कांग्रेसबाट जितेका वडाध्यक्ष र सदस्यहरुले बजेट वितरण असमान भन्दै बिहीबार पोखरा महानगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका छन् ।
नगरसभामा कांग्रेसका निर्वाचित ११ वटा वडाका अध्यक्षहरु र सदस्यहरुले उठेर विरोध गदै बुधबार बजेटको किताब च्यातेका थिए । विरोधका बीच बजेट पास गरिएपछि कांग्रेसबाट निर्वाचित ४ नम्बरका वडाध्यक्ष शंकर बास्तोलाले कुर्सी फालेर विरोध जनाए । बजेट विनियोजन गर्दा असमान र एकलौटी गरेकाले बजेटको किताव च्यातेको उनीहरुले बताएका छन् ।
बजेट समानुपातिकढंगले वितरण नभएको भन्दै तालाबन्दी र नारावाजी गरेका हुन् । साँझ वडा नम्बर ५ अध्यक्ष शंकर बास्तोलाले माग सुनुवाई नभए महानगरपालिकाको सम्पूर्ण काम कारबाही ठप्प पार्ने चेतावनी दिए । कांग्रेसले जितेका वडामा कम बजेट राखिएको उनीहरुको आरोप छ ।
पुनः मुल्यांकन भए झन बजेट कटौति हुन्छ : मेयर जिसी
महानगरका मेयर जिसीले पुनः मुल्यांकन गर्नुपर्ने अवस्था आए बजेट झन् कटौति हुने चेतावनी दिए । उनले बजेट प्राथमिकता र आवश्यकता हेरेर विनियोजन गरिएको दाबी गरे । पूर्वाधार बनिसकेका वडामा कम र पूर्वाधार नबनेका वडामा बढी दिनुपर्ने उनले बताए ।
‘बजेट कम भनिएको वडामा पहिले नै पूर्वाधार धेरै बनेका छन्,’ उनले भने, ‘महानगरमा दूर्गम वडाहरु छन् । त्यतापनि विकास गर्नुपर्छ, सवै वडाको विकास होस् भन्ने ढंगले नै बजेट प्राथिमिकीकरण गरिएको हो ।’