Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल–चीन सीमा विषयमा टिप्पणी गर्न सरकारले हतार गरेको कांग्रेसको आरोप


    बिहिबार, असोज ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल-चीन सीमाका विषयमा सरकारले हतार गर्दै टिप्पणी गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल-चीन सीमामा रहेको ११ नम्बर पिल्लर भेटाउनुपूर्व नै चीनले नेपालको भूमि नमिचेको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । 
     
    परराष्ट्रको सोही कदमलाई लक्षित गर्दै कांग्रेसले सीमा मिचिएको/नमिचिएको यकिन नभैकन नै विज्ञप्ति जारी गरेकोमा असन्तुष्टि जनाएको हो । 
     
    बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ, ‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ।’ 
     
    सरकारको जिल्ला स्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्ने सरकारको कदममा कांग्रेसले प्रश्न उठाएको हो ।  
     
    ‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन’, विज्ञप्तिमा भनिएको छ । 
     
    कांग्रेसले आफ्नो  पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययन गरिरहेको समेत जनाएको छ । 
     
    सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुनु पर्नेमा कांग्रेसले जोड दिएको छ । 
     
    ‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।’
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार