काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल फेरि क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमितको सम्पर्कमा आएका कारण उनी क्वारेन्टिनमा बसेका हुन् ।
यसअघि कोभिड-१९ विपद् व्यवस्थापन केन्द्र (सीएमसी) का एक कोरोना संक्रमित कर्मचारीको कन्ट्याक्टमा आएका कारण मन्त्री ढकाल क्वारेन्टिनमा बसेका थिए । सो क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको थियो ।
तर यसपटक भने उनको परिवारकै सदस्यमा कोरोना संक्रमण भएको बताइएको छ । परिवारका ती सदस्यसँग पनि मन्त्री ढकाल नियमित कन्ट्याक्टमा रहेका कारण क्वारेन्टिनमा बसेका हुन् ।
अहिलेसम्म मन्त्री ढकालमा कोरोनाको कुनै लक्षण नदेखिएको तर स्वास्थ्य प्रोटोकल अनुसार क्वारेन्टिनमा बस्नु परेको उनी निकटका स्रोतले बताएका छन् । अहिले मन्त्री ढकाल सबैखाले भेटघाट सबै बन्द गरेर होम आइसोलेशनमै बसेका छन् । उनको फेरि पीसीआर परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्र नियमित काममा फर्किने बताइएको छ ।