Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्पपीडित मर्कामा, चिसोले दुईजनाको मृत्यु


    शनिबार, कार्तिक २५ २०८०
    945
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • कर्णाली । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन सुरु भएकोछ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिकरुपमा बढेको जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

    जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् । वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो ।

    चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उनले बताए । वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ ।

    उनका अनुसार ३७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ । बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रँदै जाँदा बिरामीको संख्या बढ्न थालेको बताए ।

    दल्ली नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिए । उनले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक १५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ ।

    भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी संकट बढेको नगरप्रमुख रावतले बताए । “स्थानीयहरु नदीको दूषित पानी खान बाध्य छन्”, उनले भने, “अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुलास्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ ।”

    नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब ४०० बिरामीको उपचार गरेर फर्किएको बताए । उनका अनुसार भूकम्प गएको एकदुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो । नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरुले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरुमा चिसोले असर पार्दै गएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार