जनकपुरधाम, २५ चैत। नेपाल भारत सीमामा थप कडाई गर्नको लागि चेकपोष्ट थपिएको छ । लकडाउनकै बीच प्रदेश २ का नाका प्रयोग गरेर भारतबाट आउने क्रम नरोकिएपछि प्रहरीले सीमा नाकामा थप चेकपोस्ट खडा गरेको हो ।
प्रदेशका नाकामा १ सयको हाराहारीमा चेकपोस्ट रहेकोमा त्यसलाई बढाएर ३ सय २९ पुर्याइएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न काकीले लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोस्ट संख्या बढाइएको जानकारी दिए ।
उनले प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेक पोष्ट रहेकोमा त्यसलाई बढाएर ३ सय २९ पुर्याएको बताएका छन ।
भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा चेकपोष्ट बनाइएको उनले बताए ।
सीमा नाकामा चेकपोष्ट थपेर भारततर्फका एसएसबी, थानेदार, दरोगा, डीएमहरुसँग नियमित सम्पर्क र समन्वय गरिरहेको कार्कीले बताए ।
‘यताका मान्छे उता नजान र उताका यता आउन नदिन दुवै देशका सुरक्षा अधिकारीले मिलेर काम गरिरहेका छौं,’ डीआईजी कार्कीले दुई देशका सुरक्षा अधिकारीबीचको समन्वयबारे जानकारी दिँदै भने ।
भारतको विभिन्न ठाउँबाट आएर आफ्नो घरमा लुकेका सात जनालाई सप्तरी सदरमुकाम राजविराजको विभिन्न ठाउँबाट फेला पारी क्वारेन्टाइनमा राखिएको छ ।
भारतबाट आई बारा, पर्सालगायतका स्थानमा लुकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको छ । दुई दिनअघि मात्रै महोत्तरीमा भारतबाट आएका १५ जना बालकलाई फेला पारिएको छ ।