कैलाली, २३ चैत। कैलालीमा शनिबार मात्रै तीन जना व्यक्तिमा नोबेल कोरोना भाइरसको संक्रमण भेटियो । संक्रमितहरु मध्ये दुई जना छिमेकी मुलुक भारतबाट आएका हुन भने एक जना नेपाल भित्रकै हुन । एकैदिनमा थप तीन जना कोरोना संक्रमित फेला परेसँगै त्यहाँ अहिले त्रासको वातावरण सृजना भएको छ ।
कैलाली जिल्ला नेपालमै कोरोना संक्रमणमा अग्रस्थान आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भारतको मुम्बईबाट घर फर्किएका कैलाली, लम्की चुहानगरपालिका वडा नम्बर २ का २१ वर्षीय युवक र उत्तराखण्डबाट फर्किएका कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका वडा नम्बर १ का ४१ वर्षीय एक पुरूष र कैलालीकै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरकी ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको छ । धनगढीमा संक्रमित भेटिएकी भनेकी महिला दुवईबाट धनगढी फर्किएका ३४ बर्षीय युवककी भाउजु नाता पर्ने बताइएको छ ।
कोरोना संक्रमित भनिएका कैलालीको लम्की चुहानगरपालिका वडानम्बर–२ का युवक भारतको गौरीफन्टा नाका हुँदै त्रिनगर भन्सारको बाटो भएर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट बसमार्फत नेपाल प्रवेश गराइएका यात्रु हुन सक्ने बताएका छन् । लकडाउनका समयमा भारतबाट आएका एक हजारको संख्यामा रहेका नेपाली कामदारले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सीमानामा नाराबाजी गर्नुका साथ भन्सार नाकामा प्रहरीसँग झडप समेत भएको थियो ।
नेपालमा कोभिड–१९ को संक्रमितको संख्या ९ पुगेको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताए ।
कैलालीमा भेटिएका संक्रमित तीनै जनालाई धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा धनगढीको आइसोलेसन वार्डमा राखिएको छ । कैलालीमा तीन जना संक्रमित भेटिएपछि कैलालीबासी तथा सुदुरपश्चिमबासी नै त्रसित बन्न पुगेका छन् ।