विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् । पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्वखेलाडी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो ।
पलिस्थाले सन् २०१९ मा थाइल्याण्डको बैंककमा भएको १६ औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १३ वर्षीया पलिस्थाले ३० केजी तौलसमूहमा स्वर्ण जितेकी हुन् । पलिस्थाले नेपालमै विभिन्न समयमा भएको तीन फरक संस्करणको इन्डो-नेपाल मुवाँथाईंमा तीन स्वर्ण जितेकी थिइन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतको उपस्थिति थियो ।
अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई निश्चित मापदण्ड बनाएर विवादरहित ढंगले पुरस्कृत गर्नु पर्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष कक्षपतिले पूर्वखेलाडी श्रेष्ठलाई खेलाडीको हौसला बढाउने कार्य गरेकोमा धन्यवाद दिइन् ।