Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकको लागि आज निर्वाचन हुँदै, बंगलादेश र नेपाल भिड्दै


    बुधबार, कार्तिक १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदको लागि आज निर्वाचन हुँदै छ । उक्त पदको लागि भारतको नयाँदिल्लीमा हुने निर्वाचनमा नेपाल र बंगलादेशले उमेदवारी यसअघि नै दिइसकेका छन् ।

    निर्देशक पदको उमेदवारमा नेपालको तर्फबाट डा. शम्भुप्रसाद आचार्य र बंगलादेशको तर्फबाट साइमा वाजिद रहेकी छन् । नेपालका आचार्य जनस्वास्थ्य क्षेत्रका विज्ञ हुन् । बंगलादेशकी वाजिद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

    २०७८ भदौ १० गतेको मन्त्रिपरिषद्को बैठकले डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा उमेदवारी दिने निर्णय गरेको थियो । यसैअनुसार डा. शम्भुप्रसाद आचार्यलाई नेपालले उमेदवार बनाएको हो ।

    अहिले डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशक भारतकी पुनम क्षेत्रपाल सिंह छन् । उनको यो दोस्रो कार्यकाल हो । २०१४ र २०१८ मा उनी उक्त पदमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनको कार्यकाल २०२४ जनवरीसम्म रहेको छ । निर्वाचित हुने नयाँ निर्देशकले २०२४ फेब्रुअरी १ देखि कार्यभार सम्हाल्नेछन् ।

    डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा ११ देश सदस्य रहेका छन् । नेपाल, श्रीलंका, भुटान, भारत, उत्तर कोरिया, टिमोर लिस्टे, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, माल्दिभ्स र म्यानमार सदस्य हुन् ।

    बुधबार हुने निर्वाचनमा जित्नको लागि नेपालको लागि ६ भोटको आवश्यकता पर्छ । एक भोट आफ्नो हुन्छ । जित्नको लागि नेपालले कम्तीमा पनि पाँच राष्ट्रलाई आफ्नो पक्षमा ल्याउनु पर्छ ।

    यसअघि, नेपालले डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा तीनपटक उमेदवारी दिएको थियो । तीनैपटक हार व्यहोर्नुपरेको थियो ।

    डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालको तर्फबाट पहिलोपटक उमेदवारी नारायण केशरी शाहले दिएका थिए । उनी पहिलो नेपाली राजदूत बिन्देश्वरी शाहका पति र बैंकर अनिल केशरी शाहका पिता हुन् । नारायण केशरी शाह निर्वाचनमा मात्र एक मतले पराजित भएका थिए ।

    नेपालले दोस्रोपटक डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा डा. मृगेन्द्र राज पाण्डेलाई उठाएको थियो । उनी पनि सफल हुन सकेनन् ।

    त्यस्तै नेपालले तेस्रोपटक डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा रिता थापालाई उठाएको थिए । थापा पूर्वपरराष्ट्रमन्त्री तथा राजदूत भेषबहादुर थापाकी पत्नी हुन् । रिता थापा पनि निर्वाचनमा पराजित भएकी थिइन् ।

    अहिले भने नेपालले उमेदवार बनाएको व्यत्ति डा. आचार्य विश्व स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम भएकोले जित्ने सम्भावना प्रबल रहेको बताइएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार