काठमाडौं, २७ चैत । कोेरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि आवश्यक स्वास्थ्य सामग्री (पीपीई)लगायत ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज सरकारले नै ग्वान्जाओ पठाउने भएको छ ।
अत्यावश्यक सामग्री अभाव भएपछि सरकारले निजी क्षेत्रका सप्लायर्सहरुसँग सहयोगको आग्रह गरेको थियो । सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज शुक्रबार ग्वान्जाओ जाँदैछ । सरकारको आग्रहअनुसार सप्लायर्सहरुले शुक्रबार पुगेर सकेसम्म शनिबारसम्म सामग्री ल्याउने भएका छन् । यसअघि ओम्नी समूहले ल्याएको सामग्री महंगो र गुणस्तरहीन भएको फेला परेपछि विवाद चुलिएको थियो । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा ओम्नीसँगको सम्झौता रद्द भएको थियो । सम्झौता रद्द भएपछि नयाँ प्रक्रियाबाट सामग्री ल्याउन लागिएको बताइएको छ ।
ग्वान्जाओमा करिब ३० टन स्वास्थ्य सामग्री तयारी अवस्थामा राखेका सप्लायर्सले सो सामान शनिबारसम्म नेपाल ल्याउने तयारी गरेका छन् । स्रोतका अनुसार ओम्नीलगायत केही समूहले भाँड्न सक्ने सम्भावना भएपछि सरकारकै आग्रहमा गोप्यरूपमा सामग्री ल्याउन लागिएको हो ।
चैत २० मा शंकर ग्रुपका संचालक सुलभ अग्रवालले ल्याएको सामग्री आफैले कालोबजारी गरेपछि प्रहरी निजी व्यापारीसँग सजग भएको छ ।
विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार ल्याउन लागेको सामग्री नेपाल आएपछि मात्रै सबैलाई जानकारी दिने तयारीमा रहेको निजी सप्लायर्सले जनाएका छन् । करिब १५ जना व्यापारीले ती सामान नेपाल ल्याउन लागेका हुन् ।