काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७६ असारमा खरिद गरेका ४ वटा घुम्ती प्रयोगशाला भ्यान नेपालको सडकमा प्रयोग नै गर्न नसकिने खालका भएकाले कार्यालय परिसरमै थन्किएका छन् । राष्ट्रको बजेट कर्मचारीले आफ्नो ब्यक्तिगत लाभका लागि कसरी दुरुपयोग गर्छन् भन्ने दृष्टान्त खाद्य प्रविधि विभागले गरेको उपयोग नै गर्न नमिल्ने प्रयोगशाला भ्यान खरिद प्रकरणबाटै पुष्टि भएको छ ।
प्रयोगशाला भ्यान खरिदमा अनियमितता भएको ठहर गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा २०७६ असार ५ मा मुद्दा दर्ता गरेको थियो ।
तत्कालीन महानिर्देशक कर्णको समूहले नेपालका सडकमा हुादै नहुने प्रयोगशाला भ्यान खरिदमा व्यापक अनियमितता गरेको उजुरीपछि अख्तियारले छानबिन गरेको थियो । आर्थिक वर्ष २०७३÷७४ मा प्रयोगशाला भ्यान खरिदका लागि ७ करोडका दरले २८ करोड रुपैयाँ बजेट छु्ट्याइएको थियो । त्यो बजेटबाट ४ वटा मोवाइल भ्यान र तिनमा राख्ने ल्याबका उपकरण खरिदका लागि प्रतितपत्र(एलसी) खोलिएको थियो । अघिल्लो बर्ष एलसी खोलेर अर्को आ. व. मा मात्र प्रयोगशाला भ्यान खरिद गरिएको थियो । उक्त खरिद प्रकरणमा एलसी खोलेपछि अख्तियारले २०७५ बैशाख ९ गते छानबिनका लागि यससँग सम्बन्धित कागजहरु लगेकोे थियो ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७४ मा समेत मोवाइल भ्यान खरिदको लागि एलसी खोलेर नल्याएकोमा उक्त रकमलाई बेरुजुका रुपमा राखेको थियो । प्रतितपत्र खोलिएको सबै पेश्की रकम फिर्ता गर्ने निर्देशन दिएको बिषय महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७४ को पेज नं. १४३ मा उल्लेख छ । महालेखाको निर्देशनलाई समेत अवज्ञा गर्दै तत्कालीन महानिर्देशक कर्णले मोवाइल प्रयोगशाला भ्यानहरु र त्यसमा जडान हुने सरसामानको भुक्तानी दिएका थिए । महालेखाले पेश्की रकम फिर्ता गर्ने निर्देशन दिएको अवस्थामा विभागका तत्कालीन महानिर्देशक कर्णले सो कुरालाई अवज्ञा गरी खर्च गरेका थिए ।
अख्तियारले मुद्दा दायर गरेकै दिन राति ब्याकडेटमा गरिएको स्टोर दाखिलाको विवरण
स्टोर दाखिला गर्दा पनि भ्यान खरिदमा अनियमितता गर्नेहरु चुकेका छन् । २८ करोड रकम खर्च गरेर खरिद गरीएका सामानहरु कुनै पनि दाखिला गरेको देखिदैन । जसबाट मोवाइल भ्यान र त्यसमा रहेका केही सामान्य उपकरण बाहेक अन्य सामान उपकरणहरु के कति कहाँ कुन अवस्थामा छन् भन्ने कुरा खोजीकै विषय भएको छ । यसबारे थप खोजी गर्दा मोवाइल भ्यान त एउटा समान्य गाडी भएको तर त्यसमा जडान गरिने सामान उपकरणको महत्वपूर्ण भूमिका हुने खाद्य प्रविधिका जानकारहरु बताउँछन् ।
मोवाइल भ्यान खरिद गर्ने बहानामा आवश्यक नै नपर्ने, मोवाइल भ्यानमा नअट्ने, जडान गर्न नमिल्ने कैयौं प्रकारका महँगा अनावश्यक प्रयोग गर्न नमिल्ने उपकरणहरु त बजेट सक्ने प्रयोजनका लागि खरिद गरिएको छ । ती सामान महानिर्देशक कर्णको टिममा मुद्दा खेपिरहेका स्टोरकिपर नासु गुरुदत्त गौतम र सामान सप्लायर्सको तर्फबाट डबल ताल्चा ढोकामा लगाएर प्रयोगशालाको एउटा हलमा बग्रेल्ती थुपारेको पत्ता लागेको छ । यसैका लागि खरिद गरिएका सामानहरु अब झन् प्रयोग गर्न नमिल्ने अवस्थामा पुगिसकेको कुरा विज्ञहरु बताउँछन् ।

प्रयोगशाला भ्यानमा जडान गर्ने उपकरण राखिएको स्टोरमा लगाइएको डबल ताल्चा
मननयोग्य कुरा के छ भने यस्तै प्रकारको मोवाइल भ्यान भारतमा पनि प्रयोग भइरहेको र त्यसकोे मूल्य करिव भा.रु. ५० लाख भएको कुरा छिमेकी मुलुक भारतको यस्तै निकाय FSSAI को बेबसाइटबाट थाहा हुन्छ । तर नेपालमा एउटा भ्यान बराबर ६ करोड ३५ लाख खर्च गरिएको छ । मोेवाइल भ्यान खरिदको वहानामा निलम्वित महानिर्देशक कर्णको टोलीले सरकारी रकमको दोहन गरेको छ । प्रतिमोवाइल भ्यान रु. ६ करोड २५ लाखका दरले ४ वटा भ्यान खरिदमा २५ करोड भुक्तानी दिएको छ । जसमा करोडौं घुस निलम्बित महानिर्देशक कर्णसहितले लिएको अख्तियारको छानबिनका क्रममा खुलेको थियो ।
प्रयोगशाला भ्यानः नेपालको सडकमा प्रयोग गर्नै नमिल्ने
विभागले खरिद गरेका प्रयोगशाला भ्यान नेपालको बाटोमा प्रयोग नै गर्न नमिल्ने मोडलका फोर्ड कम्पनीका होचा टायर भएका छन् । जुन भ्यानको रुपमा बनाइएका छन् र त्यसभित्र आवश्यक विभिन्न उपकरणहरु नअट्ने र केही अट्ने उपकरणहरु पनि लिएर जान नमिल्ने, गाडीको पावर नै नपुग्ने विज्ञहरु बताउँछन् । अर्कोतर्फ भ्यानमा उपकरणहरु लिएर गुडाएर ठाउँ ठाउँमा लगेर अध्ययन विश्लेषण गर्न नसकिने र सही नतिजा नआउने विश्वव्यापी मान्यता रहेको र सामान्य स्क्रीन टेष्टका लागि मात्र यस्ता प्रकारका मोवाइल भ्यानहरुको कैयौं देशमा प्रयोग भएको पाइन्छ । नेपालको सन्दर्भमा विकसित स्थापित मान्यता विपरीत सबै विश्लेषण मोवाइल भ्यानबाट ठाउँका ठाउँ हुन्छ भनी आँखांमा छारो हाल्ने काम कर्णसहितको टोलीले गरेको छ । प्रयोग नै गर्न नमिल्ने भ्यान खरिद गरी करोडौ घोटाला गरेका कर्ण तथा उनका टिमलाई चोख्याउन र अदालतलाई समेत प्रभाव पार्न मोवाइल भ्यान चलेको थियो भन्ने प्रचारबाजी गर्न शुरु गरिएको छ ।
नेपालको सडकमा चल्नै नसक्ने भ्यान खरिदमा घोटाला भएको छैन भन्दै उपभोक्ता अधिकारकर्मीको रुपमा चिनाउँदैआएका अधिवक्ता ज्योति बानियाँ अहिले कर्णको पक्षमा बहस गर्दैआएका छन् । सामान्यतया ती भ्यान अरु गाडी जसरी विना लोड त चल्छन्, तर प्रयोगशाला उपकरण जडान गरेपछि ती चल्नै नसक्ने विज्ञहरु बताउँछन् । प्रयोगशाला उपकरण जडान गरी गुणस्तर टेष्ट गर्न ल्याइएका भ्यान गाडी जसरी चलाएर उपलब्धी त हुँदैन होला, विभागका अधिकारीले भने, उपकरण जडान भएपछि ती भ्यान चल्नै सक्दैनन् ।
अर्को गजब्बको कुरा के छ भने अख्तिायारले भ्यान खरिदविरुद्ध २०७६ असार ५ मा विशेष अदालतमा तत्कालीन महानिर्देशक कर्णलाई मुद्धा दायर गरेपछि रातारात कार्यालय खोलेर अघिल्लो दिन आसार ४ गतेको मितिमा मोवाइल भ्यान स्टोर दाखिला गरेको अवस्थामा कसरी ती मोवाइल भ्यान चलेका थिए र काम गरेका थिए ? यो प्रश्न उठेको छ । स्टोर दाखिला नगर्दै आफ्नो मातहतमा हस्तातरण नहुँदै उक्त भ्यानहरु सञ्चालन गरिएको थियो भन्नुले पनि अनियमितता ढाकछोप गर्न खोजेको सहजै पुष्टि भएको छ ।
Well equipped mobile laboratory Van मात्र उल्लेख गरी २०७६ असार ४ मा खरिद गरिएका ४ वटा मध्ये २ वटा मोवाइल भ्यान विभागको जिन्सी खातामा दाखिला गरेको पाइन्छ र सो संग जडान गर्ने भनी खरिद गरेका के के सामान हो सो उल्लेख भएको देखिदंैन । जबकि टेण्डर डकुमेन्टमा MS Dart (करिव ३ करोड पर्ने मेसिन) समेत खरिद गरेको देखिन्छ । अन्य २ वटा भ्यान बारे कहीँ कतै उल्लेख नगरेको देखिदा झनै रहस्यमय देखिन्छ । जबकि अन्य २ वटा भ्यानसहित ४ वटा भ्यान विभाग परिसरमा देखिन्छन् ।
भ्यानमा नअट्ने प्रयोग नै हुन नसक्ने करोडौंका अन्य उपकरणहरु बाहिरी प्रयोगशालाका लागि खरिद गरी चलाउन दक्ष जनशक्ति एवं तालिम प्राप्त जनशक्तिको अभाव छ । यो जान्दाजान्दै खरिद गरी त्यत्तिकै दुई वटा ताल्चा लगाई थन्क्याएर राखिएको छ । कमिसनका लागि कामै नलाग्ने भ्यान खरिद गरेका कर्णहरु अदालतलाई प्रभावमा पार्न भ्यान चलिरहेको भ्रम दिन गोयबल्स शैलीमा भ्रम बाँडिरहेका छ्न ।
खाद्य स्वच्छता र गुणस्तरका सुधार एवं अभिवुद्धि गर्न भनी यी भ्यानहरु खरिद गर्ने भनिएको भएता पनि उक्त भ्यानहरुको खरिद संँगसँंगै तत्त्कलीन महानिर्देशक कर्णको जीवनशैली र गुणस्तरमा उल्लेख्य सुधार भएको छ । उनले पेप्सीकोलास्थित सनसिटीछेउमा करोडौ मूल्यको ३ तले घर जग्गासहित एयासी जीवन बिताइरहेका छन् ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend