काठमाडौं, २२ चैत । लकडाउनको समयमा पनि नेपाल आयल निगमले ग्याँसको आपूर्ति ब्यवस्था सहज बनाएको छ । विगतमा नाकाबन्दीको समयमा आधा सिलिण्डर ग्याँसको ५ हजार रुपैयाँसम्म तिरेका उपभोक्ताहरुले लकडाउनमा ग्याँस सहज रुपमा पाइरहेका छन् । नेतृत्व सही हुने हो भने सहज आपूर्ति हुँदोरहेछ भन्ने कुरा आयल निगमका कार्यकारी निर्देश सुरेन्द्र पौडेलले सिद्ध गरेका छन् । उनले ग्याँस अभाव हुन नदिन र कालोबजारी नियन्त्रणमा कडाइ गर्दा उपभोक्ताहरुले सहजरुपमा ग्याँस पाएका छन् ।
लकडाउनमा नपाउने हो कि भन्ने चिन्ताका कारण उपभोक्ताहरुले बढी भण्डारण गर्ने भएकाले पनि ग्याँस आपूर्तिलाई सहज बनाउन र अभाव हुन नदिन निगमले सहज अवस्थामा ८० ट्रकको मागलाई दोब्बर बनाएको थियो ।
निगमले बिहीबार १ सय ४७ ट्रक र शुक्रबार १ सय ५७ ट्रक ल्याइदियो । निगमले मागभन्दा दोब्बर बढाएर पनि मागे जति ग्याँस आपूर्ति गर्यो । अभाव देखाएपछि उपभोक्ताले नयाँ सिलिन्डर किन्ने गर्दछन् । नयाँ सिलिन्डर ल्याउन र उद्योगबाट पनि निकाल्न नदिइएपछि अभावमा लाभ लिन कालाबजारीया आत्तिए । र, कालोबजारी हुन सकेको छैन । बजारमा भएकै सिलिन्डरबाट ग्याँस दिनुपर्ने भएपछि कालोबजारीमा अभाव देखाएर लाभ लिन पल्किएकाहरु उपभोक्तालाई सहज रुपमा ग्याँस दिन बाध्य भएका छन् । आयल निगमले ग्याँस घर घरमा घुम्ती सेवामार्फत् पनि दिंदैआएको छ । ग्याँस नपाएको गुनासो गर्नासाथ निगमले तत्कालै सम्बोधन गर्दैआएको छ ।
विगतमा ग्याँसमा मात्र होइन, इन्धनमा समेत कालोबजारी हुने गरेको थियो । भारतीय सीमामा सामान्य अवरोध आउँदा पनि इन्धन र ग्याँसको हाहाकार हुने गरेको थियो । तर विगत १ बर्षदेखि निगमले इन्धन र ग्याँसमा गुनासो गर्ने ठाउँ दिएको छैन । सरकारले सही ब्यक्तिलाई निगमको नेतृत्व दिंदा ब्यवस्थापन हुँदोरहेछ भन्ने उदाहरण बनेका छन्–सुरेन्द्र पौडेल । सरकारी संस्थान पनि कुशल ब्यवस्थापकको नेतृत्वमा संचालन भए सुधार्न सकिन्छ भन्ने उदाहरण पौडेलले उदयपुर सिमेन्टमा देखाएकाले सरकारले उनलाई निगमको नेतृत्वमा ल्याएको थियो ।
बढी मूल्य लिनेलाई २ लाख जरिवाना
यसैबीच, बढी मूल्यमा ग्याँस बिक्री गर्नेहरुलाई कडा कारबाही गर्न थालेपछि कालोबजारी नियन्त्रणमा थप सफलता मिलेको छ । अभावको बेला बढी मूल्य लिएर ग्याँस बिक्री गर्ने एक डिलरलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागको अनुगमन शाखाका अधिकृत दीपकराज पोख्रेलका अनुसार काठमाडौंको डल्लु क्षेत्रमा रहेको ओम सरस्वती स्टोरले सुगम ब्रान्डको आधा ग्यास भरिएको सिलिन्डर आठ सय रुपैयाँमा बिक्री गरेको पाएपछि उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । आधा परिमाण ग्यास भएको सिलिन्डरका लागि आयल निगमले उपत्यकाका लागि ६ सय ८७ रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरेको छ ।
निगमले केही दिनअघि सुगम ग्याँस उद्योगले बढी मूल्य दिने बितरकलाई मात्र ग्याँस दिएको समाचार आएपछि तत्कालै सुनुवाइ गरेको थियो ।