Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमानले भने- नेपालको बिजुली किन्न भारत र बंगलादेश आतुर छन्


    सोमबार, जेष्ठ ८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर रहेको बताएका छन् ।

    आइतबार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको ऋण लगानीका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता गर्न आयोजित कार्यक्रममा घिसिङले नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन, बजार छैन भन्ने व्यापक चर्चा सत्य नभएको बताए ।

    ‘हाम्रो पहिलो प्राथमिकता देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने हो,’ उनले भने, ‘यसका लागि प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुदृढीकरणका काम देशभरी नै भइरहेको छ । देशभित्र खपत गरेर बचेको विद्युत निर्यात गर्ने हो ।’

    देशभित्र खपत हुन नसकेको बिजुली निर्यातका लागि बजार खोज्न सकिने भन्दै उनले विद्युत बिक्रीका लागि बजारको जोखिम नभएको दाबी गरे । ‘भारत र बंगलादेशसँगका धेरै बैठकहरुमा भाग लिएपछिको मेरो अनुभवले के भन्छ भने नेपालमा उत्पादित विद्युत् बिक्रीका लागि बजार सुनिश्चित छ । त्यो पनि राम्रो मूल्यमा बिक्री गर्न सकिने देखिएको छ’ उनले भने ।

    नेपालमा नदी प्रवाही जलविद्युत आयोजनाहरु वर्षायाममा पूर्ण क्षमतामा चल्छन् । त्यस्ता आयोजनाबाट वर्षायाममा उत्पादित विद्युत प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिएको हुन्छ ।

    ‘वर्षायाममा आन्तरिक रुपमा खपत गरी बचत भएको भारत र बंगलादेशमा विद्युत बिक्रीका लागि राम्रो दरमा बिक्री गर्न सकिन्छ । हिउँदयाममा भन्दा वर्षायामा विद्युत निर्यातको दर राम्रो पाउने अवस्था छ,’ उनले भने, ‘यद्यपि, निर्यात हुने दरको टुङ्गो भने लागेको छैन ।’ निर्यात गर्दा वर्षायाममा दर राम्रो पाउने सम्भावना देखिएको उनले औंल्याए ।

    भारत र बंगलादेश नेपालको जलविद्युत आयोजनामा लगानी गरेर निर्माण गर्नेभन्दा पनि उत्पादित विद्युत किन्ने पक्षमा रहेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार