काठमाडौं । रविन्द्रनाथ श्रेष्ठ सहरी विकास मन्त्रालयको सचिवबाट अवकाश पाएको १ महिना भइसकेको छ । तर अवकाश पाएपछि पनि उनी हरेक दिन सहरी विकास मन्त्रालयमा आउने गर्दछन् । र, सहरी विकास मन्त्रालयका सचिव सर्जुकुमार बैद्यकोमा १ देखि २ घन्टा बसेर जाने गर्दछन् ।
सचिव बैद्यकोमा मात्र होइन, सहरी विकास मन्त्री सीता गुरुङकोमा पनि उनी जाने गरेका छन् । पूर्वसचिव श्रेष्ठ सिनामंगलस्थित निवासबाट हरेक दिन सहरी विकास तथा भवन निर्माण विभागको ५४१ नम्बरको निसान जीपमा सहरी विकास मन्त्रालयमा आउँछन् । सहरी विकास मन्त्रालयकै सवारी चालक धनराज खतिवडाले उक्त गाडीमा हरेक दिन श्रेष्ठलाई ल्याउने लाने गर्दछन् ।
पूर्वसचिव श्रेष्ठले मन्त्री गुरुङसँग सेटिङ गरी आफ्ना विश्वासपात्र सचिव सर्जुकुमार बैद्यलाई सहरी विकासमा सरुवा गराउन सफल भएपछि हरेक दिन गएर मन्त्रालयका निर्णयहरुमा हस्तक्षेप गर्ने गरेका छन् । विगतदेखि हालसम्म भएका टेण्डरदेखि डीपीआरका कोटेसनमा दिएका कामहरुमा १ देखि ५ प्रतिशतसम्म उठाउनकै लागि उनी अवकाशपछि पनि मन्त्रालयमा हरेक दिन आउने गरेको स्रोत बताउँछ ।
रविन्द्रनाथको सेटिङमा सीता गुरुङले कार्यक्षमतामा अति कमजोर सचिव सर्जु बैद्यलाई ल्याएर मन्त्रालयको प्रशासनिक नेतृत्व पूर्वसचिवबाट चलाउने अवस्था उत्पन्न भएको छ । गुरुङको कमिसनमोहका कारण नेपाली कांग्रेसकै छविमा आघात पुगेको छ । पार्टीको छवि उकास्न कुनै पनि काम गर्न नसकेकी मन्त्री गुरुङलाई पूर्वसचिव श्रेष्ठले फनफनी घुमाएका छन् । मन्त्री गुरुङ बिचौलिया र दलालहरुमार्फत् चल्ने गरेको, पर्फमेन्स नै देखाउन नसकेकाले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा पहिलो लटमै हटाइने सूचीमा रहेको बताइन्छ ।
सहरी विकास मन्त्रालयका एक कांग्रेस निकट कर्मचारीले भने–‘मन्त्री गुरुङ नेपाली कांग्रेसकी मन्त्री हुन्, तर कांग्रेस नेतृ डा. आरजु राणालाई भूटानी शरणार्थी प्रकरणमा फसाउनुपर्छ भनेर लागेका गृहमन्त्री नारायणकाजी श्रेष्ठहरुसँग उठबस भएका पूर्वसचिव रविन्द्रनाथको योजनामा उनी चल्ने गरेकी छन् । उनैले भनेका सचिव ल्याएकी छन् । मन्त्रालय सीता गुरुङले होइन, पूर्वसचिव श्रेष्ठले चलाएका छन् । अनि कसरी कांग्रेसको भलो हुन्छ ?’
