Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंको फोहोर विसर्जनमा आज पनि अवरोध, स्थानीय बिहानैदेखि सडकमा


    मंगलबार, साउन २ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध कायमै छ । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा आज पनि अवरोध गरिएको हो ।

    मंगलबार पनि बिहानैदेखि आक्रोशित स्थानीयवासी फोहोर फाल्न नदिने भन्दै सडकमा उत्रिएका छन् । आन्दोलनरत उनीहरूले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न नदिन बाटो छेकेका प्रहरीले जनाएको छ । स्थानीयले बिहानैदेखि विरोध शुरू गरेपछि फोहर लिएर गएका गाडी रोकिएका हुन् ।

    हिजोदेखि पुनः स्थानीय आन्दोलित भएका हुन् । नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासीले फोहोर बोकेका गाडीलाई बाटो बन्द गरेका छन् ।

    “स्थानीयवासी बिहानैदेखि सडकमा आएर बाटो बन्द गरेका छन् । सडकमा यति बेला बन्दकर्ता १०/१२ जना देखिएको छ,” नुवाकोट प्रहरी स्रोतले भन्यो, “आज काठमाडौंबाटै फोहोर बोकेका गाडी यता आएका छैनन् ।”

    धुनीबेँसी–१ र ककनी–२ को सीमामा पर्ने पुलमा स्थानीयले अवरोध गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार फोहोर बोकेर हिजो त्यसतर्फ गएका गाडी त्यहीँ सडकछेउमा पार्किङ गरेर राखिएका छन् । फोहोर बोकेका ५०/६० गाडी त्यसरी पार्किङ गरेर राखिएका प्रहरीले जनाएको छ ।

    “बन्दकर्ता भएका ठाउँमा फोहोरका गाडी छैनन् । बन्दकर्ता रहेका स्थानभन्दा ५०० मिटरजति परबाट सडकछेउमा गाडी पार्किङ गरिएको छ,” प्रहरी स्रोतले भन्यो ।

    स्थानीय आफैँ सडकमा उत्रिएर काठमाडौंबाट गएका फोहोर बोकेका गाडीलाई अघि बढ्न नदिएको धुनीबेँसी–१ का वडाध्यक्ष मानबहादुर तामाङको भनाइ छ ।

    संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार