Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वर्षौँपछि नागरिकता पाउँदा परिवारमा खुसी


    बुधबार, असार १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • तनहुँ। नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयनमा आएसँगै वर्षौँपछि नागरिकता पाउने परिवारमा खुसी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुसी दिलाएको हो ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारले ल्याएको ऐन कार्यान्वयनमा ल्याएसँगै खुसी भएका हुन् । ऐन कार्यान्वयनमा आएसँगै तनहुँमा पाँच जनाले नागरिकता पाएका छन् ।

    जिल्ला प्रशासन कार्यालय तनहुँबाट शुक्लगण्डकी नगरपालिका–५ का दुई जनाले र भिमाद नगरपालिका–६ का तीन जनाले नागरिकता पाउनु भएको हो । शुक्लागण्डकीका आर्जु खातुन र सहिल अलिले नागरिकता पाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

    खातुनको वीरगञ्ज महानगरपालिका–२ मा २०५४ साल चैत्र १५ गते र अलिको सोही ठाउँमा २०५६ साल चैत्र १७ गते जन्म मिति रहेको र उहाँहरू दुवै जनाले वंशजको आधारमा नागरिकता प्राप्त गर्नु भएको गैरेले बताए ।

    यसैगरी भिमादमा एकै परिवार तीन जनाले नागरिकता प्राप्त गरेका छन् । आइतबार नागरिकता पाउनेहरूमा भिमाद नगरपालिका–६ निवासी परी गुप्ता रौनियार, अनमोल गुप्ता रौनियार र नेहाल गुप्ता रौनियारले नागरिकता प्राप्त गरेका हुन् । उनीहरु सबै एकै परिवारको र वीरगन्ज महानगरपालिका –१७ मा जन्म भएको गैरेले जानकारी दिए ।

    परी गुप्ताको जन्ममिति २०६३ साल असोज ९ गते, अनमोलको २०६१ साल भदौ २१ गते, नहालको जन्ममिति २०६० असार १६ गते रहेको सहायक प्रजिअ गैरेले बताए । गैरेका अनुसार भिमादको तीन र शुक्लागण्डकी दुई गरी पाँच जनाले नै वंशजको आधारमा नागरिकता प्राप्त गरेका हुन् । जन्मका आधारमा नागरिकता लिन १४ किसिमका कागजात आवश्यक पर्छ ।

    नागरिकता प्राप्त गर्ने परिवारमा खुसीयाली छाएको छ । नागरिकता पाएपछि आफ्नो परिवारलाई खुसी दिलाएको शुक्लागण्डकी–५ की आर्जु खातुनले बताए । नागरिकता नहुँदा जागिर खान समस्या परेको उनको गुनासो थियो ।

    जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ । यस्तै, बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार