काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु नजाने भएका छन् । समारोह ११ बजेका लागि तोकिएको भएपनि केही समय ढिलो भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसरी नेकपाका शीर्ष नेताहरु सपथ ग्रहणमा नजानुको कारण भने फरकफरक छ। नेकपाका वरिष्ठ नेता झलनाथ खनाल बुधबार साँझ नै स्वास्थ्यमा समस्या आइ ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।
यस्तै कोरोना संक्रमणका कारण भिडभाड गर्न नहुने भएकाले नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सपथ ग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।
कोरोनाको महामारीका कारण जमघटमा कडाइ गरिएकाले नआई नहुने व्यक्तिहरू बाहेक सपथग्रहणमा अरू कोही सहभागी नुहने राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ ।
उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, केही मन्त्रीहरूसहित सीमित पदाधिकारीहरु मात्रै सपथग्रहणमा सहभागी हुनेछन् ।
नेकपाका शीर्ष नेताहरुलाई राष्ट्रपति कार्यालयले नै नबोलाएको नेकपा निकट स्रोतलको दावी छ ।
‘कोरोना माहामारी छ । यस्तोबेला भिडभाड गर्नु राम्रो होइन,’ स्रोतले भनेको छ, ‘नजाँदा खासै फरक नपर्ने देखेर नजाने निष्कर्षमा पुग्नुभएको हो ।’
हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना नयाँ मन्त्री नियुक्त गर्नुका साथै दुई जनाको जिम्मेवारी हेरफेर गरेका थिए ।
विष्णु पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र लिलानाथ श्रेष्ठल महिला तथा बालबालिका मन्त्री नियुक्त भएका हुन् ।
त्यस्तै यसअघि महिला तथा बालबालिकाको जिम्मेवारीमा रहेका पार्वत गुरुङ सञ्चार र रक्षा मन्त्री रहेका ईश्वर पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा परिवर्तन गरिएको छ ।
मन्त्रिमण्डल हेरफेरको निर्णय प्रधानमन्त्र ओलीले एक्लै गरेको भन्दै अन्य शीर्ष नेता असन्तुष्ट भएको चर्चा चलेको छ । तर अहिलेसम्म ती नेताहरुको तर्फबाट यो विषयमा औपचारिक रुपमा केही भनिएको भने छैन।