Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मृत्यु मृत्यु छ सर्वत्र तर कसैमा डर छैन


    सोमबार, चैत्र १७ २०७६
    1.2K
    Shares
  • ७ मिनेट पाठ
  • किशोर सापकोटा, लुईभेल, अमेरिका
    आफन्त र साथीहरुले आजकल धेरै सम्झिन थालेका छन् । सम्झिने कतिपय आफन्तहरु त जीवनमा एकपटक कुराकानी समेत नभएका पनि हुन्छन् ।

    सवैको एउटै प्रश्न छ, अमेरिकामा त कति धेरै मानिसहरु मरे भन्छन् नि, तिमीहरुलाई त केही भएको छैन नि ?

    मेरो उत्तरले कोही कोही सन्तुष्ट हुंँदैनन् होला या उनीहरुको मनमा मैले उत्तर दिंदा कसैलाई बिर्सिएँ कि भन्ने पर्दाे हो । परिवारका सवै सदस्यको नाम नै लिएर सोध्छन्, फलानोलाई ठीक छ नि ? फलानोलाई ठीक छ नि ?

    आजकल मेरो काखमा ल्यापटप र कानमा फोन छुट्दैन । ल्यापटपवाट लिएको जानकारी टेलिफोनबाट बाँड्छु । अलिअलि लेख्छु । (दुई दिन लेखिनँ, अमेरिकामा २ सय जना मानिस मरेको दिनलाई नै त्रासदीपूर्ण भनेर लेखेको थिएँ, पछिल्ला दुई दिनमा त पाँच, पाँच सय मानिस मरे, के भनेर लेख्नु ?)

    आफन्तहरुको चिन्ता र चासो स्वभाविक पनि हो । पछिल्लो हप्ता, हरेक दुई दिनमा मर्नेहरुको संख्या दुगुना भएर गएको छ ।

    जनवरी ११, २०२० मा कोरोना भाइरसको संक्रमणबाट पहिलो व्यक्तिको निधन भएको थियो । आज ७८ दिन वित्दा विश्वभरमा ३३ हजार ९ सय २५ जनाको निधन भइसकेको छ । सरदरमा आँकडा निकाल्दा विश्वमा हरेक दिन ४ सय २४ जना मानिस कोरोना संक्रमणका कारण मरिरहेका रहेछन् । कोरोना भाइरसको संक्रमणको कारण मर्नेहरुको संख्या सुरुवाती दिनमा न्यून हुने गरे पनि पछिल्ला दिनमा गुणात्मक रुपले बढिरहेको छ । पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक पाँचसयको हाराहारीमा मानिसहरु मरिरहेका छन् । यो क्रम विकराल बन्दै जाने देखिएको छ ।

    यस्तो महामारीमा आफन्त र साथीहरुले नसम्झिए कहिले सम्झिनु त ?

    बाहिरी दुनियाँमा बस्दा धेरैलाई लाग्दो हो, यो कोरोनाको फूर्ति केही दिनको लागि त होला नि ? कहाँ सक्छ र अमेरिकालाई ? अमेरिकाभित्र बसेर हेदौ तस्वीर फरक छ ।

    अव के गर्ने ? कसरी यो समस्यालाई सम्वोधन गर्ने ? कुनै ठोस नीति, कार्यक्रम र तत्परता सरकारसँग छैन । ट्रम्प प्रशासन जे गरिरहेको छ, टालटुल मात्रै गरिरहेको छ । सानातिना राहत प्याकेजमा अल्झिएको छ । अहिले पनि कुन कुन राज्यमा डेमोक्रेटिक पार्टीका गभर्नरहरु छन् र तिनीहरुलाई कसरी साइजमा ल्याऊँ भनेर गृहकार्यमा अल्झिएको छ । गभर्नरहरुलाई सहयोग गर्ने भन्दा पनि इवी साँध्न उद्यत छ ।

    न्यूयोर्क अहिले कोरोना भाइरसको केन्द्रविन्दु बन्दै गएको छ । अमेरिकाको आर्थिक नगरी ठप्प छ । न्यूयोर्क कहिल्यै सुत्दैन भन्ने आहान बदलिएर न्यूयोर्क अब उठ्दैन भन्नुपर्ने अवस्थामा पुगिसकेको छ । तर राष्ट्रपति ट्रम्पले न्युयोर्कका लागि आवश्यक भेन्टीलेटर समेत किनिदिएका छैनन् । न्युयोर्कका अस्पतालमा दुई जना विरामीका लागि अहिले एउटा भेन्टीलेटर चलाउनु परेको छ । स्वास्थ्यकर्मीहरुलाई यथेष्ट पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई)हरु छैनन्, एउटा मास्कले पूरै सिफ्ट वा केही दिन चलाउनुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा काममा जानुपर्दा स्वास्थ्यकर्मीहरु त्रासले डिप्रेसनमा जान थालेका छन् । स्वास्थ्यकर्मीहरु जागिर छाडिरहेका छन् । राष्ट्रपति ट्रम्प भने कहिले मिचिगनका गभर्नरसँग सिंगौरी खेल्न त कहिले बेलायतवाट राजगद्दी त्यागेर क्यानाडा हुँदै अमेरिका आइपुगेका ह्यारी र मेगेनलाई चेतावनी दिन व्यस्त हुन्छन् ।

    यतिबेला अमेरिकामा सवैभन्दा प्रेसरमा भएका मानिसहरु भनेका स्वास्थ्यकर्मी हुन्, कोरोनाबाट आफन्त गुमाएका परिवारजन हुन् र उनीहरुको भन्दा एक तह कम प्रेसरमा भएका व्यक्तिहरु भनेका राज्यका गभर्नरहरु र सिटीका मेयरहरु हुन् । प्रकोप बढ्दै जाँदा र पीपीईको अभाव हुंदै जाँदा रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले पनि शायद सरकारी दबाबमा परेर चिकित्सकहरुले अपनाउनुपर्ने सावधानीको मापदण्डलाई पनि फेरिदिंदा स्वास्थ्यकर्मीहरु झन् जोखिममा परेका छन् ।

    धेरै स्वास्थ्यकर्मीहरुले आफ्ना पीडालाई सामाजिक सञ्जाल मार्फत् रुंँदै व्यक्त गरेका छन् । काम गरिरहँदा कतिपय नर्स र डाक्टरहरु आफूलाई सम्हाल्न सक्दैनन् र बाथरुममा पसेर रुन्छन् । केहीबेरमा सुन्निएका आँखा लिएर फेरि बिरामीको सेवामा जुट्छन् । कोरोना संक्रमणको कारण मृत्युवरण गरेका व्यक्तिका आफन्तहरु परिवारको सदस्यको अन्त्येष्टिमा सहभागी हुन पाएका छैनन् । कोरोना संक्रमण भएर मृत्युवरण गरेका व्यक्तिहरुको शवलाई ३ दिनसम्म अस्पतालमा नै राख्नुपर्ने नियम छ र त्यसपछि अन्त्येष्टिमा एकदम कम मानिसहरु सहभागी हुने गरी र संक्रमण नफैलाउने गरी परिवारलाई शव त दिने नियम त छ तर परिवारको सदस्य नै कोरोना संक्रमणको कारण मृत्यु भएका कारण परिवारका अधिकांश सदस्य सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियमले गर्दा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । परिवारको सदस्य विरामी हुँदा न त अस्पतालमा कुरुवा वस्न पाइन्छ, न त दाहसंस्कारमा सरिक हुन सकिन्छ । मृत्यु कति भयानक भइरहेको छ आजकल ।

    सुन्दा कहाली लाग्दो लागे पनि अहिले पनि सरसर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो त छैन । आज दिउँसो म बस्ने शहर लुइभेलको एउटा वालमार्टमा छिरें । वालमार्टमा यो भयावह अवस्थाको छायाँ कतै पनि देखिएन । अनुहारमा मास्क लगाएका मानिसहरु सयमा एक पनि थिएनन् । जति आह्वान गरे पनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन । न त रजिष्टरमा वस्नेहरुले मास्क लगाएका छन् न त सामान्य पञ्जा नै । धेरै मानिसहरुले छुने भएकोले सामान हाल्ने कार्टको हेन्डिल पुस्न प्रत्येक वालमार्टका प्रवेशद्वारमा वाइप्सहरु राख्ने गरिएको हुन्छ तर आज वाइप्स पनि थिएन । मानिसहरुले वास्तै नगरी कार्टहरु ठेलिरहेका थिए । कोरोनाको प्रभाव केवल केही आयल्सहरुमा परेको छ, अझै पनि ट्वाइलेट पेपर र हेन्ड सेनेटाइजरहरुको भने अभाव छ । अरु बजार सामान्य भइसकेको छ ।

    म फर्कदै गर्दा मेरो सव डिभिजनभित्र धेरै घरहरुमा बार्बीक्यू पार्टी चल्दै थियो । न त कसैलाई कोरोना संक्रमणबाट मर्नेको परिवारमा के बितिरहेको छ भन्ने चिन्ता छ, न त यो विपत्तिमा स्वास्थ्यकर्मीहरुले कसरी काम गरिरहेका छन् भन्ने चासो छ, न त अन्य देशहरुमा झै स्वास्थ्यकर्मीहरुको प्रशंसामा बेलुका ताली वजाउन नै कोही जुटेका छन् । साँझमा फेसबुक हेरे, धेरै साथीहरुले आफूले खान तयार गरेका मिष्ठान्न भोजनका तस्विरहरु शेयर गरिरहेका थिए । टेलिभिजन स्क्रीनमा अझै पनि मानिसहरुलाई समुद्रीतटमा जान नदिन सुरक्षाकर्मीहरुले गर्नुपरेका संघर्षका फुटेजहरु आइरहेका थिए । यस्तो लाग्यो, जताततै मृत्यु मृत्यु हुँदा पनि मानिसको मनमा अझै भय छैन । नत्र सरकारले भनेको किन मान्दैनन् ?

    पत्रकार सापकोटाले सोमबार बिहान सामाजिक संजाल फेसबुकमा राखेको बिचार ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार