Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष बुढाथोकीले सम्पादकको जिम्मेवारी छाडे


    बुधबार, असोज १४ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • ८ मिनेट पाठ
  • काठमाडौं । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी साँघु साप्ताहिकको सम्पादकको जिम्मेवारीबाट अलग भएका छन् । प्रेस काउन्सिल नेपालको अध्यक्ष कुनै पनि पत्रिकाको सम्पादक हुनु नहुनेआवाज उठिरहेकाले उनले सम्पादकबाट अलग भएको उल्लेख गर्दैै बुधबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुढाथोकीको प्रतिबद्धतापत्रमा पत्रिकाको सम्पादकमा नरहने उल्लेख छ । साथै संघ–संगठनबाट पनि अलग भएको घोषणा गरेका छन् ।

    बुढाथोकीको प्रतिबद्धतापत्रमा उल्लेख छ–प्रेस काउन्सिल नेपालको अध्यक्षको नियुक्तिको विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको र कार्यवाहक अध्यक्षले राजीनामा दिइसकेको अवस्थामा विगतको नजीर, निर्णय र अभ्याससमेतका आधारमा अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष र अध्यक्षसरह अधिकारको प्रयोग र कर्तव्यको निर्वाह गर्न मलाई अधिकार प्रत्यायोजन गर्न २०७७ असोज ९ को काउन्सिल बोर्ड बैठकले सर्वसम्मत निर्णय गरेको छ । सोहीअनुसार म पदमा बहाल रहेको कुरा सर्वविदितै छ । म पदमा बहाल रहेको अवस्थामा नेपाली पत्रकारिता जगतको स्वतन्त्रता, स्वायत्तता, स्वच्छ, स्वस्थ व्यवसायिकता र श्रीवृद्धिका लागि तथा यस संस्थाको स्वायत्तताको रक्षा र कामकारबाही चुस्त–दुरुस्त बनाउन संस्थागतरूपमा र व्यक्तिगतरूपमा निम्न प्रतिबद्धताहरू व्यक्त गर्दछुः

    साथै प्रेस काउन्सिल नेपालबाट हुने सञ्चारमाध्यमको नियमन प्रभावकारी बनाउन तथा सञ्चारक्षेत्रलाई जनउत्तरदायी बनाउन सम्बद्ध व्यक्ति संस्था र सरोकारवाला सबैलाई विशेष अनुरोध गर्दछु ।

    सम्पादकमा नरहने, सङ्घ–सङ्गठनबाट अलग 

    – सर्वप्रथम म यस संस्थाको कार्यवाहक अध्यक्ष बहाल रहुञ्जेल म कार्यरत रहेको साँघु साप्ताहिकको सम्पादक पदमा नरहने जानकारी गराउँदछु । साथै यस पदमा बहाल रहुञ्जेल कुनै पनि सञ्चारमाध्यमको सम्पादकको भूमिकामा नरहने प्रतिबद्धता व्यक्त गर्दछु ।

    – पदमा बहाल रहुञ्जेल कुनै पनि राजनीतिक दलको सदस्य नरहने, त्यस्तै पेसागत संघ–संगठनको सदस्यबाट समेत अलग रहने छु ।

    मितव्ययी कार्यप्रणालीको अवलम्बन

    – कार्यवाहक अध्यक्षका रूपमा मैले र काउन्सिल बोर्डले प्रेस काउन्सिल ऐन–नियम, विनियम, निर्देशिका, कार्यविधि, पत्रकार आचारसंहिताको परिधिभित्र रहेर निष्ठापूर्वक कार्य गर्ने÷गराउने जानकारी गराउँदछु ।

    – विशेष काम र परिस्थितिबाहेक कार्यदिन र कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग गरिने छैन । सार्वजनिक बिदाको दिन कार्यालयको कामबाहेक सवारी साधन र अन्य सेवा प्रयोग गरिने छैन । सार्वजनिक बिदाको दिन कार्यालयको साधन प्रयोग गर्दा प्रयोजन स्पष्ट उल्लेख गरी अभिलेखपश्चात् प्रयोग गरिने छ । कार्यवाहक अध्यक्षका हैसियतमा प्राप्त सेवा सुविधा र खर्च (इन्धनलगायत) सकेसम्म कटौती गरी मितव्ययी बनाउन प्रयत्न गर्नेछु ।

     सुशासन र समृद्धिको लागि सञ्चार

    “सुखी नेपाली, समृद्ध नेपालका लागि स्वतन्त्र, स्वच्छ, स्वस्थ, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल” नेपालको अग्रजहरूको अभियानलाई थप प्रभावकारीरूपमा अघि बढाइनेछ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई आत्मसाथ गरी कामकारबाही गरिनेछ ।

    आजको काम आजै, टाढाको लागि प्राथमिकता

    – प्रेस काउन्सिलबाट प्रवाह हुने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन उपत्यकाबाहिर टाढा–टाढा बाट आउने सेवाग्राही (विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमबाट आउने) लाई विशेष प्राथमिकता दिइनेछ । प्रक्रिया पुगेको अवस्थामा आजको आजै (सोही दिन) वा २४ घण्टाभित्र काम फत्ते गर्नेगरी व्यवस्था मिलाइनेछ । काउन्सिलको कार्यसम्पादन थप मितव्ययी तथा पारदर्र्शी बनाइनेछ ।

    समन्वयात्मक तरिकामै कार्य

    – प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता निर्माण गर्ने, अनुगमन गर्ने र आचारसंहिता विपरीत भएका काममा सचेत गराउने, कारबाही गर्ने संस्था पनि भएको हुँदा नेपालमा सञ्चालित विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट सामग्री सम्प्रेषण गर्दा व्यावसायिक हितको रक्षा, सामाजप्रति उत्तरदायी बहन र सामाजिक मर्यादाभित्र रहेर सम्प्रेषण गर्न आग्रह गर्दछु । 
    – पत्रकारिता क्षेत्रको बृहत्तर हितका लागि प्रेस काउन्सिल नेपालका अग्रज, नेपाल पत्रकार महासंघ, विभिन्न पेसागत संघ–संगठन, यस क्षेत्रका प्राज्ञिक एवं बौद्धिक व्यक्तिहरू र नेपाल सरकारसँग छलफल, सल्लाह–सुझावका साथै आवश्यक समन्वय गरेर अगाडि बढिनेछ ।

    नीतिगत व्यवस्थाको लागि पहल

    – पत्रकारिताको परिभाषाभित्र नपर्ने, पत्रकारिताको नाममा कतिपय युट्युबबाट समाजमा उच्छृङ्खलता प्रदर्शन गर्ने, सामाजिक मर्यादाभन्दा बाहिर रहेर व्यक्तिगत, पारिवारिक जीवनमा प्रवेश गरेर सामाजिक सद्भावमा खलल पु¥याउने र समाजमा पत्रकारिताको नाम लिएर अराजकता फैलाउने अनलाइन टेलिभिजन (युट्युब) च्यानल)हरू नियमन र व्यवस्थित गर्न काउन्सिललाई क्षेत्राधिकार नभएको र यसको नियमन गर्न नीति–नियम नभएको हुँदा तत्काल नीति–नियम बनाएर व्यवस्थापन गर्नका लागि नेपाल पत्रकार महासंघ, सम्बन्धित संस्था तथा विभिन्न विज्ञहरूसँग समन्वय गरी सरकारलाई आग्रह गरिनेछ ।

