Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास जग्गा प्रकरण: मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा


    मंगलबार, असार १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदन आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको छ ।

    मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारेको हो ।

    यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

    इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

    उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । उनीहरु बिरामी भनेर हाल व्यूरोकै निगरानीमा अस्पताल भर्ना भएका छन् ।

    डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन अधिकृतद्वय सुरेन्द्रमान कपाली र हुपेन्द्रमणी केसीलाई पनि व्युरोको टोलीले पक्राउ गरेको थियो । तर यी तीनै जनाले अदालतको अन्तरिम आदेश देखाएपछि प्रहरीले उनीहरुलाई रिहा गरेको थियो । यद्यपि, प्रहरीले यसका विरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार