संचालन गर्नका लागि आवश्यक पर्र्ने कोइला आपूर्तिकर्तासँग बैंकिङ च्यानलबाटै हाक्काहाक्की घुसको कारोबार गरेको एक प्रतिनिधि उदाहरणमात्र हो, साहले कोइला आपूर्तिकर्तादेखि हरेक खरिदमा कमिसन नपाएसम्म भुक्तानी नै रोक्ने गरेका छन् । अन्य संस्थानहरुमा महाप्रबन्धक रिक्त नहुँदै पदपूर्तिका लागि हानथाप हुने गर्दछ । तर उदयपुर सिमेन्ट उद्योग विगत १ बर्षदेखि निमित्तका भरमा संचालन हुँदैआएको छ ।

    साहजस्ता हाक्काहाक्की घुस लिएर संस्थान डुबाउनेहरुको सेटिङमा उद्योग मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वले महाप्रबन्धक नियुक्ति प्रक्रिया नै अबरुद्ध गर्दैआएको छ । नयाँ नियुक्त भएका उद्योग मन्त्री दामोदर भण्डारी र सचिव कृष्णबहादुर राउतले नयाँ महाप्रबन्धक नियुक्ति गर्नभन्दा पनि कर्मचारीको सरुवामा बढी तल्लीन हुने प्रबृत्ति देखाएका छन् । जसका कारण उदयपुर सिमेन्ट उद्योग अझै साहजस्ता संस्थान डुबाउन तल्लीनहरुकै नेतृत्वमा संचालन हुनुपर्ने अवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार