काठमाडौं, २४ चैत । भारतमा सोमबार बिहानसम्म ४ हजार २ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा १ सय १८ जनाको मृत्यु भएको छ । भारतमा २१ दिने लकडाउनका बीच पनि कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको छ । संक्रमितमध्ये ३ सय २८ जना निको भएका छन् । भारतमा आइतबार एकै दिन ७ सय १ जनामा कोरोना संक्रमित भएको देखिन्छ । आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या ३ हजार ५ सय ८८ थियो भने मृत्यु हुनेको संख्या ९९ मात्र थियो ।
२१ दिने लकडाउन घोषणा गरेको नेपालको छिमेकी मुलुक भारतमा कोरोना फैलाउने मुख्य कारक तबलिगी जमातलाई मानिएको छ । तबलिगी जमातको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा अनुमतिविना भएको मार्च २२ देखि ३० सम्मको धार्मिक भेला(मरकज) मा १४ जना कोरोना संक्रमितले पनि भाग लिएको भनिएको छ । र, ती मरकजमा भाग लिनेकै कारण भारतका प्रायः सबै प्रान्तमा कोरोना फैलिएको भन्दै तबलिगी जमातको चर्को बिरोध भइरहेको छ ।