वीरगञ्ज, १४ चैत। लकडाउनको कारणले वीरगञ्जमा ११ जना नेपाली अलपत्र परेका छन् । भारतको बिहारबाट झापाको विर्तामोड जान उनीहरु अलपत्र परेका हुन् ।
हाल उनीहरु वीरगञ्ज बसपार्क स्थित चौधरी होटल एण्ड लजमा बसिरहेका छन् । विर्तामोड नगरपालिका–४ का ११ जना बिहारको सिवान र गोपालगञ्जका होटलमा काम गर्दै आएका थिए । ५ दिनदेखि होटलमै बसेका कारण उनीहरुसँग बास र खानाका लागि समस्या भएको छ ।
लकडाउनका कारण सवारी साधन नचलेपछि आफूहरु ५ दिनदेखि अलपत्र परेको उनीहरुले बताएका छन् ।
होटलमा बस्दा र खाँदा उताबाट कमाएर ल्याएको सबै रकम सकिन लागेको सन्त विश्वकर्माले बताए । ‘अलि अलि भएको पैसा पनि सकियो, बस्न खान समेत गा भइरहेको छ । के गर्ने कसो गर्ने चिने जानेको कोही छैन, पसल बजार सबै बन्द छ,’ उनले भने, ‘घरपरिवार पनि चिन्तामा छन् घर जान पाए राम्रो हुन्थ्यो ।’
भारतको बिहारमा काम गर्दै आएको होटल बन्द भएपछि उनीहरु घर फर्किने क्रममा वीरगञ्ज आइपुगेका हुन् ।
वीरगञ्जका समाजसेवी विक्की सर्राफले उनीहरुसँग होटलमा बास बस्नका लागि रकमको अभाव भएको जानकारी पाएपछि ७ दिनको खर्च व्यहोर्ने बाचा गरेका छन् । वीरगञ्ज महानगरपालिकाले बसपार्कमा चालक सहचालकालाई खानाको मेस सञ्चालन गर्ने भएपछि उनीहरुलाई त्यही खानाको व्यवस्था मिलाउने प्रयास भइरहेको छ ।
विर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले भने लकडाउनका कारण तत्काल उद्दार गर्न सक्ने अवस्था नरहेको बताए । अहिले जो जहाँ जसरी छ, त्यसरी नै बाँच्नुपर्ने स्थिति रहेको उनको भनाइ छ ।