Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६० किलो सुन तस्करीः चलाउनेसहित १ दर्जनविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा


    मंगलबार, कार्तिक १८ २०८२
    990
    Shares
    सीआईबीले पक्राउ गरी छाडेका सुन तस्कर दावा छिरिङका मुख्य सहयोगी जीवन चलाउने (फेटो साभारः हिमाल खबर)
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेकसूमा राखी भएको ६० किलो सुन तस्करीमा जीवन चलाउने, ऐलेक्स भन्ने यो पुचिङ, थुप्तिन छिरिङ नामका चिनियाँ नागरिक र हर्कराज राईसहित नागरिकसहित एक दर्जन व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण बिभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीबाट अवैध रूपमा आर्जित सम्पत्ति बैध देखाउने प्रयत्न गरेको ठहर गर्दै सोमबार मुद्दा दायर गरेको हो ।

    विभागका अनुसार आरोपितहरूले तस्करीमार्फत् आर्जित सम्पत्ति प्रयोग गरी दुई अर्ब रुपैयाँभन्दा बढी रकम शुद्धीकरण गरेको प्रमाण भेटिएको बिभागले जनाएको छ । प्रहरीले तस्करीमा मुद्दा चलाइसकेपछि सम्पत्ति शुद्धीकरण विभागले छुट्टै अनुसन्धान गरेको थियो । करिब दुई वर्षको अनुसन्धानपछि विभागले मुद्दा अदालतमा दर्ता गरेको जनाइएको छ ।

    २०८० साउन २ गते विमानस्थलमार्फत् ब्रेकसुमा ६० किलो सुन तस्करी भएको घटना सार्वजनिक भएको थियो । राजस्व अनुसन्धान विभागले त्यसबेलै सुनसहित संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर छानबिन थालेको थियो ।

    मुद्दा दायर गरिएका प्रतिवादीमध्येका जीवन चलाउनेका नाममा विभिन्न ३२ कित्ताको जग्गा देखिएको छ । जसको मूल्य १५ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेकोमा जग्गा खरिद गर्दा रजिस्ट्रेसन दस्तुरबापत कुल ४५ लाख ९५ हजारसहित १५ करोड ७६ लाख ४६ हजार रुपैयाँ हुन आउने विभागको हिसाब छ । चलाउनेले चामलको कारोबार गर्ने भनेर दर्ता गरेको मस्टा ग्रुप प्रालिको चुक्ता पुँजी १५ करोड रहेको देखिएको छ ।

    सामानको मौज्दात रकम ६ करोड ६४ लाख ४६ हजार, लिन बाँकी रकम ७४ करोड ५१ लाख १३ हजार, प्रालिको नाममा रहेको जग्गाको मूल्य ३० करोड ९८ लाख ७५ हजार र घरको मूल्य ५४ लाख २३ हजार रुपैयाँ रहेको आरोपपत्रमा उल्लेख छ । लाभग्राही स्वामित्व (बेनिफिसियल ओनरसिप) को रूपमा उपयोग गरेको सम्पत्ति कसुरबाट प्राप्त गरेको घरजग्गाको खरिद मूल्य दुई करोड रुपैयाँ र ती घरजग्गा खरिद गर्दा नौ लाखको रजिस्ट्रेसन दस्तुर तिरेको देखिएको छ । चलाउनेको सबै गरेर एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ रुपैयाँ देखिएको छ ।

    यसका अतिरिक्त विदेशबाट अवैध तरिकाले आयात गरेको ६० किलो ७१६ ग्राम सुनको तत्कालीन अवस्थाको प्रतितोला मूल्य एक लाख १२ हजार पाँच सयका दरले ५८ करोड ५६ लाख नौ हजार ५६८ रुपैयाँ हुन आउने हिसाब विभागको छ । त्यसैगरी हिमालयन बैंकमा कसुरबाट प्राप्त जोरजम्मा गरी कारोबारसमेतबाट निस्सर्ग गरेको रकम तीन करोड ५२ लाख रुपैयाँ देखिएको छ ।

    सबै गरेर कुल दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो हिसाब विभागले निकालेको छ । यो रकम सम्पत्ति शुद्धीकरण भएको विभागको दाबी छ । यसैलाई बिगो कायम गरेर चलाउनेलाई विभागले प्रतिवादी कायम गरेको छ । चलाउने सम्पर्कमा नदेखिएको भन्दै फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ । सुन तस्करीमा संलग्न चलाउने पक्राउ परिसकेपछि सीआईबीका तत्कालीन उच्च अधिकारीको सेटिङमा छुटेपछि फरार भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार