Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगु सामुहिक हत्याकाण्डमा शङ्कास्पद एक जना पक्राउ


    सोमबार, कार्तिक १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत। मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेर सोधपुछ जारी राखेको छ ।

    यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ। अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

    ‘कुनै ‘क्लु’ पत्ता लागेर भन्दापनि शङ्काको आधारमा सोधपुछका लागि मात्र हो, यसलाई पक्राउ भन्न मिल्दैन,’ घटनामा सक्रिय एक अनुसन्धान अधिकृतले भने । ती अधिकृतका अनुसार अहिलेसम्म घटनाको विषयमा कुनै ‘क्लु’ पत्ता लागेको छैन ।

    तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धान विशेष टोली खटिएको छ। तर, तालिम प्राप्त कुकुरले पनि कुनै सङ्केत दिन सकिरहेको छैन। आइतबारदेखि अनुसन्धानलाई सघाउन डीआईजी भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन्।

    शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

    घटना बुधबार बेलुका नै घटेको र प्रहरीले ढिला गरी थाह पाएका कारण पनि अनुसन्धानमा कठिनाइ भइरहेको अनुसन्धान सक्रिय एक अधिकृतले जानकारी दिए । शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि पाेस्टमार्टम हुन भने सकिरहेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार