Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमानको हत्या गरी भीरबाट फ्याँक्ने महिला पक्राउ


    आइतबार, भाद्र २१ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुकम । श्रीमानको हत्या गरी भीरबाट फ्याँक्ने रुकुमकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीमान हत्याको आरोपमा बफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढालाई पक्राउ गरेको हो ।

    बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरी हत्या गरेर शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेकी छन् ।

    केही दिनअघि श्रीमान बेपत्ता भएको भन्दै उनी गाउँ गुहार्न पुगेकी थिइन् । गाउँवासी मिलेर खोज तलासमा गर्दा पनि भीमबहादुरको शव भेटिएन । चौथो दिन दिउँसो घरदेखि २ सय मिटर दूरीमा पर्ने भीर तल सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको थियो ।

    रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसी भन्छन्, ‘पति बियोगको पीडा देखाएकी महिलामाथि शुरुमा शंका गर्न पनि सकिएन । दोश्रो दिनदेखि त्यस घरको खानतलासी शुरु गरियो । घरमा लिपपोत र श्रीमान सुत्ने गरेको खाट अन्यत्र सारेको पाइयो ।’ प्रहरीले त्यसपछि उनलाई शंकाको घेरामा राखेर सोधपुछ गर्दा उनले आफूले हत्या गरी डोकोमा बोकेर भीरमा लगेर फालेको स्वीकार गरेको केसीले जानकारी दिए ।

    प्रहरीका अनुसार त्यस दिन राति श्रीमान मदिराले मातेर आएको र आफ्नो चरित्रमाथि प्रश्न उठाएपछि आवेशमा आएर हत्या गरेको बयान दिएकी छन् । उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी केसीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार