किशोर सापकोटा, लुईभेल, अमेरिका
आफन्त र साथीहरुले आजकल धेरै सम्झिन थालेका छन् । सम्झिने कतिपय आफन्तहरु त जीवनमा एकपटक कुराकानी समेत नभएका पनि हुन्छन् ।
सवैको एउटै प्रश्न छ, अमेरिकामा त कति धेरै मानिसहरु मरे भन्छन् नि, तिमीहरुलाई त केही भएको छैन नि ?
मेरो उत्तरले कोही कोही सन्तुष्ट हुंँदैनन् होला या उनीहरुको मनमा मैले उत्तर दिंदा कसैलाई बिर्सिएँ कि भन्ने पर्दाे हो । परिवारका सवै सदस्यको नाम नै लिएर सोध्छन्, फलानोलाई ठीक छ नि ? फलानोलाई ठीक छ नि ?
आजकल मेरो काखमा ल्यापटप र कानमा फोन छुट्दैन । ल्यापटपवाट लिएको जानकारी टेलिफोनबाट बाँड्छु । अलिअलि लेख्छु । (दुई दिन लेखिनँ, अमेरिकामा २ सय जना मानिस मरेको दिनलाई नै त्रासदीपूर्ण भनेर लेखेको थिएँ, पछिल्ला दुई दिनमा त पाँच, पाँच सय मानिस मरे, के भनेर लेख्नु ?)
आफन्तहरुको चिन्ता र चासो स्वभाविक पनि हो । पछिल्लो हप्ता, हरेक दुई दिनमा मर्नेहरुको संख्या दुगुना भएर गएको छ ।
जनवरी ११, २०२० मा कोरोना भाइरसको संक्रमणबाट पहिलो व्यक्तिको निधन भएको थियो । आज ७८ दिन वित्दा विश्वभरमा ३३ हजार ९ सय २५ जनाको निधन भइसकेको छ । सरदरमा आँकडा निकाल्दा विश्वमा हरेक दिन ४ सय २४ जना मानिस कोरोना संक्रमणका कारण मरिरहेका रहेछन् । कोरोना भाइरसको संक्रमणको कारण मर्नेहरुको संख्या सुरुवाती दिनमा न्यून हुने गरे पनि पछिल्ला दिनमा गुणात्मक रुपले बढिरहेको छ । पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक पाँचसयको हाराहारीमा मानिसहरु मरिरहेका छन् । यो क्रम विकराल बन्दै जाने देखिएको छ ।
यस्तो महामारीमा आफन्त र साथीहरुले नसम्झिए कहिले सम्झिनु त ?
बाहिरी दुनियाँमा बस्दा धेरैलाई लाग्दो हो, यो कोरोनाको फूर्ति केही दिनको लागि त होला नि ? कहाँ सक्छ र अमेरिकालाई ? अमेरिकाभित्र बसेर हेदौ तस्वीर फरक छ ।
अव के गर्ने ? कसरी यो समस्यालाई सम्वोधन गर्ने ? कुनै ठोस नीति, कार्यक्रम र तत्परता सरकारसँग छैन । ट्रम्प प्रशासन जे गरिरहेको छ, टालटुल मात्रै गरिरहेको छ । सानातिना राहत प्याकेजमा अल्झिएको छ । अहिले पनि कुन कुन राज्यमा डेमोक्रेटिक पार्टीका गभर्नरहरु छन् र तिनीहरुलाई कसरी साइजमा ल्याऊँ भनेर गृहकार्यमा अल्झिएको छ । गभर्नरहरुलाई सहयोग गर्ने भन्दा पनि इवी साँध्न उद्यत छ ।
न्यूयोर्क अहिले कोरोना भाइरसको केन्द्रविन्दु बन्दै गएको छ । अमेरिकाको आर्थिक नगरी ठप्प छ । न्यूयोर्क कहिल्यै सुत्दैन भन्ने आहान बदलिएर न्यूयोर्क अब उठ्दैन भन्नुपर्ने अवस्थामा पुगिसकेको छ । तर राष्ट्रपति ट्रम्पले न्युयोर्कका लागि आवश्यक भेन्टीलेटर समेत किनिदिएका छैनन् । न्युयोर्कका अस्पतालमा दुई जना विरामीका लागि अहिले एउटा भेन्टीलेटर चलाउनु परेको छ । स्वास्थ्यकर्मीहरुलाई यथेष्ट पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई)हरु छैनन्, एउटा मास्कले पूरै सिफ्ट वा केही दिन चलाउनुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा काममा जानुपर्दा स्वास्थ्यकर्मीहरु त्रासले डिप्रेसनमा जान थालेका छन् । स्वास्थ्यकर्मीहरु जागिर छाडिरहेका छन् । राष्ट्रपति ट्रम्प भने कहिले मिचिगनका गभर्नरसँग सिंगौरी खेल्न त कहिले बेलायतवाट राजगद्दी त्यागेर क्यानाडा हुँदै अमेरिका आइपुगेका ह्यारी र मेगेनलाई चेतावनी दिन व्यस्त हुन्छन् ।
यतिबेला अमेरिकामा सवैभन्दा प्रेसरमा भएका मानिसहरु भनेका स्वास्थ्यकर्मी हुन्, कोरोनाबाट आफन्त गुमाएका परिवारजन हुन् र उनीहरुको भन्दा एक तह कम प्रेसरमा भएका व्यक्तिहरु भनेका राज्यका गभर्नरहरु र सिटीका मेयरहरु हुन् । प्रकोप बढ्दै जाँदा र पीपीईको अभाव हुंदै जाँदा रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले पनि शायद सरकारी दबाबमा परेर चिकित्सकहरुले अपनाउनुपर्ने सावधानीको मापदण्डलाई पनि फेरिदिंदा स्वास्थ्यकर्मीहरु झन् जोखिममा परेका छन् ।
धेरै स्वास्थ्यकर्मीहरुले आफ्ना पीडालाई सामाजिक सञ्जाल मार्फत् रुंँदै व्यक्त गरेका छन् । काम गरिरहँदा कतिपय नर्स र डाक्टरहरु आफूलाई सम्हाल्न सक्दैनन् र बाथरुममा पसेर रुन्छन् । केहीबेरमा सुन्निएका आँखा लिएर फेरि बिरामीको सेवामा जुट्छन् । कोरोना संक्रमणको कारण मृत्युवरण गरेका व्यक्तिका आफन्तहरु परिवारको सदस्यको अन्त्येष्टिमा सहभागी हुन पाएका छैनन् । कोरोना संक्रमण भएर मृत्युवरण गरेका व्यक्तिहरुको शवलाई ३ दिनसम्म अस्पतालमा नै राख्नुपर्ने नियम छ र त्यसपछि अन्त्येष्टिमा एकदम कम मानिसहरु सहभागी हुने गरी र संक्रमण नफैलाउने गरी परिवारलाई शव त दिने नियम त छ तर परिवारको सदस्य नै कोरोना संक्रमणको कारण मृत्यु भएका कारण परिवारका अधिकांश सदस्य सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियमले गर्दा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । परिवारको सदस्य विरामी हुँदा न त अस्पतालमा कुरुवा वस्न पाइन्छ, न त दाहसंस्कारमा सरिक हुन सकिन्छ । मृत्यु कति भयानक भइरहेको छ आजकल ।
सुन्दा कहाली लाग्दो लागे पनि अहिले पनि सरसर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो त छैन । आज दिउँसो म बस्ने शहर लुइभेलको एउटा वालमार्टमा छिरें । वालमार्टमा यो भयावह अवस्थाको छायाँ कतै पनि देखिएन । अनुहारमा मास्क लगाएका मानिसहरु सयमा एक पनि थिएनन् । जति आह्वान गरे पनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन । न त रजिष्टरमा वस्नेहरुले मास्क लगाएका छन् न त सामान्य पञ्जा नै । धेरै मानिसहरुले छुने भएकोले सामान हाल्ने कार्टको हेन्डिल पुस्न प्रत्येक वालमार्टका प्रवेशद्वारमा वाइप्सहरु राख्ने गरिएको हुन्छ तर आज वाइप्स पनि थिएन । मानिसहरुले वास्तै नगरी कार्टहरु ठेलिरहेका थिए । कोरोनाको प्रभाव केवल केही आयल्सहरुमा परेको छ, अझै पनि ट्वाइलेट पेपर र हेन्ड सेनेटाइजरहरुको भने अभाव छ । अरु बजार सामान्य भइसकेको छ ।
म फर्कदै गर्दा मेरो सव डिभिजनभित्र धेरै घरहरुमा बार्बीक्यू पार्टी चल्दै थियो । न त कसैलाई कोरोना संक्रमणबाट मर्नेको परिवारमा के बितिरहेको छ भन्ने चिन्ता छ, न त यो विपत्तिमा स्वास्थ्यकर्मीहरुले कसरी काम गरिरहेका छन् भन्ने चासो छ, न त अन्य देशहरुमा झै स्वास्थ्यकर्मीहरुको प्रशंसामा बेलुका ताली वजाउन नै कोही जुटेका छन् । साँझमा फेसबुक हेरे, धेरै साथीहरुले आफूले खान तयार गरेका मिष्ठान्न भोजनका तस्विरहरु शेयर गरिरहेका थिए । टेलिभिजन स्क्रीनमा अझै पनि मानिसहरुलाई समुद्रीतटमा जान नदिन सुरक्षाकर्मीहरुले गर्नुपरेका संघर्षका फुटेजहरु आइरहेका थिए । यस्तो लाग्यो, जताततै मृत्यु मृत्यु हुँदा पनि मानिसको मनमा अझै भय छैन । नत्र सरकारले भनेको किन मान्दैनन् ?
पत्रकार सापकोटाले सोमबार बिहान सामाजिक संजाल फेसबुकमा राखेको बिचार ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend