Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाद्य प्रविधि विभागको मोवाइल भ्यान खरिद प्रकरणः अख्तियार र अदालतलाई गुमराहमा पारिंदै


    सोमबार, भाद्र २२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ८ मिनेट पाठ
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७६ असारमा खरिद गरेका ४ वटा घुम्ती प्रयोगशाला भ्यान नेपालको सडकमा प्रयोग नै गर्न नसकिने खालका भएकाले कार्यालय परिसरमै थन्किएका छन् । राष्ट्रको बजेट कर्मचारीले आफ्नो ब्यक्तिगत लाभका लागि कसरी दुरुपयोग गर्छन् भन्ने दृष्टान्त खाद्य प्रविधि विभागले गरेको उपयोग नै गर्न नमिल्ने प्रयोगशाला भ्यान खरिद प्रकरणबाटै पुष्टि भएको छ ।

      प्रयोगशाला भ्यान खरिदमा अनियमितता भएको ठहर गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा २०७६ असार ५ मा मुद्दा दर्ता गरेको थियो ।

    तत्कालीन महानिर्देशक कर्णको समूहले नेपालका सडकमा हुादै नहुने प्रयोगशाला भ्यान खरिदमा व्यापक अनियमितता गरेको उजुरीपछि अख्तियारले छानबिन गरेको थियो । आर्थिक वर्ष २०७३÷७४ मा प्रयोगशाला भ्यान खरिदका लागि ७ करोडका दरले २८ करोड रुपैयाँ बजेट छु्ट्याइएको थियो । त्यो बजेटबाट ४ वटा मोवाइल भ्यान र तिनमा राख्ने ल्याबका उपकरण खरिदका लागि प्रतितपत्र(एलसी) खोलिएको थियो ।  अघिल्लो बर्ष एलसी खोलेर अर्को आ. व. मा मात्र प्रयोगशाला भ्यान खरिद गरिएको थियो । उक्त खरिद प्रकरणमा एलसी खोलेपछि अख्तियारले २०७५ बैशाख ९ गते छानबिनका लागि यससँग सम्बन्धित कागजहरु लगेकोे थियो ।

    महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७४ मा समेत मोवाइल भ्यान खरिदको लागि एलसी खोलेर नल्याएकोमा उक्त रकमलाई बेरुजुका रुपमा राखेको थियो । प्रतितपत्र खोलिएको सबै पेश्की रकम फिर्ता गर्ने निर्देशन दिएको बिषय महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७४ को पेज नं. १४३ मा उल्लेख छ । महालेखाको निर्देशनलाई समेत अवज्ञा गर्दै तत्कालीन महानिर्देशक कर्णले मोवाइल प्रयोगशाला भ्यानहरु र त्यसमा जडान हुने सरसामानको भुक्तानी दिएका थिए । महालेखाले पेश्की रकम फिर्ता गर्ने निर्देशन दिएको अवस्थामा विभागका तत्कालीन महानिर्देशक कर्णले सो कुरालाई अवज्ञा  गरी खर्च गरेका थिए ।dakhila.jpg

    अख्तियारले मुद्दा दायर गरेकै दिन राति ब्याकडेटमा गरिएको स्टोर दाखिलाको विवरण 

    स्टोर दाखिला गर्दा पनि भ्यान खरिदमा अनियमितता गर्नेहरु चुकेका छन् । २८ करोड रकम खर्च गरेर खरिद गरीएका सामानहरु कुनै पनि दाखिला गरेको देखिदैन । जसबाट मोवाइल भ्यान र त्यसमा रहेका केही सामान्य उपकरण बाहेक अन्य सामान उपकरणहरु के कति कहाँ कुन अवस्थामा छन् भन्ने कुरा खोजीकै विषय भएको छ । यसबारे थप खोजी गर्दा मोवाइल भ्यान त एउटा समान्य गाडी भएको तर त्यसमा जडान गरिने सामान उपकरणको महत्वपूर्ण भूमिका हुने खाद्य प्रविधिका जानकारहरु बताउँछन् ।

    मोवाइल भ्यान खरिद गर्ने बहानामा आवश्यक नै नपर्ने, मोवाइल भ्यानमा नअट्ने, जडान गर्न नमिल्ने कैयौं प्रकारका महँगा अनावश्यक प्रयोग गर्न नमिल्ने उपकरणहरु त बजेट सक्ने प्रयोजनका लागि खरिद  गरिएको छ । ती सामान महानिर्देशक कर्णको टिममा मुद्दा खेपिरहेका स्टोरकिपर नासु गुरुदत्त गौतम र सामान सप्लायर्सको तर्फबाट डबल ताल्चा ढोकामा लगाएर प्रयोगशालाको एउटा हलमा बग्रेल्ती थुपारेको पत्ता लागेको छ । यसैका लागि खरिद गरिएका सामानहरु अब झन् प्रयोग गर्न नमिल्ने अवस्थामा पुगिसकेको कुरा विज्ञहरु बताउँछन् ।

    Photo 1.jpg

    प्रयोगशाला भ्यानमा जडान गर्ने उपकरण राखिएको स्टोरमा लगाइएको डबल ताल्चा 

    मननयोग्य कुरा के छ भने यस्तै प्रकारको मोवाइल भ्यान भारतमा पनि प्रयोग भइरहेको र त्यसकोे मूल्य करिव भा.रु. ५० लाख भएको कुरा छिमेकी मुलुक भारतको यस्तै निकाय FSSAI को बेबसाइटबाट थाहा हुन्छ । तर नेपालमा एउटा भ्यान बराबर ६ करोड ३५ लाख खर्च गरिएको छ । मोेवाइल भ्यान खरिदको वहानामा निलम्वित महानिर्देशक कर्णको टोलीले सरकारी रकमको दोहन गरेको छ । प्रतिमोवाइल भ्यान रु. ६ करोड २५ लाखका दरले ४ वटा भ्यान खरिदमा २५ करोड भुक्तानी दिएको छ । जसमा करोडौं घुस निलम्बित महानिर्देशक कर्णसहितले लिएको अख्तियारको छानबिनका क्रममा खुलेको थियो ।

    प्रयोगशाला भ्यानः नेपालको सडकमा प्रयोग गर्नै नमिल्ने

    विभागले खरिद गरेका प्रयोगशाला भ्यान नेपालको बाटोमा प्रयोग नै गर्न नमिल्ने मोडलका फोर्ड कम्पनीका होचा टायर भएका छन् । जुन भ्यानको रुपमा बनाइएका छन् र त्यसभित्र आवश्यक विभिन्न उपकरणहरु नअट्ने र केही अट्ने उपकरणहरु पनि लिएर जान नमिल्ने, गाडीको पावर नै नपुग्ने विज्ञहरु बताउँछन् । अर्कोतर्फ भ्यानमा उपकरणहरु लिएर गुडाएर ठाउँ ठाउँमा लगेर अध्ययन विश्लेषण गर्न नसकिने र सही नतिजा नआउने विश्वव्यापी मान्यता रहेको र सामान्य स्क्रीन टेष्टका लागि मात्र यस्ता प्रकारका मोवाइल भ्यानहरुको कैयौं देशमा प्रयोग भएको पाइन्छ । नेपालको सन्दर्भमा विकसित स्थापित मान्यता विपरीत सबै विश्लेषण मोवाइल भ्यानबाट ठाउँका ठाउँ हुन्छ भनी आँखांमा छारो हाल्ने काम कर्णसहितको टोलीले गरेको छ । प्रयोग नै गर्न नमिल्ने भ्यान खरिद गरी करोडौ घोटाला गरेका कर्ण तथा उनका टिमलाई चोख्याउन र अदालतलाई समेत प्रभाव पार्न मोवाइल भ्यान चलेको थियो भन्ने प्रचारबाजी गर्न शुरु गरिएको छ ।

    नेपालको सडकमा चल्नै नसक्ने भ्यान खरिदमा घोटाला भएको छैन भन्दै उपभोक्ता अधिकारकर्मीको रुपमा चिनाउँदैआएका अधिवक्ता ज्योति बानियाँ अहिले कर्णको पक्षमा बहस गर्दैआएका छन् । सामान्यतया ती भ्यान अरु गाडी जसरी विना लोड त चल्छन्, तर प्रयोगशाला उपकरण जडान गरेपछि ती चल्नै नसक्ने विज्ञहरु बताउँछन् । प्रयोगशाला उपकरण जडान गरी गुणस्तर टेष्ट गर्न ल्याइएका भ्यान गाडी जसरी चलाएर उपलब्धी त हुँदैन होला, विभागका अधिकारीले भने, उपकरण जडान भएपछि ती भ्यान चल्नै सक्दैनन् ।  

     अर्को गजब्बको कुरा के छ भने अख्तिायारले भ्यान खरिदविरुद्ध २०७६ असार ५ मा विशेष अदालतमा  तत्कालीन महानिर्देशक कर्णलाई मुद्धा दायर गरेपछि रातारात कार्यालय खोलेर अघिल्लो दिन आसार ४ गतेको मितिमा मोवाइल भ्यान स्टोर दाखिला गरेको अवस्थामा कसरी ती मोवाइल भ्यान चलेका थिए र काम गरेका थिए ? यो प्रश्न उठेको छ । स्टोर दाखिला नगर्दै आफ्नो मातहतमा हस्तातरण नहुँदै उक्त भ्यानहरु सञ्चालन गरिएको थियो भन्नुले पनि अनियमितता ढाकछोप गर्न खोजेको सहजै पुष्टि भएको छ  । 

    Well equipped mobile laboratory  Van मात्र उल्लेख गरी २०७६ असार ४  मा खरिद गरिएका ४ वटा मध्ये २ वटा  मोवाइल भ्यान विभागको जिन्सी खातामा दाखिला गरेको पाइन्छ र सो संग जडान गर्ने भनी खरिद गरेका के के सामान हो सो उल्लेख भएको देखिदंैन । जबकि टेण्डर डकुमेन्टमा MS Dart (करिव ३ करोड पर्ने मेसिन) समेत खरिद गरेको देखिन्छ । अन्य २ वटा भ्यान बारे कहीँ कतै उल्लेख नगरेको देखिदा झनै रहस्यमय देखिन्छ । जबकि अन्य २ वटा भ्यानसहित ४ वटा भ्यान विभाग परिसरमा देखिन्छन् । 

    भ्यानमा नअट्ने प्रयोग नै हुन नसक्ने करोडौंका अन्य उपकरणहरु बाहिरी प्रयोगशालाका लागि खरिद गरी चलाउन दक्ष जनशक्ति एवं तालिम प्राप्त जनशक्तिको अभाव छ । यो जान्दाजान्दै खरिद गरी त्यत्तिकै दुई वटा ताल्चा लगाई थन्क्याएर राखिएको छ । कमिसनका लागि कामै नलाग्ने भ्यान खरिद गरेका कर्णहरु अदालतलाई प्रभावमा पार्न भ्यान चलिरहेको भ्रम दिन गोयबल्स शैलीमा भ्रम बाँडिरहेका छ्न । 

    खाद्य स्वच्छता र गुणस्तरका सुधार एवं अभिवुद्धि गर्न भनी यी भ्यानहरु खरिद गर्ने भनिएको भएता पनि उक्त भ्यानहरुको खरिद संँगसँंगै तत्त्कलीन महानिर्देशक कर्णको जीवनशैली र गुणस्तरमा उल्लेख्य सुधार भएको छ । उनले पेप्सीकोलास्थित सनसिटीछेउमा करोडौ मूल्यको ३ तले घर जग्गासहित एयासी जीवन बिताइरहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार