काठमाडौं, २६ चैत ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणले सबै विश्व आक्रान्त छ । इटली, बेलायत, स्पेन, अमेरिका जस्ता देशका मानिसहरु बढी संक्रमित भएका छन् । मानिसको मृत्युदर पनि ती देशमा बढी छ । तर चीनको वुहानमा भने कोरोना भाइरसको संक्रमण रोकथाम भएको छ । थप संक्रमित भएका छैनन् । चीनको हुबेई प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ ।
कोरोना भाइरसको उद्गम थलो बुहानमा ७५ दिनदेखिको लकडाउन बन्धनबाट मुक्त भएपछि स्थानीयले निकै स्वतन्त्रता महसुस गर्न पाएका छन् । मंगलबार लकडाउन हटाइएसँगै यातायातका सबै साधन पुनः सञ्चालनमा आएका छन्भने बजार खुलेको छ ।
यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
वुहानलाई महामारी नियन्त्रणका लागि उच्च प्राथमिकता राखिएको र नागरिक पनि सतर्क रहनुपर्ने वुहानका चिनियाँ राजनीतिक परामर्श सम्मेलन प्रमुख हु शुङ्ग्वाङले बताएका छन् । अहिले उहानमा यातायातका सबै साधन सञ्चालन भएको बीबीसीले जनाएको छ । मंगलबार चीनमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएपछि उहानको लकडाउन हटाइएको हो ।
लकडाउन खुलेसँगै सीमित हवाइ सेवा हुँदा पनि बुधवार १० हजार यात्रु लिएर दुई सय विमान उहान सहरबाट अन्यत्र जाने तय भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले देखाएका भिडिओअनुसार सय वटा जति उच्च गतिका रेल विभिन्न स्थानमा प्रस्थानका लागि तयार भएका छन् ।
प्रमुख हुले नयाँ संक्रमण नदेखिदैमा भाइरसको जोखिम शून्य भएको मान्न नसकिने बताएका छन् । उनका अनुसार अझै पनि महामारी नियन्त्रण र रोकथाम संकटपूर्ण रहेको छ । एजेन्सी