रामेछाप, २४ चैत । रामेछापबाट नक्कली विरामी बनाएर यात्रीहरु ओसार्ने एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिका–६ फर्पूको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको हो ।
प्रदेश नम्बर–३ ०–२२–०१ च २१६३ नम्बरको एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । काठमाडौँबाट ६ जना यात्रीहरु लिएर आएको सो एम्बुलेन्स सहित चालकलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
रामेछाप प्रवेश गर्ने क्रममा मन्थली नगरपालिकाको सेलघाटमा सो एम्बुलेन्सलाई प्रहरीले शंका लागि जाँच गरेको थियो । नक्कली विरामीसहितको एम्बुलेन्स मन्थली छिर्न लागेको जानकारी सेलघाट प्रहरीले दिएपछि जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले एम्बुलेन्स र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
पाठकका अनुसार एम्बुलेन्स चालक बुद्ध तामाङ र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा राखि अनुसन्धान भइरहेको छ । शेरबहादुर तामाङ स्मृति प्रतिष्ठान, कान्छाराम कन्सट्रक्सन प्रालिले निशुल्क उपलब्ध गराएको सो एम्बुलेन्स गोकुलगंगा गाउँपालिका–६ नंं।वडा कार्यालयले सञ्चालन गर्दै आएको छ ।
सार्वजनिक यातायत सञ्चालनमा रोक लागेपछि जिल्लाबाट विरामी लिएर जाने एम्बुलेन्सहरुले काठमाडौँबाट फर्कदा त्यताबाट आउने मानिसहरुसँग महंगो भाडा लिएर यात्रीहरु बोक्न लागेपछि प्रहरीले एम्बुलेन्सको जाँचमा समेत कडाइ गरेको छ ।