काठमाडौं, १८ चैत । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–५ आरुखर्कका सञ्जय श्रेष्ठ क्वारेन्टाइनमा बस्न मानेका छैनन् । उनी आएको गाडीमा रहेका एक व्यक्ति कतार एयरबाट आएका थिए । जुन व्यक्ति अहिले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको क्वारेन्टाइनमा छन् । उनैसँग काठमाडौंबाट भोजपुरसम्म पुगेका थिए श्रेष्ठ । तर उनी क्वारेन्टाइनमा नबस्दा स्थानीयबासीहरु चिन्तित बनेका छन् ।
गत चैत ४ गते कतार एयरवेजबाट नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यस विषयमा गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालसँग सम्पर्क गर्दा उनलाई समेत उक्त परिवारले आफूलाई केही नभएको बताएको छ । फोन सम्पर्कमा क्वारेटाइनमा बस्न आग्रह गर्दा नमानेपछि उपप्रमुख ढकाल नै घरमा पुगेर जानकारी लिन लागेको प्रतिक्रिया दिइन् । श्रेष्ठको घरमा पैदल जानका लागि दुई घण्टाको फरकमा छ । आफ्नै वडाको घटना भएकाले चासोका साथ आफूले लिएको र क्वारेन्टाइनमा राख्न लागिपर्ने बताइन् ।
स्याङ्जाको बिरुवा गाउँपालिका वडानम्बर–४ ओरष्टे थानगैराका कुवेत हुँदै दुवईबाटै आएका देवराज विश्वकर्मा क्वारेन्टाइनमा बस्न मानेका छैनन् । जसका कारण उनका वरिपरिका छिमेकीहरु कोरोना सर्ने त्रासमा छन् । उनलाई रुघा खोकी र ज्वरो पनि आएको छ । तर उनी क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन् ।
बिरुवा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष थमनप्रसाद गुरुङले विश्वकर्मा क्वारेन्टाइनमा बस्न नमानेको बताए । उनले भने–‘उनी विदेशबाट आएको र ज्वरो र रुघा लागेको छ भन्ने कुरा आएपछि मैले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरें, तर उनले सामान्य रुघाखोकीमात्र हो भनेर मान्दैमानेनन् । स्वास्थ्यचौकीका प्रमुख र प्रहरीलाई भनेको छु, उहाँहरु भोलि आउने कुरा भएको छ । त्यसपछि क्वारेन्टाइनमा राख्ने प्रबन्ध हुन्छ होला ।’
बिरुवा गाउँपालिकाले निकालेको विदेशबाट फर्कनेको सूचीमा विश्वकर्माको नाम समेत छैन । गाउँपालिकाको यस्तो लापरबाहीले गर्दा बिरुवाको ४ नम्बर वडाबासी त्रसित भएका छन् ।
बिरुवाको मात्र होइन, सर्वोच्च अदालतको आदेश अनुसार २०७६ फागुन १९ बाट अन्तर्राष्ट्रिय उडान बन्द नगर्दा विदेशबाट आउनेको ताँती अहिले देशका सहरदेखि गाउँ गाउँसम्म पुगेकाले पनि कोरोना संक्रमणकोे त्रास झन् बढेको छ ।
सरकारले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्नका लागि पटक पटक अनुरोध गरेको छ । तर पालना नै नगरी अटेर गर्दैआएका छन् । बागलुङकी पाँचौं संक्रमित युवती कतारबाट चैत ४ मा आए पनि उनी चैत १५ सम्म निर्धक्क बजार घुमिन्, टोल घुमिन् । चैत १५ मा मात्र उनलाई ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको छ ।