Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूटानी शरणार्थी प्रकरणः ठगीमा परेका केसी र चौधरी थुनिएपछि पीडितहरूको भागाभाग

    अरबौं ठगी, २८ करोडको मात्रै उजुरी ?


    बुधबार, जेष्ठ १७ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा करिब ९ सय जनाबाट ७ अर्ब रुपैयाँ ठगिएको विवरण प्रहरीले निकाल्यो । तर जाहेरी २८ करोड रुपैयाँको मात्र परेको विवरण सरकारी वकिललाई बुझाएको छ । ७ अर्ब रुपैयाँ हाराहारी ठगी भएको भूटानी शरणार्थी प्रकरणमा २८ करोडको मात्र जाहेरी प्रहरीमा परेपछि पीडितहरु किन आएनन् भन्ने प्रश्न उठेको छ ।

    नक्कली भूटानी शरणार्थी प्रकरणमा अमेरिका जान पाउने प्रलोभनमा परी एक जनाले आफन्तहरुसमेत धेरै जनासँग पैसा लिएर ठगीका मुख्य योजनाकार केशवप्रसाद दुलाल, सानु भण्डारी, इन्द्रजीत राई, निरज राई, प्रतीक थापा, सन्दीप भण्डारीहरुलाई दिएका थिए । त्यसरी आफन्तको रकम दुलालको गिरोहलाई बुझाउने पीडितहरुमध्ये रामशरण केसी र विक्रम भन्ने गोविन्दकुमार चौधरीलाई प्रहरीले थुनेपछि थप पीडितहरु आउनै डराएको अनुमान गरिएको छ ।

    नेपालीलाई शरणार्थी बनाउने र अमेरिका पठाउने धन्दामा भूटानी नेता टेकनाथ रिजाल नै संलग्न रहेको देखिएको छ । उनले दुलालसहितको ठगी गिरोहसँग मिलेर भूटानी शरणार्थी बनाएर अमेरिका पठाउन धेरै जनासँग रकम लिएको खुलेको छ ।

    त्यस्तै रिजालबाट ठगीमा परेका र २ बर्षदेखि प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका अड्डामा ठगहरुमाथि कारबाहीका लागि धाउँदैआएका पीडित हुन्, रामशरण केसी । पेन्टिङको काम गर्ने रामशरण केसीको घरमा रङ लाउने क्रममा भूटानी नेता टेकनाथ रिजालसँग केसीको भेट भएको थियो । रिजालले अमेरिका पठाउने प्रलोभन दिए । अमेरिका जान पाउने भएपछि आफू र आफ्ना इष्टमित्रसहित ३४ जनाबाट केसीले ३ करोड ४० लाख रुपैयाँ संकलन गरी रिजालको गिरोहको नेतृत्व गर्ने केशवप्रसाद दुलाल, सानु भण्डारी, इन्द्रजीत राई र प्रतीक थापासमेतलाई दिएका थिए ।

    रामशरण केसीले आफ्नो आमाको नाममा रहेको काठमाडौंको घर इन्द्रजीत राईका छोरा निरज राईको नाममा पास गर्नेगरी बैनाको कागज समेत गरी अमेरिका जाने सपना साँचेर पैसा दिएका थिए । पैसा दिएको २ बर्षसम्म पनि अमेरिका पठाउन नसकेपछि रामशरण केसीले आफू ठगिएको थाहा पाए । ठगीमा संलग्न टेकनाथ रिजाल, केशव दुलालको समूह बिरुद्ध उजुरी लिई उनी कहिले उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका अड्डा धाउन थाले । ठगहरुलाई कारबाही गर्न र अमेरिका पठाउन दिएको रकम उठाइदिनका लागि धाउँदा धाउँदा थकित भएका थिए केसी ।

    रामशरण केसीले जस्तै गोविन्दकुमार चौधरीले पनि अमेरिका जाने प्रलोभनमा परी आफन्तसमेतको २ करोड ३० लाख रुपैयाँ दुलाल र भण्डारीको गिरोहलाई दिएका थिए । अमेरिका जान त पाएनन् नै पीडामाथि थप पीडा दिने काम उनलाई प्रहरीले गरेको छ राज्यका हाईप्रोफाइल जोगाउनका लागि । थप पीडित नआऊन् भनेर केसी र चौधरी जस्ता पीडितलाई नै थुनेर राज्यले सत्ता जोगाउने खेल खेलेको छ ।

    यो अपराधका प्रमुख पात्र गृहमन्त्री, गृहसचिव, पूर्वमन्त्रीहरु र उनीहरुका बिचौलिया बेचन झाको ठगी सप्रमाण पुष्टि हुनेगरी काठमाडौं प्रहरी परिसर टेकू जाँदा केसीको जाहेरी दर्ता नगरी उल्टै थुन्ने काम प्रहरीले गरेको छ । पीडितलाई प्रतिवादी बनाउँदै जाँदा ७ अर्बको ठगी मुद्दा खुम्चिएर २८ करोडमा आएको छ । अदालतमा पीडितहरुले आफ्नो पोल खोलिदिने डरमा हाइप्रोफाइहरु छन् । त्यही भएकाले पीडित केसी र चौधरीलाई नै मुद्दा चलाइएको छ । यसको दुस्प्रभावले वास्तविक पीडितहरु प्रहरीसम्म आउन सकेका छैनन् ।

    अदालतमा रामशरण केसी र गोविन्दकुमार चौधरीजस्ता प्रमुख प्रमाण बोक्ने पीडितहरु थप नआऊन् भनेरै केसी र चौधरीलाई थुनेर यो मुद्दा नै राफसाफ हुनेगरी अभियोगपत्र तयार गरिएको छ । यो अभियोगपत्र स्पष्टरुपमा ठूला नेतालाई जोगाउने, पीडित फसाउने र तर्काउने मनस्थितिमा दर्ता भएको कानुनविदहरु बताउँछन् ।

    सामान्यतया कसैउपर प्रमाणसहित जाहेरी परेपछि मात्र जाहेरवालासँग भएको प्रमाण सनाखत गराई हिरासतमा राखिनुपर्ने हो । तर कसैको जाहेरी नै नपरेको र आफैं २ करोड ४० लाख र ३ करोड ४० लाख ठगिएको सप्रमाण पुष्टि हुने आधार लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका पीडित चौधरी र केसीलाई उनीहरुको जाहेरी दर्ता नगरी उल्टै थुन्ने काम प्रहरीले गरेको छ । यसरी थप पीडित आउने बाटो नै बन्द गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार