Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बयान लिएर भगाउने डीएसपीदेखिसम्म एआईजीमाथि कारबाही होला ?

    चलाउने भगाउने डीएसपीदेखि एआईजीमाथि कारबाही होला ?


    शुक्रबार, चैत्र २ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सुनको अवैध ओसारपसार गरेको अभियोगमा थुनामा रहेका चिनियाँ मूलका दावाछिरिङका मुख्य सहयोगी जीवन चलाउनेलाई पक्राउ गरी भगाउने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी किरण बज्राचार्यसहित ४ अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बिहीबार बुझाएको प्रतिवेदनमा सीआईबीले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै एआईजी बज्राचार्यसहित ४ अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । ६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले जाँचबुझ गरेर प्रतिवेदन बुझाएको छ ।

    आयोगले एआईजी बज्राचार्यसहित अनुसन्धान समितिका संयोजक एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको कुरा प्रकाशमा आएको छ । आयोगले बिभागीय कारबाही सिफारिस गरेका बज्राचार्यलाई सीआईबीबाट हटाउन लागिएको छ । डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई भने प्रहरी प्रधान कार्यालयमा तानिसकिएको छ ।

    डीएसपी कुँवर बीचमा एकाध बर्षबाहेक सधैं सीआईबीमै कार्यरत छन् । कुँवर र चलाउनेको घर पनि अछाम नै हो । सुदूरपश्चिमका प्रायः सबै प्रहरी अधिकृतसँग उठबस भएका चलाउने पत्रकारको रुपमा समेत आफूलाई चिनाउने गर्दथे । उनले केही मिडियामा समेत लगानी गरेको बताउने गरेका थिए ।

    चलाउने भगाउनेमा संलग्न एसपी संजयसिंह थापा हाल नुवाकोटका प्रहरी प्रमुख(एसपी) छन् । नेपालफेसले गएको फागुन ३ गते नै सुन तस्करीमा संलग्न चलाउनेको बयान लिएर सीआईबीका एआईजी बज्राचार्यसहित डीएसपी रुगम कुँवरले नै छाडेको र उनी लगत्तै भागेर दुबई पुगेको समाचार प्रकाशित गरेको थियो । चलाउनेलाई भगाउनेमा डीएसपी रुगम कुँवरदेखि एआईजी बज्राचार्यको भूमिका रहेको खुलेपछि आईजीपी बसन्तबहादुर कुँवरले चासो लिएका थिए ।

    आईजीपी कुँवरले एआईजी बज्राचार्यलाई चलाउनेलाई पक्राउ गरी भगाएकोमा कारबाही गर्ने चेतावनीपछि उनलाई फरार सूचीमा राखिएको थियो । बयान नै च्यातेर भगाइएका चलाउने हाल दुबईमा छन् । तर सीआईबीले उनका बिरुद्ध डिफ्युजन नोटिससम्म जारी गरेको छैन । तारेखमा छुटेका उनलाई पछि फरार प्रतिवादी बनाएर मुद्दा चलाइयो । हालसम्म उनलाई पक्राउ गर्न सीआइबीले चासो दिएको छैन । अहिले पनि विदेशमा बसेर उनले अवैध धन्दा चलाइरहेको स्रोत बताउँछ । केही प्रहरी अधिकारीले अद्यापि उनलाई संरक्षण गरेकोबारेमा नेपालफेसले लगातार समाचार सम्प्रेषण गरिरहेको छ ।

    बहिर देखाउँदा जीमी ब्राण्डको चामल व्यापार गर्ने र भित्री रुपमा आपराधिक गिरोहहरुसँग साँठगाँठ गरी चलाउनेले अवैध सम्पत्ति आर्जन गर्दै आएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसँग समेत चलाउनेको सम्पर्क रहँदै आएको छ । तिनैै बस्नेतको बाफलको घरसमेत प्रहरी अधिकारीसँगकै सेटिङमा चलाउनेले खरिद गरेका थिए । न्यूरोडको हुन्डीको रकम लुटपाटमा समेत चलाउने मुछिएका थिए ।

    प्रहरीका धेरै उच्च अधिकारीसँग कनेक्सन भएका जीवन चलाउनेले चामल आयात गर्ने मष्टो ग्रुप प्रालिको नाममा सुन तस्करी गर्दैआएका थिए । प्रहरीका उच्च अधिकारीलाई बालुवाटारको यूरोपियन रेष्टुरेन्टदेखि मष्टो ग्रुपको कार्यालय नयाँबजारमा लाने, खानपानदेखि दाम समेत दिएर प्रभावमा पारेका चलाउनेसँग पत्रकार परिचयपत्रसमेत थियो । उनको नयाँबजारमा सहकारी समेत छ ।

    ६० किलो सुन तस्करीका नाइके दावा छिरिङसँग नियमित कारोबार गरेको तथा तस्करीको योजना बनाएको म्यासेज तथा संवाद प्रमाण हुँदा पनि चलाउनेलाई सामान्य बयानपछि सुटुक्क छाडेको बिषयमा हालका गृहमन्त्री रवि लामिछानेले तत्कालीन गृहमन्त्रीतिर लक्षित गर्दै गएको पुस ९ गते प्रश्न गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार