काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार र मध्यावधि निर्वाचन कांग्रेसको माग नभएको प्रष्ट पारेका छन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले शनिबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा सरकारले मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको र कोरोना भाइरस रोकथाममा प्रभावकारी भूमिका खेल्न नसकेकाले अवस्था सामान्य भएपछि मध्यावधि चुनाव गर्नुपर्ने माग गरेका थिए ।
केही समयअघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कोरोना जस्तो महामारीसँग जुध्नका लागि सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राखेका थिए । कोरोना भाइरस महामारीसँग लड्न विश्वका सरकार प्रमुखहरुदेखि सार्कका सरकार प्रमुखहरु गम्भीर छलफल भइरहेको सत्तालोलुपता देखाएको भनी बरिष्ठ नेता पौडेल र सहमहामन्त्री महतको सामाजिक संजालमा चर्को आलोचना सुरु भएपछि प्रवक्ता शर्माले आइतबार यी दुवै माग पार्टीको नभएको प्रष्टीकरण सामाजिक संजाल ट्वीटरमार्फत् दिएका छन् ।
प्रवक्ता शर्माले सहमतिको सरकार र मध्यावधि चुनावबारे पार्टीलाई जोडेर अतिरञ्जित व्याख्या गरिएको उल्लेख गर्दै सहमतिको सरकार र चुनाव अहिले पार्टीको माग नरहेको प्रष्ट पारेका हुन् ।