रोल्पा, २४ चैत । कोरोनाको आशंकामा उपचारार्थमा रहेका रोल्पाका चारजनाको रिर्पोट नेगेटिभ आएको छ । भारतबाट आएका ३ र ईट्टाभट्टाबाट आएका १ जनामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि चिकित्सकको सल्लाहमा शनिवार स्वाव परीक्षणका लागि रोल्पाबाट पठाइएको थियो ।
अस्पतालका डा.प्रकाश बुढाले रोल्पा अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिँदै आएका दुई र होम क्वारेन्टाइनमा रहेका सुनिल स्मृति गाउँपालिका १ घोडागाउँका दुईजनाको स्वाबको नमूना परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको बताए ।
भारतबाट चैत्र १० गते फर्किएका घोडागाउँका २८ वर्षीय बाबु र पाँच वर्षीय छोरीको घरमै गई स्वाब लिएर जाँचका लागि पठाइएको थियो । सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. प्रकृति भट्टराईका अनुसार बाबुछोरीकै रिपोर्ट नेगेटिभ आएको छ ।