काठमाडौं, १५ असार : काठमाडौं उपत्यकामा पाँच दिनदेखि फोहोर उठ्न नसक्दा दुर्गन्धित भएको छ । जताततै फोहोर थुप्रिएका कारण रोग फैलन सक्ने चिन्ता सर्वसाधरणमा परेको छ ।
उपत्यकाको फोहोर फाल्ने गरिएको स्थान नुवाकोटस्थित सिसडोलका बासिन्दाले अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन नसकेको हो । विभिन्न माग राख्दै त्यहाँका बासिन्दाले उपत्यकाबाट फोहोर लिएर गएका गाडी रोकेपछि पाँच दिनयता फोहोर फाल्न नसकिएको हो ।
फोहोर थुप्रिएका कारण काठमाडौं उपत्यकामा दुर्गन्ध फैलिएको छ । जसबाट गम्भीर खालका रोग फैलन सक्ने खतरा बढेको चिकित्सकले बताएका छन् । प्रतिकूल मौसम तथा उपत्यकाको घना बस्ती रहेकाका कारण रोगको संक्रमण चाँडै फैलने खतरा रहेको चिकित्सकको भनाइ छ ।
उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ । यस अवधिमा ५ हजार टनभन्दा बढी फोहोर जम्मा भइसकेको छ । अहिले उपत्यकावासी नाक थुनेर हिंड्न बाध्य छन् । सिसडोलवासी आफ्ना माग सम्बोधन नहुँदासम्म फोहोर फाल्न नदिने अडानमा छन् ।
सिसडोल फोहोरले भरिइसकेका कारण अस्तव्यस्त भएकाले अब फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्या समाधान गर्नुपर्ने माग स्थानीय वासिन्दाको माग छ । हिजो प्रहरीले जब्बरजस्ती फोहोर फ्याँक्ने प्रयास गरे पनि स्थानीयको अवरोध हटेको छैन ।