काठमाडौं, २१ चैत । स्रोत साधनको ठूलो हिस्सा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयले सबै सरकारी कार्यालयहरूलाई अत्यावश्यक काममा बाहेक अरु प्रयोजनमा बजेट खर्च गर्न रोक लगाएको छ । अर्थ मन्त्रालयले सवारी साधन, फर्निचर खरिद, कम्प्युटर, मेसिनरी लगायत १४ शीर्षकमा खर्च नगर्न परिपत्र गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रमलाई स्थगित गरी विभिन्न निकायहरुमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस, रोकथाम, नियन्त्रण लगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपयोगका लागि स्रोत ब्यवस्थापन गर्नुपर्ने भएकाले रोक्का गरिएको अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
तर २०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको काममा भने बजेट रोक्का नहुने परिपत्रमा उल्लेख छ ।
अर्थले बजेट रोक्का गरेका शीर्षकहरुमा सवारी साधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ती प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ती खर्च र भैपरी आउने पुँजीगत खर्च नगर्न भनेको छ ।
यस्तै सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालु खर्च समेत रोक्का राखिने अर्थको परिपत्रमा उल्लेख छ ।