    – देशभर सञ्चालित अनलाइन र तिनबाट सम्प्रेषण हुने सामग्रीलाई अझ व्यवस्थित, जनउत्तरदायी र पत्रकार आचारसंहिताको मर्मअनुरूप गराउन ती सञ्चारमाध्यमको वस्तुस्थिति तथा संरचनाबारे सर्भेक्षण गरी उनीहरूको अवस्था, सम्प्रेषित सामग्रीको प्रभाव, आचारसंहिता पालना, सामाजिक उत्तरदायित्व बहन लगायतका आधारमा श्रेणी निर्धारण गर्न सरोकार पक्ष र सम्बन्धित विज्ञहरू सम्मिलित बैठक÷छलफलबाट समयसापेक्ष कार्यविधि बनाई निश्चित मापदण्डका आधारमा श्रेणी तोकी सहजीकरण एवं यसबारे बजेटमा उल्लेखित विषयको मूर्तरूपमा कार्यान्वयनको लागि पहल गरिनेछ ।

    पेसागत शुद्धिकरण

    – पछिल्लो समय पत्रकारको नक्कली परिचयपत्र बनाएर अथवा पत्रकारको परिचयपत्र भिरेर निजी स्वार्थका निम्ति पेसाको बदनाम गर्ने प्रवृत्ति बढेको देखिएको छ । पत्रकारको रूपमा पेसागत तथा व्यावसायिक मर्यादाभन्दा बाहिर गएर विभिन्न सौदाबाजी गर्ने, धाकधम्की दिने, गुण्डागर्र्दी गर्ने, समाचार तथा विभिन्न श्रव्यदृृष्य सामग्रीको दुरुपयोग गरी समाज भड्काउने पात्र र प्रवृत्तिको नियमन तथा नियन्त्रण आवश्यक देखिएकाले नेपाल पत्रकार महासंघ, विभिन्न पेसागत संघ–संगठन, सुरक्षा निकाय समेतको समन्वयमा पेसागत शुद्धिकरणका लागि आवश्यक कदम चालिनेछ । समाजमा देखिएका यस्ता प्रवृत्तिविरुद्ध काउन्सिलमा तत्काल उजुरी गर्न आम सर्वसाधारण तथा जिम्मेवार व्यक्तिलाई अपील गर्दछु । यस्ता उजुरीमाथि तत्काल सुनुवाई तथा कारबाही हुनेछ । उजुरीको प्रकृतिअनुसार उजुरीकर्ताले चाहेमा गोपनीयता सुरक्षित गर्ने गरी व्यवस्था मिलाइनेछ ।

    आचारसंहिता अनुगमन र बर्गीकरण

    – हामी पत्रकार आचारसंहिता पालनामा सचेत र संवेदनशील नबन्दा भएका कमिकमजोरीका कारण पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै पत्रकार आचारसंहिता (संशोधन–२०७६)को प्रभावकारी अनुगमन र  पूर्णरूपमा पालना गर्र्ने÷गराउनेतर्फ प्रयास गरिनेछ ।

    – हाल यथास्थितिमा रहेको आ.व. ०७५-०७६ को पत्रपत्रिका वर्गीकरणको कार्य यथाशीघ्र सम्पन्न गर्न पहल गरिनेछ ।

    – सामाजिक सञ्जाल सूचना सम्प्रेषणको माध्यम बनिरहेको सन्दर्भमा यसको सही प्रयोग सबैको कर्तव्य नै हुने हुँदा यसतर्फ ध्यान आकृष्ट गर्न चाहन्छु । त्यस्तै पत्रकार र सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरू सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने व्यवस्था प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन–२०७६) को ४ (६) मा उल्लेख भएकोले सोहीअनुसार पत्रकार आचारसंहिताको पालना गर्न आव्हान गर्दछु ।

    पारिश्रमिकको निश्चित प्रतिशत सामाजिक सेवामा  

    – पदमा बहाली रहँदा आफूले प्राप्त गर्ने सुविधा पारदर्शी बनाउँदै पारिश्रमिकको १० प्रतिशत सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति÷संस्थाको लागि उपलब्ध गराइने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार