काठमाडौं, २६ चैत । विश्वमा १४ लाख ३१ हजार ७ सय ६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसको संक्रमणबाट ८२ हजार ८० जनाको मृत्यु भएको छ । निको भएकाको संख्या ३ लाख २ हजार १ सय ५० छ ।
सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । ४ लाख ४१२ मानिसमा संक्रमण फैलिएको छ । १२ हजार ८ सय ५४ अमेरिकीको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेको संख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार इटलीमा १७ हजार १२७ जनाको मृत्यु भएको छ । इटलीपछि स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ४५ जना छ । त्यसपछि अमेरिकामै बढी मृत्युको दर देखिएको छ ।
इटलीमा संक्रमित १ लाख ३५ हजार ५४६ जनामा संक्रमण देखिएको छ भने स्पेनमा १ लाख ४१ हजार ९४२ संक्रमित छन् ।
नेपालको छिमकी भारतमा संक्रमितको संख्या बढिरहेको छ । तीन हप्ते लकडाउनका बीच पनि भारतमा संक्रमित बढिरहेका छन् । भारतमा बुधबार बिहानसम्म ५ हजार ३५१ मा संक्रमण देखिएको छ । मृत्यु हुनुको संख्या भारतमा १६० पुगिसकेको छ । १ अर्ब ३३ करोड जनसंख्या भएको भारतमा मृत्यु हुनेको संख्या झिनो मानिए पनि फैलिने क्रम बढेकाले चिन्ता बढाएको छ । संक्रमण फैलिने क्रम बढेपछि भारतमा ३ हप्ते लकडाउन लम्बिन सक्ने संभावना बढेको छ ।
भारतमा कोरोनाका कारण मंगलबार १४ महिनाको बालकको ज्यान गएको छ । गुजरातको जामनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका ती बालक भारतमा कोरोनाका कारण मृत्यु हुने कम उमेरका व्यक्ति हुन् ।