कमिसनमा कुरा नमिलेपछि ठेक्का रद्द गर्दै मन्त्री गुरुङ
रविन्द्रनाथ श्रेष्ठले सहरी सचिव भएकै समयमा मन्त्री गुरुङसँग सेटिङ मिलाएर सिंहरदरबारस्थित संसद भवन र मन्त्री निवास भंैसेपाटीको इन्टेरियर डिजाइनको ठेक्का करिब ३ अर्ब रुपैयाँमा क्षमादेवी ग्रुप अन्तर्गतको क्षमादेवी इन्टेरियर प्रालिलाई दिए । मन्त्री गुरुङलाई ३ अर्ब रुपैयाँको २ प्रतिशत घुस दिनेगरी सेटिङ भएपछि क्षमादेवीले संसद भवन र मन्त्री निवासको इन्टेरियर डिजाइनको ठेक्का पाएको थियो । सचिव र डीजीलाई छुट्टै, मन्त्रीलाई थप २ प्रतिशत दिने कुराले क्षमादेवीका ४ जना संचालकहरुबीचमा ठूलो झगडा भयो । उक्त ठेक्का मन्त्री गुरुङको दबाबमा भएकाले विभिन्न सरोकारवाला निकायमा उजुरबाजुर समेत प¥यो ।
संसद भवनको इन्टेरियर डिजाइनको काम केसी कन्ष्ट्रक्सनको नाममा भए पनि क्षमादेवीका संचालकमध्येका बसन्तले सीता र रविन्द्रलाई बढी घुस बुझाएको देखाई घर खरिद समेत गरिसकेको ह्ुनाले क्षमादेवीभित्र रडाको मच्चियो । क्षमादेवीका मुख्य संचालक राजकुमार बस्नेत (होमबहादुर)ले मन्त्रीलाई १ प्रतिशत भन्दा दिन नसकिने जनाउ दिएपछि मन्त्री गुरुङ संसद भवनको इन्टेरियर डिजाइनको टेण्डर नै रद्द गर्ने चलखेलमा लागेकी छन् । ३ अर्ब रुपैयाँको २ प्रतिशत घुस नपाए टेण्डर रद्द गर्ने धम्की मन्त्री सीताका श्रीमान दिल गुरुङ र भाइ भगिमानले क्षमादेवीका संचालकलाई दिइसकेका छन् । संसद भवनको टेण्डर नै गलत प्रक्रियाबाट निस्केको थियो ।
संसद भवन पूरा निर्माण हुन नै ४० प्रतिशत बाँकी छ । ४० प्रतिशत काम सकिएपछि मात्र इन्टेरियरको काम सुरु गर्नुपर्नेछ । रविन्द्रनाथ श्रेष्ठले अवकाश हुने भएपछि हतार हतार संसद भवनको इन्टेरियर डिजाइनको ठेक्का सम्झौता गराई आफ्नो भागको घुसको हिस्सा १ प्रतिशत बुझिसकेका छन् । मन्त्री सीताको टीमले २ प्रतिशत नपाएपछि टेण्डर रद्द गर्ने चलखेलमा लागेका छन् । संसद भवनको इन्टेरियर डिजाइनको बोलपत्र सूचना प्रकाशित भएको समयमा सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य थिए । उनी हाल राष्ट्रिय सतर्कता केन्द्रमा सचिव छन् । अर्को रोचक बिषय त के छ भने मन्त्रीले भनेजति घुस नपाएपछि मन्त्रीले ठेक्का रद्द गर्न लागेको बिषयमा तिनै आचार्य सचिव भएको सतर्कता केन्द्रमा उजुरी पुगेको छ ।
क्षमादेवीकै तर्फबाट सतर्कता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । क्षमादेवीका एक संचालकले त यतिसम्म भने–‘माछा र बँदेलको सुकुटी समेत मन्त्रीले कोसेली भनेर माग्ने, अनि दिइसकेको हाम्रो ठेक्का रद्द गर्ने धम्की दिने ?’ उनले आक्रोशित हुँदै ठेक्का रद्द गरे सबै पोल खोल्न बाध्य हुने बताए ।
संसद भवनको निर्माण नै पूरा नभएको, उक्त भवनको इन्टेरियर डिजाइनको टेण्डर पनि गलत प्रक्रियाबाट निकालिएको, अवकाशको मुखमा सबै कमिसन तत्कालीन सचिव रविन्द्रनाथले लगेकाले मन्त्री र उनको परिवार रुष्ट भएको छ । मन्त्रीले भनेजति कमिसन नपाएको र नेपाली कांग्रेसमा पनि यो हिसाबकितावको बारेमा सूचना पुगेपछि इन्टेरियर डिजाइनको ठेक्का नै रद्द हुने संभावना बढेर गएको छ । संसद भवनको इन्टेरियर डिजाइनको ठेक्कामा तत्कालीन सचिव रविन्द्रले मन्त्रीसँग मिलेर गरेको सेटिङका बारेमा अख्तियारमा उजुरी परेको छ । सहरी विकास मन्त्रालयका एक अधिकारीले भने–‘टेण्डरमा गडबड भएको उजुरीमा अख्तियारले छानबिन नगर्नुका पछाडि कसको सम्बन्ध के हो भन्ने सत्यतथ्य समेत समयक्रममा खुल्दै जानेछ ।’
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend