Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सहरी विकास मन्त्रालयमा निमित्त आतंक, निमित्तहरुसँग मन्त्रीका पीएको सेटिङ


    बिहिबार, फाल्गुन १५ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । डीइ (डिभिजन इन्जीनीयर)मा बढुवा भई २० जना उपसचिव सरहका कर्मचारी यही फागुन महिनाभित्रै सहरी विकास मन्त्रालय अन्तर्गत बढुवा भएर आउँदैछन् ।

    बढुवा भएका डीईहरूलाई मन्त्रालयले कहीँ न कहीँ पदस्थापना गर्नुपर्नेछ । १३ जना डीई मन्त्रालयमा आइसकेका छन् । अब बाँकी ७ जनाको बढुवा हुँदैछ । एकातिर २० उपसचिव काम नपाई खाली हुँदैछन् भने अर्कोतिर मन्त्रालय मातहतका काठमाडौं बाहिरका विभिन्न योजना कार्यालयहरुमा ५ जना इन्जिनियरहरु भने निमित्त भई काम गरिरहेका छन् ।

    गत महिना नै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयका उच्च कर्मचारीहरुको आन्तरिक बैठकमा फागुनदेखि नै ५ जना निमित्त हटाउने र खाली ठाउँमा डिई पठाउने तयारी गरेको सुनाएका थिए । यो एक किसिमको मन्त्रालयको निर्णयजस्तै थियो । केही महिनाअघि सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयले गरेको उपलब्धीका बारेमा जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा एक पत्रकारहरुले आकर्षक मानिएका आयोजना कार्यालयमा ५ जना निमित्त कार्यरत रहेको विषयमा प्रश्न उठाएका थिए । त्यसको जवाफमा सिंहले स्पष्ट जवाफ दिएका थिएनन् ।

    मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्– पाँच जना निमित्त हटाउने बित्तिकै आयोजना कार्यालयहरुमा हुने गरेको एक तिहाई विकृति स्वतः कम हुनेछ । त्यसैले पनि निमित्त हटाउन सचिवले निर्णय गरिसकेका हुन् । तर निमित्त हटाउन सचिवलाई सजिलो हुने छैन । किनभने निमित्त नहटाउन गम्भीर चलखेल सुरु भएको छ । खासगरी दुई वटा आयोजनामा आयोजना प्रमुखहरुले मन्त्रालयका स्वकीय सचिव युपी लामिछानेलाई प्रयोग गरिरहेका छन् । कमसेकम तीन ठाउँमा त्यति नभए दुई ठाउँमा निमित्त नहटाउन लामिछानेले प्रयास गरिरहेका छन् । उनीहरुले लामिछानेलाई ‘खुशी’ बनाइसकेको स्रोतको दावी छ । त्यसैले लामिछाने यो काममा लागिपरेका छन् ।

    स्रोत भन्छ–मन्त्रालयको आकर्षक ठाउँमा हुने गरेको सरुवा र खटनपटनमा युपीको चासो रहँदैआएकोे छ । मन्त्रालय नजिकैको क्यान्टिनमा बोलाएर उनले आयोजना प्रमुखहरुसँग बार्गेनिङ गर्ने गर्छन् । स्रोत भन्छ, लामिछानेको अगाडि सचिवको पनि केही लाग्दैन । सम्भवतः दुई-तीन ठाउँमा निमित्त हट्दैनन् होला ।

    सर्खेतमा कार्यरत कमल दर्लामी, नेपालगञ्जमा रामकृष्ण आचार्य, धनकुटामा सुमन मिश्र तथा डोटीमा रामआशिष दास निमित्तमा कार्यरत छन् । सुमन सधै राम्रो र बढी बजेट हुने ठाउँमा जाने गर्दछन् । दास भने यतिबेला बढुवा हुने लाइनमा छन् । जनकपुरमा विनोद यादवले निमित्त भएर पनि राम्रो काम गरिरहेका छन् । ‘युपीजीले राम्रो काम गरेको÷नगरेको केही हेर्नुहुन्न । खाली अर्थ संकलनमात्र हेर्नुहुन्छ’काठमाडौं बाहिरका एक आयोजना प्रमुखले भने ।

    मिडियामा लगातार समाचार आउन थालेपछि युपीले समाचार दिने कर्मचारी खोज्न थालेका छन् । यसको जिम्मा भवन विभागमा करारमा कार्यरत पाण्डे थरका एक कर्मचारीले लिएका छन् । एक आयोजना प्रमुख भन्छन्–‘समाचार दिने मान्छे खोज्नुभन्दा आफ्नो बानी व्यवहार सुधार गरेको भए राम्रो हुने थियो ।’ ती कर्मचारी भन्छन्–‘आफ्नो विषयमा समाचार आउन थालेपछि युपीबाट मन्त्रालयका कर्मचारीहरु झनै आतकिंत हुन थालेका छन् । ठाडै सरुवा गरिदिन्छु भन्ने धम्की दिन थालेका छन् ।’

    केही महिनाअघि विभागले गरेको समीक्षा कार्यक्रममा युपीलाई भवन विभागका महानिर्देशक मच्चाकाजी महर्जनले अतिथि सरह मञ्चमा नबोलाएपछि युपी आक्रोशित भएका थिए । मच्चालाई डीजीबाटै हटाउने धम्कीसमेत उनले दिएको चर्चा भएको थियो । त्यतिबेला मन्त्रीलाई भनेर डीजीले युपीको आक्रोश साम्य पारेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार