काठमाडौं । सहरी विकास मन्त्रालयको सचिवबाट १६ दिनअघि अवकाश पाएका रविन्द्रनाथ श्रेष्ठले असोज ११ पछि पनि मन्त्रालयमा आएर ब्याकडेटमा फाइल सदर गरे । २०८० असोज ११ मा अवकाश पाएका उनले असोज १२ मा पनि मन्त्रालयको सचिवको कार्यकक्षमा आई फाइल सदर गरेको आरोप छ । सहरी विकास मन्त्री सीता गुरुङकै सहमतिमा उनले अवकाश पाएपछि पनि मन्त्रालयमा आएर फाइल सदर गरेको आरोप छ ।
सचिव श्रेष्ठले असार र साउनमा गरेका कामहरुको पीसी असोजपछि भुक्तानी हुने भएकाले त्यसका लागि आफू अनुकूलको सचिव ल्याएका छन् । पूर्वसचिव श्रेष्ठले मन्त्री सीता गुरुङका श्रीमान दिल गुरुङ र भाइ भगिमान गुरुङसँग ठूलै रकम डिल गरेर मौसम विज्ञानका विज्ञ सर्जुकुमार बैद्यलाई सचिवमा ल्याएका छन् । मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक बैद्यलाई सहरी विकासको बारेमा केही पनि अनुभव नभएकाले आफूअनुकूल संचालन गर्न सकिने भएकाले सचिव श्रेष्ठले उनलाई ल्याएको सहरी विकास मन्त्रालयका अधिकारी बताउँछन् । सुरुमा श्रेष्ठले विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिला बज्राचार्यलाई ल्याउन खोजेका थिए । तर उनलाई आफ्नो चाहनाअनुसार संचालन गर्न नसकिने देखेपछि श्रेष्ठले सर्जु बैद्यलाई ल्याएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी विकास बुझेका र काम गरिसकेका सचिवलाई सहरीमा पठाउन खोजेका थिए । निर्णय पनि गरिसकिएको थियो । तर पूर्वसचिव श्रेष्ठले शक्तिकेन्द्रमार्फत् चलखेल गरी भइसकेको सरुवा रोकेर सर्जुकुमार बैद्यलाई ल्याउन सफल भएका छन् । सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले ५ महिना थप महानिर्देशकमा टिकिरहनका लागि पूर्वसचिव श्रेष्ठको योजनामा साथ दिएका छन् ।
पूर्वसचिव श्रेष्ठले सहरीमा सरुवा भएपछि भवन विभाग अन्तर्गतका आयोजनाबाट १५ करोडभन्दा बढीका डीपीआर(परामर्श)का काम दिएका थिए । त्यसको पीसी पनि लिन बाँकी रहेकाले उनी आफू अनुकूलको सचिव ल्याउन अवकाश अघि नै सक्रिय थिए । संसद भवन, भैंसेपाटीस्थित मन्त्री निवास, प्रदेश प्रमुख र मुख्यमन्त्री निवासका ठेकेदारहरुसँग कमिसन लिएका उनले संसद भवनको इन्टेरियरका ठेकेदारसँग पनि प्रतिबद्धता अनुसारको कमिसन लिनका लागि पर्दापछाडिबाट आफूले नै संचालन गर्नेगरी बैद्यलाई ल्याउन सफल भएका छन् ।
पूर्वसचिव श्रेष्ठले सहरी विकास मन्त्री सीता गुरूङलाई पनि प्रलोभनमा पारी बैद्यलाई ल्याउन सफल भएका छन् । सहरी विकास बुझेकाले मन्त्रीलाई उचालेर उनीहरुलाई आउन नदिने वातावरण रविन्द्रनाथले नै बनाएपछि सचिव सरुवा १५ दिन रोकिन पुगेको थियो । बैद्यलाई ल्याए आफू अनुकूल चलाउन सकिने सल्लाह मन्त्रीलाई उनले दिएका थिए । मन्त्री गुरुङ पनि सचिव श्रेष्ठकै सल्लाहमा चल्दैआएकी छन् ।
श्रेष्ठले जाँदाजाँदै ठूलो आर्थिक चलखेल गरी ठूला ठेक्कामा भेरियसन अर्डर सदर गरी लाभ लिएका छन् । श्रेष्ठले करिब ४० करोडको विभिन्न ठेक्काको भीओ गरेर गरेको मन्त्रालय स्रोतले बताएको छ । सचिव श्रेष्ठ र भवन विभागका महानिर्देशकको सेटिङमा १६ करोड भन्दा बढीको डीपीआर बनाउने जिम्मा आफ्ना निकटका कन्सलटेन्सीलाई दिइएको छ । त्यसको कमिसन उठाउन बाँकी भएको र असोजमा मात्र आउने भएकाले पनि सचिव श्रेष्ठ सिनामंगलमा बैठक राखी आफू अनुकूलको सचिव ल्याउने खेलमा लागेका थिए ।
अवकाश हुन एक महिनाअघि बिदा बस्नुपर्ने प्रचलन छ । तर श्रेष्ठले अवकाश हुने एक दिनअघि असोज ९ गते मध्यराति ४० भन्दा बढी डीई(उपसचिव)हरुको सरुवा गरे । संघीय आयोजना कार्यान्वयन इकाई, नयाँ सहर आयोजनाका डीईहरुको सरुवामा दररेट तोकेर करोडौं आर्थिक लेनदेन गरेको आरोप श्रेष्ठमाथि लागेको छ ।
रविन्द्रनाथले डीईको सरुवामा गरेको अर्थ संकलनको भागबण्डा मन्त्री गुरुङलाई पनि गरेकाले अवकाश भएपछि पनि उनलाई मन्त्रालयमा आएर फाइल सदर गर्ने छुट गुरुङले दिएको स्रोत बताउँछ । मन्त्री गुरुङको कार्यक्षमता अति कमजोर भएकाले मन्त्रीपरिषद पुनर्गठनमा पर्न सक्ने भएकाले उनी केही महिनादेखि सचिवका हरेक भ्रष्टाचारमा साथ दिएर अनियमिततामा चुर्लुम्म डुबेकी छन् ।
श्रेष्ठले दशैंभरी मैले भनेको सचिव राखिदिए असारदेखिको कामको सबै कलेक्सन आउँछ भनेर मन्त्रीका श्रीमान र दाजुलाई लगाएर घेराबन्दी गरेपछि सीता गुरुङले प्रधानमन्त्री प्रचण्डसँग करकर गरेपछि उनले भनेकै मौसम विज्ञानका जानकार वैद्यलाई सचिवमा पठाउन बाध्य भएको स्रोत बताउँछ । स्रोतका अनुसार सचिव श्रेष्ठले १० खोकाकै आश्वासन मन्त्रीका दाजु र श्रीमानलाई दिएका छन् ।
कांग्रेसका मन्त्रीहरु पार्टीको लोकप्रियता बढाउन राम्रा काम गर्नतिरभन्दा पनि आर्थिक उपार्जनमै बढी तल्लीन देखिएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतकी श्रीमती विना बुढाथोकीदेखि सहरी विकास मन्त्री सीता गुरुङका श्रीमान र भाइ पनि जसरी हुन्छ अर्थ संकलनमै केन्द्रित देखिएका छन् । परराष्ट्रमन्त्री एनपी साउदको श्रीमतीको धन्दा त सद्भावना दूत र अवैतनिक दूत बनाउने र उनीहरुलाई रातो पासपोर्ट सिफारिस गरी लाभ लिने समेत रहेको स्रोत बताउँछ । उनले कोरियामा मौसमी कामदार पठाउने भनेर दसौं करोड रुपैयाँ ठगी गर्ने रुद्रनाथ अधिकारीलाई कोरियाकै राजदूत बनाउने ध्याउन्नमा पनि उनी लागेकी थिइन् । तर रुद्रनाथको ठगी मिडियाले पर्दाफास गरेपछि एनपी साउद बालकृष्ण खाँण हुनबाट जोगिएकोमा भाग्यमानी सम्झिरहेका छन् ।
सहरी विकास मन्त्रीका श्रीमान र भाइ हरेक दिन पूर्वसचिव रविन्द्र श्रेष्ठको निवास सिनामंगलमा बसेर मन्त्रालयका सरुवा बढुवादेखि ठेक्काको सेटिङ गर्न ब्यस्त छन् । कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवाका निकट महिला नेतृहरुले गर्दा उनी समेत विवादमा पर्ने गरेकी छन् । विगतमा मञ्जु खाँणले बिहानदेखि साँझसम्म प्रहरीसँग पैसा उठाएर बस्थिन् । जसका कारण तिनै मञ्जुले पैसा लिएका प्रहरीले थुनेपछि श्रीमान बालकृष्ण खाँण जेलमा छन् ।
सहरी विकासमा सीता गुरूङले कांग्रेसनिकट कर्मचारीको नामै सुन्न नमान्ने गरेको गुनासोसमेत पार्टीमा पुगेको छ । कांग्रेसनिकट कर्मचारीले अनियमितता गरेको सूचना नेताहरुकोमा पुर्याउँछन् भन्दै उनले उनीहरुलाई मन्त्रालयमा नजिक राख्न नचाहेको आरोप छ ।
सचिव श्रेष्ठ सडक विभागको महानिर्देशकदेखि भौतिक पूर्वाधार र सहरी विकासमा सचिव हुँदा ठेक्का सेटिङ गरी अकूत सम्पत्ति आर्जन गरेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरी परे । अख्तियारले उनलाई १३ पन्ने पनि भराइसकेको छ । तर उनको अकूत सम्पत्ति पुष्टि भए पनि मुद्दा दर्ता गर्न भने बिलम्ब गरिरहेको छ ।
केपी ओलीका निजी सचिव राजेश बज्राचार्यले समेत प्रमिलालाई सहरी विकास मन्त्रालयमा लान रविन्द्रलाई साथ दिएका छन् । एक कांग्रेस नेताका अनुसार मन्त्री कांग्रेसका छन्, तर मन्त्रालय बालकोटबाट संचालित छन् । सचिवमा बालकोटका भित्रीया लगेपछि कसरी कांग्रेसका मन्त्री सफल हुन्छन् ? रविन्द्र श्रेष्ठलाई बालकोटले नै सडक विभागको महानिर्देशक र भौतिक पूर्वाधार सचिव बनाएको थियो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend