काठमाडौं । सोमबार वीर अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । ती दुवैको मृत्यु भएपछि कोरोना आशंकित भनेर समाचार ब्रेकिङ गर्न अनलाइनहरुमा होडबाजी चल्यो ।
मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला हुन् । युवतीलाई सोमबार बिहान अस्पताल ल्याइएको थियो । ती दुबैमा कोरोना संक्रमण भएको हो कि होइन भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । तर प्रयोगाशालाबाट रिपोर्ट नआउँदै कोरोना आशंकित भनेर प्रचार गरिएको छ ।
वीर अस्पतालका एक चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने–‘निमोनियाले पनि मानिस मर्नसक्छ । तर यहाँ त जेमा पनि मृत्यु हुनासाथ कोरोना संक्रमण भएको भनेर आतंकित बनाउने होडबाजी चलेको छ । यस्तो महामारीको बेलामा यस्ता समाचार पुष्टी भएपछि राख्दा नै राम्रो हुन्थ्यो । रिपोर्ट आएपछि पोजेटिभ देखिएपछि समाचार बनाउँदा भइहाल्छ । रिपोर्ट नै नआई कोरोनाका कारण मृत्यु भनेर समाजमा त्यत्तिकै त्रास उत्पन्न गराउने काम भएको छ । मृतकका परिवारदेखि समाजमै भय फैलिन पुग्छ भन्ने कुरामा कति पनि हेक्का राखेको पाइएन ।’
त्यस्तै सोमबारै पाटन अस्पतालमा एक बिरामीको मृत्युलाई पनि कोरोनाकै कारण भएको जस्तो गरी समाचार सम्प्रेषित गरिएको छ । समाचार ब्रेक गर्ने नाममा अरु रोगले मृत्यु भएका बिरामीलाई पनि कोरोना आशंकित भन्दा मृतकका परिवारलाई समाजले कसरी हेर्छ ? यो पक्षमा कसैले पनि ध्यान पु¥याउन नसकेको वीरका चिकित्सकको भनाइ छ ।
आइतबार बुटवलको कोरोना अस्पतालमा मृत्यु बरण गरेका युवाको पनि रिपोर्ट नेगेटिभ आएको छ । उनको मृत्यु कोरोनाका कारण नभए पनि आइतबार मिडियामा भने कोरोनाकै कारण भएजसरी प्रचार भयो ।