काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने क्रममा कीर्ते गरेको कसुरमा भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङलाई पक्राउ गरेपछि राजनीतिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । गुरुङका अलावा तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेका छन् ।
ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ताका क्रममा कीर्ते गर्ने कर्मचारीहरुमध्ये मंगलबार पक्राउ गरिएका पूर्वसहसचिव कलाधर देउजा, पूर्व उपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली हिजै छुटेका छन् ।
ललिता निवास जग्गा कीर्तेमा पक्राउ परेकाहरुमा भाटभटेनीका संचालक गुरुङ र निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त पूर्वसहसचिव सुधीर शाही हाईप्रोफाइलमा पर्दछन् । त्यसो त डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख टीकाराम घिमिरे, नापी कार्यालयका मोहम्मद साबिर हुसेनका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको सीआईबीले जनाएको छ । ललिता निवासको जग्गा दर्तामा मुख्यतः टीकाराम घिमिरे र हुपेन्द्रमणि केसीको पालामा कीर्ते भएको थियो । २०६९ सालमा समरजंग कम्पनीको जग्गा पशुपति टिकिन्छा गुठीमा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप पूर्व सचिव दिनेशहरि अधिकारीमाथि छ । उनको प्रस्ताव तत्कालीन भूमिब्यवस्था मन्त्री चन्द्रदेव जोशीले सदर गरेका थिए ।
४०६ जनाका बिरुद्ध पक्राउ पुर्जी जारी भइसकेको सीआईबीकाअधिकारीले बताएका छन् । ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीदेखि ब्यापारी सुहृद घिमिरे, कैलाशचन्द्र गोयल र हाईप्रोफाइलहरु छन् । ललिता निवास प्रकरणमा लिखत कीर्तेमा संलग्न सबैका बिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको र उनीहरुलाई पनि नियन्त्रण गरिने सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले दाबी गरेकी छन् । तर न्यायाधीश रेग्मी, ब्यापारी अग्रवाल र घिमिरेका बिरुद्ध भने पक्राउ पूर्जी जारी भए नभएको सीआईबीले खुलाएको छैन । बज्राचार्यले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित किर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू हुन नसक्ने बताइन् । उनले ललिता निवासको लिखत किर्तेमा मुद्दा दर्ता नहुनुपर्ने कुनै कारण नरहेको बताइन् ।
हाईप्रोफाइलः कसका नाममा कति जग्गा दर्ता भयो ?
प्रधानमन्त्री निवासको नाममा रहेको ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा कीर्ते गरी दर्ता गर्नेहरुमा किया मोटरका संचालक सुहृद घिमिरे, मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उनका भाइ श्रवण गोयल, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलगायत हाइप्रोफाइल छन् । सुहृदराज घिमिरे किया मोटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङका संचालक हुन् ।
घिमिरेले ललिता निवासको सरकारी जग्गा ५० हजार प्रतिआना खरिद गरेका छन् । ट्याक्स हेभन मुलुक भर्जिन आइल्याण्डबाट कालोधन सेतो बनाएर भित्र्याउने अरबपति घिमिरेले सासु इन्दू शर्माका नाममा १३ रोपनी जग्गा खरिद गरेका छन् । सुहृद घिमिरेले सासु इन्दू शर्माका नाममा दर्ता गरेको ललिता निवासको जग्गा उनका ब्यापारिक पार्टनर पुरुषोत्तम पौडेलको नाममा नामसारी गरेका थिए । सुहृद घिमिरेसहित उनकी श्रीमती रेखा घिमिरे र पौडेल पनि कन्टिनेन्टल ट्रेडिङका संचालक हुन् । घिमिरे जस्ता विवादित र गैरकानुनी काम गर्दै रातारात अरबपति भएका ब्यापारीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागदेखि कुनै पनि निकायले छानबिन गरेका छैनन् ।
ललिता निवासको जग्गाबाहेक घिमिरेको र उनको परिवारको नाममा काठमाडौं उपत्यकामा नारायणहिटी दरबार संग्रहालयको उत्तरपूर्व गैरीधारासँगै ७ रोपनी, तीनकुनेस्थित चियाको सोरुम भएको ठाउँमा पाँच रोपनी, बालुवाटारमा अशोक राणासँग मुद्दा परेको ६ रोपनीसहित ५० रोपनी जग्गा छ । जबकि, काठमाडौं उपत्यकामा एक परिवारको नाममा २५ रोपनीभन्दा बढी जग्गा भए हदबन्दी लाग्छ ।
काठमाडौं उपत्यकामा मात्रै हदबन्दीभन्दा दोब्बर क्षेत्रफल जग्गा भएका घिमिरेले बालाजु औद्योगिक क्षेत्रमा गाडी सोरुमदेखि मर्मत केन्द्रका लागि कौडीको मूल्यमा जग्गा भाडामा लिएका छन् । छायाँ सेन्टरमा पनि उनको लगानी छ । नेपाल ब्याट्री कम्पनीको नाममा बालाजु औद्योगिक क्षेत्रले भाडामा दिएको जग्गा पनि सुहृद घिमिरेले नै ओगटेका मात्र होइन, कब्जा नै गरी आफ्नो नाममा ल्याउन कीर्ते कागज तयार गरेका छन् ।
बालाजु औद्योगिक क्षेत्रको जग्गाको भाडा एक वर्ष अघि बढाउन खोज्दा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई घुस खुवाएर स्ुहृद घिमिरेले भाडा नबढाउन निर्देशन गराए । मातृका यादवका त्यतिखेरका पीए सन्तोष विष्टले बालाजु औद्योेगिक क्षेत्रको कार्यालयलाई तत्काललाई भाडा नबढाउन निर्देशन दिएका थिए । जसका कारण बालाजु औद्योगिक क्षेत्रलाई वार्षिक करोडौं घाटा भएको छ ।
गोयलको नाममा कति जग्गा छ ?
