बाग्लुङ । दुई जना कोरोनाभाइरस संक्रमित विरामी उपचारमा रहेको बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पतालमा एउटा भेन्टिलेटर पुगेको छ। हिजो राति साढे १० बजेतिर भेन्टिलेटर आइपुगेको अस्पतालले जनाएको छ।
उक्त अस्पतालमा एक जना १९ वर्षीया युवती र ६४ वर्षीया महिलाको उपचार भइरहेको हो।
दुवै संक्रमित नातेदार हुन् भने गत चैत ४ गते दुवै जना बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएका थिए।
संक्रमण देखिएपछि महिलालाई हिजै राति अस्पताल भर्ना गरिएको थियो। अहिले दुवै संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
संक्रमित महिलाको उमेर पनि अलिक बढी भएको र पहिले दमको समस्या रहेको अस्पतालले भेन्टिलेटरको लागि प्रदेशलाई आग्रह गरेको हो।
पहिलो संक्रमित युवतीलाई भर्ना गरेपछि पनि पोखराबाट एउटा भेन्टिलेटर पठाइएको थियो तर त्यसले काम गरेन। पछि हेर्दा भेन्टिलेटर बिग्रिएको पाइयो।
नयाँ आएको भेन्टिलेटरमा भने कुनै समस्या नहरेको र काम गर्न सुरू गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।