भक्तपुर । यातायात कार्यालय, कर कार्यालय, स्थानीय निकाय, मालपोत र अन्य जनसम्पर्क हुने कार्यालयमा कर तिर्न जाने नागरिकलाई विना झन्झट सेवा दिनुपर्ने हो । तर राज्यलाई कर तिर्छु भन्दा पनि सास्ती बेहोर्न नागरिक विवश छन् । कोभिड–१९ को महामारीमा जनसम्पर्क हुने कार्यालयमा भीडभाड कम होस् भनेर सरकारले टोकन सिष्टम लागू गरेको छ । टोकन सिष्टमबारे जनसमुदायमा यथेष्ट सूचना प्रवाह नभएकाले यातायात कार्यालय सल्लाघारी भक्तपुरमा आफ्नो सवारीको बिलबुक नवीकरण गर्न आएका सेवाग्राहीहरु फर्किन बाध्य हुने गरेका छन् । बिहानदेखि लाइन बसेकाहरु पनि टोकन नपाएपछि फर्किनुपरेको छ । कर तिर्नका लागि जाँदा समेत फर्किनुपरेको गुनासो काठमाडौं शंखमूलका रामप्रसाद शर्माले गरेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण लामो समयसम्म बन्दाबन्दी भयो । त्यहीकारणले अहिले प्रायः सबै जनसम्पर्क हुने यातायात, मालपोत जस्ता कार्यालयहरुमा भीडभाड छ । यातायात ब्यबस्था विभागको कार्यालय भक्तपुर सल्लाघारीमा सवारी साधनको कर तिर्न बिहानदेखि लाइन बस्दा पनि टोकन नपाएर घर फर्किन परेको सेवाग्राही बताउँछन् । असोजको अन्तसम्म कर नतिरे सेवाग्राहीले जरिवाना तिर्नुपर्छ । कर तिर्न नै सेवाग्राहीले २–३ दिन धाउनु नपर्ने गरी जनशक्तिको ब्यवस्थापन गरी सहजीकरण गर्नुपर्ने यातायात कार्यालयमा बिहानै आएर लाइनमा बसेका सातदोबाटोका श्याम डंगोल बताउँछन् ।
यातायात कार्यालय भक्तपुरले एकदिनमा जम्मा २ सय ६० जना सेवाग्राहीलाई मात्र टोकन बाँडेर बाँकी सेवाग्राहीलाई फिर्ता पठाउने गरेको छ । लामो समयको बन्दाबन्दीका कारणले सेवाग्राहीको चाप बढेकोले टोकन संख्या बढाएर २ सय ६० पुर्याएको यातायात ब्यबस्था कार्यालय सल्लाघारीका प्रमुख बिमल भट्टराई बताउँछन् । सेवाग्राहीको चाप बढ्दै गएकोले बैंकले अरु बढी समयसम्म कार्यालय खोलिदिएमा कर तिर्न आएका सेवाग्रहीलाई सहज हुने उनको भनाइ छ । कार्यालयको चाहना पनि धेरै सेवाग्राहीलाई सेवा दिनु नै भएकोले आफूहरु सकेसम्म सेवा लिन आएका सबैलाई समयमै सेवा दिन लागिपरिरहेको भट्टराई बताउँछन् ।