Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६० किलो सुन सुन तस्करीः जीवन चलाउने र वाल्डो क्यासिनोका संचालक किन पक्राउ परेनन् ?

    २ महिनासम्म रेडकर्नर नोटिस जारी भएन, सीआईबीका अधिकारीबिरुद्ध प्रहरी मुख्यालयमा उजुरी?


    बिहिबार, फाल्गुन ३ २०८०
    3.2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौ । हङकङबाट मोटरसाइकलको ब्रेक सूमा तस्करी गरी ल्याएको ६० किलो सुन तस्करीका मुख्य अभियुक्तमध्येका जीवन चलाउनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबीले पक्राउ गरी सेटिङमा बयान लिएर पुनः उपस्थित हुनेगरी छाडेपछि उनी दुबई भागे ।

    दावा छिरिङसँग सम्पर्क देखिएका धेरै व्यक्तिहरूलाई विस्तृत अनुसन्धान नगरी सिआइबीले उन्मुक्ति दिएको आरोप लाग्दै आएको छ । तिनैमध्येका हुन्, जीवन चलाउने र छायाँ सेन्टरमा रहेको वाल्डो क्यासिनोका चिनियाँ नागरिक ।

    प्रहरीका धेरै उच्च अधिकारीसँग कनेक्सन भएका जीवन चलाउनेले चामल आयात गर्ने मष्टो ग्रुप प्रालिको नाममा सुन तस्करी गर्दैआएका थिए । प्रहरीका उच्च अधिकारीलाई बालुवाटारको यूरोपियन रेष्टुरेन्टदेखि मष्टो ग्रुपको कार्यालय नयाँबजारमा लाने, खानपानदेखि दाम समेत दिएर प्रभावमा पारेका चलाउनेसँग पत्रकार परिचयपत्रसमेत थियो । उठबस र लेनादेना खुल्ने भएपछि सीआईबीकै अधिकारीहरुले उनलाई भगाएका थिए ।

    चिनियाँ गिरोह र चलाउनेको नेतृत्वमा भएको सुन तस्करी सम्बन्धी घटनाको अनुसन्धानमा चलखेल गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । गहिरो अनुसन्धान हुँदा सीआईबीका डीएसपी रुगम कुँवरदेखि मंगलबार पर्सामा सरुवा भएका एसपी कुमोध ढुंगेलसँग चलाउनेको बाक्लो सम्बन्ध खुल्ने स्रोत बताउँछ ।  सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले समेत अनुसन्धानमा निष्पक्षता नभएको विषयमा सिआइबीकी एआइजी किरण बज्राचार्य, डीएसपी कुँवर लगायत अधिकारीसँग सोधपुछ गरेको छ ।

    फरार चलाउने र डीएसपी कुँवर एउटै ठाउँका हुन् । सीआइबीमा लामो समय कार्यरत कुँवरले चलाउनेलाई हिरासतमा नराखी दुबई भगाएको देखिएपछि बयान लिइएको आयोग स्रोत बताउँछ ।
    ६० किलो सुन तस्करीका नाइके दावा छिरिङसँग नियमित कारोबार गरेको तथा तस्करीको योजना बनाएको म्यासेज तथा संवाद प्रमाण हुँदा पनि चलाउनेलाई सामान्य बयान पछि हिरासतमा राखेको देखिएन ।

    सुन तस्करीमा मुद्दा चलाउन पुग्ने पर्याप्त प्रमाण हुँदा हुँदै डीएसपी कुँवरले नै डिल गरी चलाउनेलाई भगाएको पुष्टि भएपछि उनलाई आयोगले बयानमा बोलाएको स्रोतको दाबी छ ।

    सीआईबीका प्रहरी अधिकारीले डिल गरेर केहीलाई फसाएको र केहीलाई उन्मुक्ति दिइएको उजुरी परेको बताइएको छ । प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार महानिरीक्षक बसन्तबहादुर कुँवरले उजुरीउपर छानबिन गर्ने तयारी गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जीवन चलाउनेले गएको पुस ९ गते पत्रकार सम्मेलनमा जीवन चलाउनेलाई भगाएको आरोप लगाएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई फरार प्रतिवादी हुन्, उनलाई प्रहरीले खोजिरहेको छ भनेका थिए । तर २ महिना पुग्न लाग्दा पनि प्रहरीले उनलाई खोजी गर्न उदासिनता देखाएको छ । उनी दुबईमा भएको प्रहरीलाई थाहा छ । तर उनलाई पक्राउ गर्नका लागि रेडकर्नर नोटिससमेत जारी गरेको छैन ।

    ७–८ बर्षअघिदेखि चामल ब्यापारको आवरणमा सुनतस्करी गर्दैआएका चलाउनेलाई पक्राउ गरेमा धेरै प्रहरी अधिकारीको जागिर नै संकटमा पर्ने भएकाले सीआईबीले उनलाई पक्राउ गर्न उदासिनता देखाएको आरोप छ ।

    सीआईबीले धेरै अपराधीलाई तत्कालै रेडकर्नर नोटिस जारी गरी विदेशबाट ल्याएको छ, ल्याउन सक्छ । तर चलाउनेको हकमा रेडकर्नर नोटिस नै जारी गरेको छैन । रेडकर्नर नोटिस जारी नगर्नुले पनि सीआईबीले उनलाई फरार सूचीमा राखेर नाटक मात्र देखाएको हो, पक्राउ गर्न चाहँदैन भन्ने पुष्टि हुन्छ ।

    प्रहरी प्रधान कार्यालयमा परेको उजुरीमा अनुसन्धानको क्रममा सीआइबीका अधिकारीले चलाउनेसँग ३२ करोडको डिल गरेको उल्लेख छ । हाल जेलका रहेका प्रतिवादीहरू किशोर बस्नेत लगायतले आफन्तमार्फत् यसरी उजुरी गरेका हुन् ।

    उजुरीमा सिआइबीका डीएसपी रुगम कुँवरसहितका प्रहरी अधिकारीकै नामै उल्लेख छ । साथै, छायाँ सेन्टरमा रहेको अलफ्ट होटेलमा रहेको वाल्डो क्यासिनोका सञ्चालकको समेत गिरोहमा संलग्नता देखिए पनि सिआइबीले जोगाएको उजुरीमा उल्लेख छ । वाल्डोलाई समेत सीआईबीले अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।

    सुन तस्करीबाट १२ बर्षमै खरबका मालिक

    एसपी कुमोध ढुंगेलले नै चलाउनेलाई गुण्डानाइके समीरमान बस्नेतको घर ६ करोडमा किनाएका थिए । त्यसो त २०६७–६८ तिर स्पेलेन्डर मोटरसाइकल चढेर हिंड्ने ७ करोडको भीएक्स ल्याण्डक्रुजर प्राडो किनेर लक्जरीयस जीवनमा रमाउँदैआएका थिए ।

    प्रहरी स्रोतका अनुसार चामल ब्यापारको नाममा प्रहरीको आडमा सुनतस्करी गर्दै चलाउने अरब होइन, खरबकै हाराहारीमा पुगेका छन् । उनको काठमाडौंको नागार्जुन नगरपालिका ७ स्थित स्वीजरल्याण्ड पार्क छेउमा १ सय रोपनीभन्दा बढी जग्गा रहेको छ । काठमाडौंका धेरै ठाउँमा घरदेखि जग्गा कति हो कति ? तर सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागले चलाउने जस्ताको अबैध सम्पत्ति देख्दैन, छानबिन गर्दैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार