Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • घुमुवाको सेटिङमा रुपन्देहीमा व्यापक तस्करी, आईजीपीको निर्देशन एसपीले टेरेनन्


    मंगलबार, कार्तिक १४ २०८०
    4.8K
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • रुपन्देही । प्रहरीको सेटिङमा रुपन्देहीमा  व्यापक तस्करी मौलाएको छ । अन्य समयको तुलनामा चाडपर्वमा नेपालमा विभिन्न साम्रगीको माग अत्याधिक हुने गर्दछ । जसको पूर्तिका लागि तस्करहरुले प्रहरी सेटिङमा भारतबाट राजस्व छलीका सामग्री बढी भित्र्याउने गर्दछन् ।

    अहिले रुपन्देहीको मेउडिहवा, विमानस्थल पछाडिको क्षेत्र, मनैहिवा, दुर्गौलिया, कालिदह, बगाहा, बगौली, ठर्की, त्रिलोकपुर, बुचिबरवा, कदमहवा, पजरकट्टी, मर्चवार, लुम्बिनी, धकधई लगायत सीमानाकाहरुबाट खुलेआम कपडा, मोबाइल, हार्डवेयर, चिनी, मोटरपार्टस, मदिरा, खाद्यान्न लगायतका सामग्री भन्सारछली गरी प्रहरी सेटिङमा भित्रने गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका सीमा क्षेत्रका इप्रका तथा प्रहरीचौकीको सेटिङमा तस्करी भइरहेको स्रोतको दावी छ । भैरहवाको मुख्य खाद्यान्न बजार गल्लामण्डीमा तस्करीका विभिन्न सामग्री डम्प भइरहेको दिउँसै देख्न सकिन्छ ।

    ‘बोर्डर हुँदै गाउँबाट दैनिक २५÷३० वटा मोटरसाइकलमा दिनरात ठुल्ठूला कार्टुन र बोरामा सामान बोकेर लैजान्छन्, तर के लैजान्छन् थाहा छैन’, नाम उल्लेख नगरिदिने शर्तमा धकधई क्षेत्रका एक स्थानीयले भने, ‘तस्करहरुसगँ प्रहरी आफैं मिलेको छ, प्रहरीलाई तस्करीबारे भन्यो भने तस्करहरुलाई थाहा भइहाल्छ । दुश्मनीमात्र हुन्छ । त्यही भएर प्रहरीलाई भन्दैनौँ ।’ ‘अहिले यति धेरै सामान गइरहेको छ, दिनभरी पनि जान्छ तर प्रहरी समान समात्न कहिल्यै आउँदैन’ उनले थपे ।

    स्रोतका अनुसार तस्कर र प्रहरीबीचको सेटिङ जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काजमा कार्यरत घुमुवा प्रहरी सहायक निरीक्षक (असई) पवन जी.सी.ले गरिरहेका छन् । केही हप्ताअघि उनको नेपाल प्रहरी युक्ति तालिम महाविधालय कार्य शाखा जर्गाह पश्चिम नवलपरासीमा दरबन्दी कायम (सरुवा) भइसकेको छ ।

    बर्षौदेखि रुपन्देहीमा रहेर विभिन्न चौकीको इन्चार्जको रुपमा चाहारेर अधिक रकम कमाएका जीसी हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा इन्चार्जको रुपमा रही आर्थिक संकलनमा व्यस्त छन् ।जर्गाहमा सरुवा भए पनि उनी दरबन्दीमा जान मानेका छैनन् र जिल्लाका एसपी भरतबहादुर विकले पनि पठाउन खोजेका छैनन् ।

    सादा पोसाकमा गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रणमा मद्दत गर्नु घुमुवा प्रहरीको प्रमुख उद्देश्य हो । तर, उनीहरुलाई फिल्डमा खटाइए पनि आफ्नो जिम्मेवारी छाडेर प्रहरी आचरण विपरीत महिनावारी रकम असुली जस्ता कार्यमा तल्लीन हुन्छन् । तराईका जिल्लामा घुमुवा प्रहरीहरुकै कारण प्रहरी संगठनको बदनाम भइरहेको छ ।

    नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले काजमा कार्यरत प्रहरीलाई दरबन्दी पठाऊ अभियान सुरु गरे पनि रुपन्देहीका एसपी विकले अतिरिक्त आम्दानी गर्नका लागि असई जीसीलाई रमाना नदिई घुमुवामै खटाइरहेका छन् । एसपी विकले आईजीपीको निर्देशनकै अवज्ञा गरिरहेका छन् । घुमुवाहरुविरुद्ध सम्बन्धित निकायहरुमा उजुरीको चाङ हुन्छ । जिल्लामा महिनावारी असुली आतंक मच्चाइरहँदा पनि पहुँचकै आधरमा उनीहरुमाथि कुनै छानबिन र कारवाही नहुँदा भन्सारछली तस्करीले प्रश्रय पाइरहेको छ ।

    भीम रावल गृहमन्त्री हुदाँ तराईका घुमुवाहरुलाई पहाडका डाँडा कटाएका थिए । जसका कारण तराईका अपराधहरुमा कमी आएको थियो । वर्तमान आइजीपी बसन्त कुवँरले तराईका जिल्लामा बर्षौदेखि काजमा कार्यरत घुमुवा प्रहरीलाई दरबन्दी पठाऊ अभियान मधेश प्रदेशको डीआईजी हुँदा नै सुरु गरेका थिए । आईजीपी भएपछि उनले जागिर खाएदेखि बारा पर्सामा कार्यरत बरिष्ठ सई सागर राणा र विनोद सिंहलाई रामेछाप र डोटी सरुवा गरिदिएका थिए । धनुषाका घुमुवा सई बब्लुकुमार ठाकुरलाई दरबन्दीमा पठाएका थिए । तर रुपन्देहीका घुमुवा जीसीको हकमा भने आईजीपी कुँवरको निर्देशन लागू हुन सकेको छैन ।

    यस्तै चाडपर्वमा हाल भैरहवा, मणिग्राम, बुटवल, देवदहलगायत क्षेत्रमा ठूलो जुवाखाल चलिरहे पनि प्रहरीले रोक्न सकेको छैन । सूचना संकलन गर्ने प्रमुख उद्देश्यका साथ खटिएका घुमुवा प्रहरीहरुसँग जिल्लामा भइरहेका लाखौँ लाखका जुवाखालका विषयमा कुनै सूचना छैन । कतिपय स्थानमा सूचना भएपनि प्रहरीले त्यसलाई नियन्त्रण नगर्दा खालबाट प्रहरी सेटिङको गन्ध पनि आउने गरेको छ ।

    चाडपर्वको बेलामा हालसम्म प्रहरीले लुम्बिनीबाट विद्युतीय उपकरणसहित जुवातास खेलिरहेको अवस्थामा विभिन्न सामग्रीसहित तीनजनालाई मात्र पक्राउ गरेको छ । भैरहवाका ठुल्ठुला होटलसहित अन्य स्थानहरुमा निर्वाध रुपमा ठुला जुवाखालहरु संचालन भइरहेको स्रोतले बताएको छ । तिहार आएसँगै जुवाखाल झनै ठूलो हुने गर्दछ ।

    त्यस्तै सर्वसाधारणले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सकून् भन्ने उद्देश्यले रुपन्देही प्रहरीले जिल्लामा लागु गरेको चाडपर्व सुरक्षा योजनाले पनि हावा खाएको छ । आइतबार रुपन्देहीको मर्चवारमा एक व्यापारी सम्साँझै लुटिएका छन् । प्रहरीले लुटेराहरु पक्राउपनि गर्न सकेको छैन । व्यापारी श्रीप्रकाश बरईले भैरहवा बैंकबाट रकम निकालेर घरतर्फ जाँदै गरेको अवस्थामा दुई जना व्यक्तिले पेस्तोल देखाएर साढे ५ लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

    सुरक्षा योजना लागू भएको अवस्थामा पनि घुमुवा प्रहरीहरु अपराध नियन्त्रणमा केन्द्रित नहुदाँ घटिरहेको विभिन्न घटनाले पनि रुपन्देहीमा लागु गरिएको सुरक्षा योजनामाथि प्रश्न उठेको छ । रुपन्देहीका एसपी विकले जिल्लामा व्यवस्थित कमाण्डिङ गर्न नसक्दा अपराधहरु बढ्दै गएका छन् । व्यापारीको घरमा बम विष्फोट गराएर फिरौती माग्नेदेखि लिएर हतियार देखाएर रकम लुटपाटका घटना भएका छन् । चोरी, हत्या, हिंसा, बलात्कार पनि भइरहेकै छन् । तर, अपराध नियन्त्रणमा हुनसकेको छैन ।

    एसपी विकले सरुवा भएका घुमुवा जी.सी.लाई काखी च्यापेर असुलीमा व्यस्त रहँदा जिल्लाको सुरक्षा अस्तव्यस्त बनेको प्रहरीहरु नै बताउँछन् । घुमुवा जी.सी.कै कारण रुपन्देही प्रहरी बदनाम भइरहेको छ । तर, आफ््ना प्रियपात्र रहेका कारण एसपी विकले काखी च्यापिराखेका छन् ।

    यसअघि रुपन्देहीका एसपी विकले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुबेदार मेजरको रुपमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक एक्काबहादुर नेपाली (हाल प्रहरी निरीक्षक) मार्फत् जिल्ला चलाएका थिए । स्रोतका अनुसार नेपालीले आकर्षक चौकीमा इन्चार्जदेखि सिपाही पठाउनेसम्मको जिम्मा एसपीबाट पाएका थिए । सीमा क्षेत्रका चौकीमा इन्चार्ज पठाउनका लागि चौकीअनुसार १० देखि २५ हजार रुपैयाँसम्म उनले दररेट नै तोकेर असुली गरी एसपीमार्फत् आन्तरिक काजसरुवा गराउने गरेका थिए । नेपालीको इन्सपेक्टरमा बढुवा भएपछि उनी हाल नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीमा छन् । उक्त कार्यालयमा बसेर अहिले पनि उनले आफूले चाहेको ठाउँमा जिल्लामा काजसरुवा गरिदिने भन्दै तल्लो दर्जासगँ कुराकानी गर्दै जिल्ला चलाउन अनेकौं चलखेल गरिरहेको स्रोतको दावी छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको उजुरी शाखामा बसेर राम्रो कमाई गरेका सई लक्ष्मण डाँगीले पनि आन्तिरक काजसरुवामा सेटिङ मिलाएर अधिक तस्करीको क्षेत्र इलाका प्रहरी कार्यालय धकधईको इन्चार्जमा गएपछि उनले त्यहाँ आंतक नै मच्चाएको स्थानीयले बताएका छन् । उनी खुलेआम त्यहाँ तस्करी गराउन तल्लीन छन् । ‘धकधईका नाकाहरुबाट मोटरसाइकलमा खुलेआम कपडा, कुखुरा, हार्डवेयर, मोटरपार्टस् तस्करीको लाइन चलाएर डाँगीले तलबभन्दा कयौँ गुणा बढी आम्दानी गरिरहेका छन्’ स्रोतले भन्यो, ‘तस्कर संजय यादवले मात्र इप्रका धकधई, सशस्त्रको बीओपी पजरकट्टी र घुमुवा असई जीसीलाई मासिक लाखौँ रुपैयाँ लाइन दिएर ठूलो परिमाणमा दैनिक ट्याक्टरमा कवाड सीमापारी तस्करी गरिरहेका छन् । तर, पनि एसपी विक चुपचाप छन् ।’ चाडपर्वले मजदुरहरु घर गएका कारण उक्त कवाड गोदाममा केही दिनदेखि काम बन्द छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार