धनगढी। धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । उनको उपचार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भइरहेको छ।
परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले बताए ।
संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए ।
दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।