ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका बेला काम गर्न नपाएर भोकै बस्नुपर्ने अवस्थाका श्रमिकलाई वडामार्फत् राहत उपलब्ध गराउने भएको छ ।
यो अवस्थामा महानगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर उक्त निर्णय गरिएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–‘समस्यामा पर्नु भएका नगरवासीलाई आफ्नो वडाको वडा अध्यक्षतथा वडा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।’
दिउँसो कमाएर बेलुका खानुपर्ने श्रमिकलाई अहिलेको बिहान बेलुकाको खानेकुरा जोहो गर्न निकै गाह्रो हुने भएकाले उक्त निर्णय गरिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने–‘कोहीभोकै बस्नु नपरोस् भनेर हामीले यो निर्णय गरेका हौं ।’ महानगरपालिकाभित्रका वडाहरुले वडामा बसोबास गर्ने यस्ता व्यक्तिको तथ्यांक केहीदिन अघिबाट नै लिन सुरु गरिसकेको छ ।
श्रमिकहरुको स्थिति अनुसार राहतको व्यवस्था वडा कार्यालयले महानगरपालिकाको समन्वयमा मिलाउने विज्ञप्तिमा उल्लेख छ । यस विषम परिस्थितिमा महानगरपालिकालाई साथ दिन महानगरवासी ,सामाजिक र व्यवसायिक संघसंस्थालाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–‘आवश्यकताअनुसार ललितपुर महानगरपालिका, संघीय सरकार, प्रदेश सरकार तथा अन्य महानगरपालिका र नगरपालिकासँग सम्पर्कमा रहनेछ ।’