गोयल ग्रुपका सञ्चालक कैलाशचन्द्र गोयलको डिएलएफ डेभलपर्सको नाममा ललिता निवासको १९ कित्ता जग्गा रहेको देखिन्छ । गोयल ग्रुपले बैंकदेखि निर्माणसम्मका कम्पनी सञ्चालन गर्दै आएको छ । कैलाशचन्द्र गोयल चर्चित अन्तर्राष्ट्रिय उत्पादनको ट्रेडमार्क अनधिकृत(चोरी) गरी दर्ता गर्ने मुख्य नाइके हुन् । गोयलको समूहले अन्तर्राष्ट्रियस्तरमा चर्चित उत्पादनका ट्रेडमार्क उद्योग विभागका कर्मचारीसँग मिलेर पहिले नै दर्ता गर्ने गर्दछन् ।
नेपालको उद्योग विभागका कर्मचारीले घुस पाएपछि जुनसुकै अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्क दर्ता गर्ने गरेका छन् । यही कमजोरीको फाइदा गोयलले लिने गरेका छन् । गोयलको पहुँच उद्योग विभागमा विगत लामो समयदेखि छ । उनको जिल्ला, उच्चदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्म पहुँच छ । न्यायाधीशका घर घरमा उनी ब्रिफकेसमा नगद र उपहार लिएर पुग्ने गरेका छन् । ट्रेडमार्क चोरी गरी दर्ता गर्ने गिरोहका मुख्य नाइके गोयल नै हुन् ।
गोयलले जापानको चर्चित रङ कम्पनी कन्साई नेरोलिकको ट्रेडमार्क गैरकानुनी रुपमा दर्ता गरेका कारण उक्त कम्पनी अहिले पनि मुद्दा लडिरहेको छ । कन्साई नेरोलिक नेपालमा सालिमार पेन्ट्ससँग संयुक्त लगानी गर्न नेपाल आयो । तर, टे«डमार्क दर्ता गर्न उद्योग विभाग जाँदा पहिले नै दर्ता भएको थियो ।
कन्साई नेरोलिक उद्योग विभागमा मुद्दामा गयो, गोयलले आर्थिक चलखेल गरी जिते । सर्वोच्च अदालतमा पुनरावेदन दिएइको छ, तर बर्षौसम्म पनि मुद्दाको टुंगो लाग्न सकेको छैन । ट्रेडमार्क चोरी गर्ने गोयलले नै मुद्दा सार्दै अनुकूल न्यायाधीश सेटिङ गरी आफ्नो पक्षमा फैसला गराउने चलखेल गरिरहेका छन् ।
कुमार रेग्मी पक्राउ पर्लान् ?
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले ललिता निवासको जग्गा दर्ता गरी बिक्री गरिसके पनि अझै उनको नाममा थोरै जग्गा त्यहाँ छ । बाटो परेकाले उनको नामको जग्गा अझै पनि छ । ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने भूमाफियाहरुको पक्षमा कानुनी सल्लाह दिएबापत उनले घुसबापत उक्त जग्गा लिएर बिक्री गरिसकेको आरोप छ । यद्यपि उनले भाटभटेनीका संचालक मीनबहादुर गुरुङको मुद्दा हेरेबापत शुल्क जग्गा लिएको दाबी गरेका छन् । तर कानुन ब्यवसायीको आचारसंहितामा जिन्सी वा अचल सम्पत्ति लिन नपाउने ब्यवस्था छ ।
कानुन ब्यवसायी हुँदा आचारसंहिता बिपरीत जग्गा नै शुल्क लिने रेग्मीलाई सर्वोच्च अदालतको न्यायाधीश बनाएर स्वतन्त्र न्यायपालिकाकाकै धज्जी उडाइएको छ । उनले २०७७ फागुन २३ मा नेकपाको एकता खारेज गरेबापत तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनका दाजु माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्ष बनाएर गुन तिरेका थिए ।
राजनीतिक ब्यक्ति को को छन् ?
ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिजय गच्छदार मुद्दा खेपिरहेका छन् । गच्छदारसँगै पूर्व अख्तियार प्रमुख दीप बस्नेतलाई पनि ललिता निवासको जग्गा गैरकानुनी दर्तामा अख्तियारले मुद्दा दर्ता गरेको छ । शीर्षनेतामा प्रधानमन्त्री निवासको जग्गाको गुरुयोजना स्वीकृत गरेकै आधारमा माधव नेपालमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा बालकृष्ण न्यौपानेले मुद्दा दर्ता गरेका छन् । डा. बाबुराम भट्टराईमाथि पनि ललिता निवासको जग्गा दर्ता गरेको आरोप छ । यद्यपि अख्तियारले नेपाल र भट्टराईबिरुद्ध भने मुद्दा दर्ता गरेको थिएन ।
बिष्णु पौडेलका छोरामाथि के होला ?
ललिता निवासको जग्गा प्रतिआना ५० हजार रुपैयाँमा खरिद गर्ने र समाचार आएपछि फिर्ता गर्नेमा नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेल हुन् । उनका बिरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छैन ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend