Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • रुपन्देहीका एसपीको आईजीपीलाई चुनौतीः रवाना दिनुपर्नेलाई इन्चार्ज


    शुक्रबार, मंसिर ८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • रुपन्देही । नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा÷पदस्थापन भएका प्रहरी कर्मचारीहरुलाई दरबन्दीमा पठाउनका लागि पटक–पटक ताकेता गर्दा पनि रुपन्देहीका एसपी भरतबहादुर विकले आइजीपी बसन्तबहादुर कुवँरलाई चुनौती दिदै काजमा रहेका प्रहरीहरुलाई नै इन्चार्ज बनाएर पठाएका छन् ।

    मधेश प्रदेशको डीआईजी हुँदादेखि नै दरबन्दीमा पठाऊ अभियानमा लागेका हुन् आईजीपी कुँवर । आईजीपी भएपछि उनले दरबन्दीमा पठाउने निर्देशन मातहतका प्रदेश र जिल्लालाई दिएका छन् ।
    पटक पटकको ताकेता पश्चात् अटेरी प्रमुखहरु वास्ता नगरेपछि प्रहरी प्रधान कार्यालयले मंसिर ४ गते मातहतका सबै कार्यालयलाई पदस्थापन÷सरुवा भएका कर्मचारीहरुलाई २४ घण्टा भित्र दरबन्दीमा पठाउन र नपठाए कार्यालय प्रमुखलाई कारवाही गर्ने व्यहोराको पत्राचार गरेपछि पनि एसपी विकले खासै वास्ता गरेका छैनन् ।

    कार्यक्षमतामा निकै कमजोर रहेका एसपी विकको कार्यसम्पादनकै कारण आईजीपी कुवँर र लुम्बिनी प्रदेशका डीआईजी उमेशराज जोशी समेत सन्तुष्ट छैनन् । आईजीपी कुवँरलाई चुनौती दिदै एसपी विकले निरन्तर आफूखुशी काम गर्दै आए पनि एसपीको पावर सामु कुँवर समेत निरीह बनेका छन् । जसका कारण कुवँरले टेलिफोनमा एसपीलाई गाली गर्नुबाहेक अरु केही गर्न नसकेको जिल्लाको प्रहरी युनिटहरुमा खिल्ली उडाउने विषय बनेको छ । एसपी विकले जिल्ला सम्हाल्न नसके पनि उनीमाथि कारवाही हुनसकेको छैन । एसपी कुँवरको एक बर्ष पुग्न लागेकाले उनले जाँदाजाँदै आर्थिक लेनदेनका आधारमा काजमा कार्यरत जुनियर अधिकृतलाई तस्करी हुने नाकाहरुमा इन्चार्ज बनाएर पठाएका छन् ।

    ‘हेडक्वार्टरबाट पत्र आएपछि केही सोझासाझालाई दरबन्दीमा पठाउनका लागि एसपी साबले भन्नुभएको छ’ स्रोतले भन्यो, ‘तर, काजमा रहेका घुमुवा असई पवन जीसी जस्ता बदनामहरुहरुलाई रवाना पत्र नदिनू भन्नुभएको छ ।’

    नवलपरासी जर्गाहामा दरबन्दी भएका घुमुवा इन्चार्ज असई पवन जीसीलाई काखी च्यापेर असुली धन्दा चलाएका एसपी विकले असुलीको बढी हल्ला भएपछि जीसीलाई बर्दीमा ड्युटी खटाएको हल्ला चलाए पनि उनले असुली जारी राखेका छन् । असई जीसीको विषयमा परेको उजुरीमाथि प्रहरी प्रधान कार्यालयले छानबिनका लागि पत्राचार गरे पनि आफ्नै घुमुवा भएका कारण एसपी विक कारबाही गर्ने पक्षमा छैनन् ।

    एसपी विकको निर्देशनमा जिल्लामा जुनियर प्रहरी अधिकृतहरुको निकालिएको काज सरुवामा बिवादितहरुलाई यथावत र आकर्षक चौकीको इन्चार्ज बनाएर पठाइएको छ भने सोझासाझालाई झनै पेलिएको छ । सरुवामा एसपी विकका प्रियपात्र नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका कार्यरत इन्स्पेक्टर एक्काबहादुर नेपाली मार्फत् आर्थिक चलखेल भएको स्रोतको दावी छ ।
    सरुवाअघि जुनियर प्रहरी अधिकृतहरु नेपालीको सम्पर्कमा गएका थिए । हालै इन्स्पेक्टरमा बढुवा भएका नेपाली केही महिनाअघिसम्म जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । उनी जिल्लामा कार्यरत रहँदा डिएसपी, इन्सपेक्टर सबैलाई बाइकट गरेर एसपी मार्फत् उनले जिल्ला चलाएका थिए ।

    काज सरुवामा आर्कषक चौकी इन्चार्जका लागि उनले १० देखि ३० हजार रुपैयाँको दररेट नै तोकेर असुलेको आरोप लागेको थियो । हालको काजसरुवामा पनि डीएसपी, इन्स्पेक्टरहरुलाई बाइकट गरेर आर्थिक चलेखेल भएको चर्चा छ । सरुवा पत्रमा डीएसपी मनोहरप्रसाद भट्टको हस्ताक्षर भएतापनि भर्खरै जिल्लामा आएका कारण एसपीले उनलाई आन्तिरक कुनै विषयमा जानकारी गराएका छैनन् । क्यासिनो, स्पा, तस्करी, बेश्यावृत्ति लगायतबाट भइरहेको आम्दानी पनि एसपी विक एक्लैले लिइरहेको स्रोतको भनाइ छ ।

    काजमा रहेर जिल्लामा रजगज गरेकाहरुलाई एसपी विकले आकर्षक चौकीको इन्चार्ज र इप्रकामा पठाएका छन् । धकधईबाट तस्करीको लाइन खोलेर खुलेआम तस्करी गराइरहेको इलाका प्रहरी कार्यालय धकधकईका सई लक्ष्मण डाँगीलाई भने उनले यथावत राखेका छन् ।

    पाल्पाको प्रहरी चौकी ताँहुमा दरबन्दी भएका असई हरिबहादुर नेपालीलाई एसपी विकले रवाना दिएर पठाउनुपर्नेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सबैभन्दा आकर्षक प्रहरी चौकी मैनिहवाको इन्चार्ज बनाएका छन् । अत्यधिक तस्करी हुने मैनिहवा चौकी इन्चार्जमा जानका जिल्लामा तँछाडमछाड हुने गर्दछ ।

    रुपन्देहीको मुख्य सीमानाका क्षेत्र इलाका प्रहरी कार्यालय (इप्रका) बेलहियामा कार्यरत सई राजकुमार चौधरी थारुको समयावधि नपुग्दै त्यहाँबाट वडा प्रहरी कार्यालयमा बुटवलमा लखेटिएको छ भने लुम्बिनी प्रदेश प्रहरी गण बाँकेमा दरबन्दी भएका वरिष्ठ सई खिमविक्रम जीसीलाई एसपी विकले रवाना दिएर दरबन्दीमा पठाउनुपर्नेमा वप्रका बुटवलबाट बेलहियाको ट्वाइसी बनाएका छन् ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँमा दरबन्दी भएका वरिष्ठ सई नमराज पोख्रेललाई इप्रका रन्यौरामा मस्ती मारिसकेपछि पनि सम्मानस्वरुप रवाना नदिएर जिप्रका रुपन्देहीमा थमौती गरिएको छ ।
    इप्रका गोरुसिङ्गे कपिलवस्तु दरबन्दी भएका असई सिता चुनारालाई एसपीले महिला भएका कारण रवाना नदिएर दुर्गा सामुदायिक प्रहरी सेवाबाट जिप्रका रुपन्देहीमा ल्याएर राखेका छन् ।

    त्यसैगरी इप्रका लुम्बिनी रुपन्देहीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई केशवप्रसाद श्रेष्ठलाई झनै पेलेर भैरहवा कारागारमा पठाइएको छ भने सई माधवकुमार डाँगीलाई कारागारबाट ल्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा थन्क्याइएको छ ।

    प्रहरी चौकी माथा, पाल्पामा दरबन्दी भएका असई कनहिया चौधरीले प्रहरी चौकी पाण्डे पिप्रहवाबाट तस्करी गराएर मस्त कमाए । उनलाई रवाना दिनुपर्नेमा त्यहाँबाट उनलाई इप्रका छपिया लगेर थामथुम पारिएको छ । इप्रका बेलाटारी नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) दरबन्दी भएका असई लक्ष्मणप्रसाद ज्ञवालीलाई जिल्लामा आम्दानीको ‘साइलेन्ट कार्यालय’ मानिने इप्रका मंगलपुरबाट एसपी विकले राम्रो मानिने अस्थायी प्रहरी चौकी ड्राइभरटोलको इन्चार्ज बनाएर सम्मानित गरेका छन् ।

    यस्तै प्रहरी चौकी हस्तीचौर, गुल्मी दरबन्दी भएका असई सनन्दनप्रसाद यादवलाई इप्रका मझगावाबाट सामुदायिक प्रहरी सेवा गोलपार्क, बुटवलको इन्चार्ज बनाइएको छ । जिप्रका मुगुमा दरबन्दी भएका असई कमलबहादुर बटालालाई रवाना दिएर पठाउनुपर्नेमा प्रहरी चौकी खजहनाबाट इप्रका सालझण्डीमा लगेर राखिएको छ ।

    अर्का असई थमनबहादुर पराजुलीलाई वडा प्रहरी कार्यालय भैरहवाबाट तस्करीको कुख्यात नाका प्रहरी चौकी हाटिबनगाईको इन्चार्ज बनाइएको छ भने असई धनबहादुर खत्रीलाई जिप्रका रुपन्देहीबाट प्रहरी चौकी पाण्डे पिप्रहवाको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै एसपी विकले असई राजकुमार खत्रीलाई पनि वडा प्रहरी कार्यालयबाट तस्करी गराएर राम्रो आम्दानी हुने प्रहरी चौकी मेउडिहवाको प्रमुख बनाएका छन् ।

    रुपन्देहीका एसपी भरतबहादुर विकले भने–‘मातहतका चौकीमा इन्चार्ज खटाउँदा क्षमतावानलाई खटाउनुपर्छ । सेटमा बोल्न पनि नजान्नेलाई इन्चार्ज दिनुभएन । त्यसरी खटाउने क्रममा एकाध अरु जिल्लामा दरबन्दी भएका प्रहरीहरु पनि परेका छन् ।

    बाहिर दरबन्दी भएकाहरु धेरै जिल्लामा छन् । रुपन्देहीमा मात्र छैनन् । अरु जिल्लामा पनि काजमा कार्यरतलाई काममा खटाइएको छ ।’

    ‘प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार दिन गनेरै काजमा कार्यरतलाई फर्काउँदैछु, एसपी विकले भने–‘मैले जिल्लामा जिम्मेवारी सम्हालेको १० महिनामा कुनै पनि आर्थिक लेनदेन गरेको प्रमाण पेश गर्न चुनौती दिन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार