काठमाडौं । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुट्ने तथा भिडलाई उक्साएर प्रहरीसँग झडपको स्थिति सिर्जना गरेको आरोप पक्राउ परेकोमा कोरोना संक्रमण देखिएको छ । पक्राउ परेकाभध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङले जानकारी दिए ।
प्रहरीले सो घटनामा संलग्न १९ जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जना भने छुटिसकेका छन् । पक्राउ परेकाहरुको स्वाब परीक्षण गर्न दिइएको र सोमबार आएको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा कुनै लक्षण नभएकाले उनीहरूलाई ललितपुर परिसरमै राखिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले आइतबार नै ललितपुरका मेयरलाई काट्ने भन्दै धम्की दिने सञ्जय शाक्यलाई समेत पक्राउ गरिसकेको छ।
प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
बिहीबारको घटनामा रथ तान्न आएकाहरुले ट्राफिक जवान कमलप्रसाद घिमिरेलाई घेरेर नराम्रोसँग कुटेका थिए ।