काठमाडौं, २६ चैत । लकडाउनका बीच नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । नेपालको पूँजी बजारको इतिहासमा पहिलो पटक १ अर्ब ६० करोडको आईपीओ निष्काशन गरेको पुनर्बीमाको आईपीओ बाँडफाँड मंगलबार बिहान सम्पन्न भएको हो । पुनर्बीमा कम्पनीमा आवेदन दिएका तीन लाख ९० हजार ६३८ जनाले शेयर पाएका छन् ।
पुनर्बीमा कम्पनीले जारी गरेको आईपीओको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले टेकुस्थित केन्द्रीय कार्यालयमा शेयर बाँडफाँड गरेको हो । न्यूनतम ४० कित्ता वा सो भन्दा कम भरेका सबैले शेयर पाएका छन् । ५० कित्ता भन्दा बढी भरेकाहरुमध्ये ७७ हजार २४५ जनाले थप १० कित्तासहित ५० कित्ता शेयर पाएका छन् ।
आरबीबी मर्चेन्ट बैंकिङका अनुसार सो आईपीओमा २७ हजार ७ सय ४८ जनाले १० कित्ता शेयरको लागि आवेदन दिएका थिए । उनीहरुले १० कित्ता नै शेयर पाएका छन् । १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयरका लागि आवेदन भरेकोमा सबैको शेयर पाएका छन् ।
त्यस्तै, १२ हजार ७ सय २३ जनाले ३० कित्ता नै शेयरका लागि आवेदन भरेका थिए । ती आवेदकलाई समेत पूरै रकमको शेयर दिइएको छ । त्यस्तै, ४० कित्ता मात्रैका लागि आवेदन दिएका २० हजार ९ सय २९ जनाले पुरैको शेयर पाएका छन् । ५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेमध्ये गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।
आईपीओको काम सम्पन्न भए लगत्तै नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १० अर्ब पुगेको छ । कूल तीन लाख ९१ हजार ६२६ जनाले आवेदन दिएकोमा ९८८ जनाको आवेदन रद्द गरिएको छ ।