Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइजीपी ज्ञवालीको भाइमोहले डीआइजीका आधा दरबन्दी कटौती


    मंगलबार, चैत्र २५ २०७६
    1.1K
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, २५ चैत । आइजीपी ठाकुरप्रसाद ज्ञवालीले भाइ एसएसपी श्याम ज्ञवालीलाई डीआइजी बढुवा गर्न खोज्दा बढुवा नै बिलम्ब हुँदैआएको थियो । आइजीपीका भाइ श्याम भन्दा २ ब्याच अगाडि ९८ औं टोलीका ३४ जना एसएसपी डीआइजीको प्रतिस्पर्धामा रहेका छन् । उनकै ब्याचका पनि तीन एसएसपी सन्दीप भण्डारी, टेकप्रसाद राई र उमेशराज जोशी बरिष्ठताक्रममा अगाडि छन् । तर आइजीपी ज्ञवालीले उनलाई एकैपटक जम्प गरी विश्वराज पोखरेल शैलीले डीआइजी बढुवा गर्न खोज्दा दरबन्दी नै ५० प्रतिशत कटौती भएको छ । यसअघि डीआइजीका ७ दरबन्दीमात्र कटौती हुने चर्चा थियो ।

    समायोजनपछि प्रहरीका ५०–५५ हजार जनशक्ति प्रदेशमातहत जाने र बाँकी २५–२६ हजार मात्रै संघमा रहने हुँदा गृहले डीआइजीको अनावश्यक दरबन्दी कटौती गर्न खोजेको थियो । तर आइजीपी ज्ञवालीले डीआइजीका दरबन्दी कटौती गर्न नदिन भरमग्दुर प्रयत्न गर्दैआएका थिए । २२ डीआइजी पद रिक्त रहेकोमा गृहले अनावश्यक दरबन्दी घटाउन लाग्दा १८ मात्र भए पनि कायम राख्नुपर्छ भन्दै आएका थिए । यसमा आइजीपी ज्ञवालीको भाइमोह नै प्रमुख कारण थियो ।

     केही दिनअघि गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले १४ डीआइजी पदको बढुवाका लागि प्रस्ताव ल्याउनुस् भन्दा निहुँ खोज्दै प्रधानमन्त्रीसँग कुरा गर्छु भनेका थिए । त्यसपछि उनी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे । डीआइजीका दरबन्दी कटौती गर्नु नहुने भनेर कन्भिन्स गर्न पनि खोजेका थिए । तर सुरुमा ७ डीआइजीमात्र कटौती गर्ने भनिएकोमा आइजीपीको भाइमोह थाहा पाएपछि प्रधानमन्त्री ओलीले १३ वटा पद कटौती गरिदिएका छन् ।

    आइजीपी ज्ञवालीको हठका कारण १३ पद कटौतीमा परेका छन् । उनी गृहमन्त्रालयलाई झुकाएर डीआइजी दरबन्दी कटौती हुन नदिने र भाइलाई जम्प गरी बढुवा गर्ने दाउमा थिए । भाइलाई अहिले डीआइजी बढुवा गर्नसके उनी आइजीपीका एक्ला दाबेदार हुने निष्कर्षका साथ उनी डीआइजीका दरबन्दी कटौती हुन नदिन लागिरहेका थिए । जसका कारण डीआइजी बढुवा नै लम्बिदैआएको थियो । आइजीपीको हठका कारण डीआइजीको आधा दरबन्दी कटौतीमा परेपछि अब ९ डीआइजी पदमा मात्र बढुवा हुने भएको छ । १३ डीआइजीको दरबन्दीमा  हाल ४ जना छन् । 

    ९ पदमा एकै समूहका ३४ जना दाबेदार

    नेपाल प्रहरीमा प्राविधिक समेत ३४ डीआइजीको दरबन्दी रहेको थियो । ती मध्ये प्रशासनका २६ जना थिए । डीआइजीको ७ दरबन्दी काटेर १९ दरबन्दी कायम राख्न गृहमन्त्री रामबहादुर थापा बादलले सोमबारको बैठकमा प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गृहमन्त्री भइसकेकाले कहाँ कहाँ डीआइजी आवश्यक छ भन्ने थाहा भएको बताउँदै १३ जना भए पुग्छ भनेका थिए । ९ पदका लागि ३४ जना एकै समूहका दाबेदार छन् भने पछिल्लो समूहका पनि दाबी गरिरहेका छन् । 
    कटौतीपछि ९ डीआइजी पदका लागि एसएसपीहरु घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल शाह, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्रसिंह धानुक, बसन्तकुमार लामा, दिवेश लोहनी दाबेदारका रुपमा देखिएका छन् ।

    त्यसैगरी एसएसपीहरु सहकुलबहादुर थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला पनि बढुवाका लागि प्रतिस्पर्धामा छन् ।

    दरबन्दी कटौती नभएको अवस्थामा पछिल्लो ब्याचका एसएसपी सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी र श्याम ज्ञवाली पनि बढुवामा पर्ने आशामा दौडधूप गर्दैआएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार